गण्डकी:   गण्डकी प्रदेश सरकार र यहाँका स्थानीय तहले नसर्ने रोगको ‘स्क्रिनिङ’ अभियान सुरूआत गरेका छन् । रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि समुदायस्तरमा ‘स्क्रि...

गलेश्वर,२९ चैत (रासस) ः नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुुण्डहरुलाई व्यवस्थित बनाइएको छ । मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्डहरु पछिल्लो समय राउन्ड धौलागिरि र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकहरुका लागि गतिला मनोरञ्जन स्थल पनि बनेका स्थानीयवासीले बताएका छन् । धेरै दिनसम्म हिमाली क्षेत्रमा पद मार्गमा यात्रा गर्दा युरिक एसिड, बाथ, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिराको उपचार पर्यटकहरुले म्याग्दीमा पुगेपछि तातोपानीले गर्ने गरेका छन् । मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डहरुमा डुबेपछि चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोगीहरु निको भएर फर्किने गरेका कारण यहाँ यस्ता बिरामीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो । त्यसैगरी उत्तरी म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य पर्यटन र मनोरञ्जनको हब बनेको छ । मनाङ जिल्लाको थोराङ क्रस गरेर मुक्तिनाथ, जोमसोम हुँदै म्याग्दीको भुरुङ तातोपानी आइपुग्ने बित्तिकै पर्यटकहरु तातोपानीको कुण्डमा नुहाउन थाल्दछन् । कतिपय पर्यटकहरु त थकाइ मेटाउन घण्टौँसम्म कुण्डमा डुबुल्की मारिरहन्छ । तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता रोग निको हुने जनविश्वासका कारणले पनि पर्यटकहरु तातोपानीमा नुहाउँछन् । भुरुङ तातोपानी पर्यटकीयस्थलका रुपमा विकास भएको छ । भुरुङ तातोपानीबाट केही पर्यटक शिख घारको उल्लेरीको उकालो चढ्दै म्याग्दीको घोडेपानीमा रहेको पुनहिलतर्फ जान्छन् भने केही कालीगण्डकीको किनार किनारै म्याग्दीको सदरमुकाम बेनी निस्केर ढोरपाटन जाने पनि गर्दछन् । अन्नपुर्ण पदयात्रामार्गअन्तर्गत पर्ने म्याग्दीको घोडेपानीमा पर्यटकहरुको लागि आकर्षणको केन्द्र विन्दु मानिन्छ । समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट मनोरम प्राकृतिक छटाको दृश्यावलोकन गर्न सकिन्छ । भुरुङ तातोपानीको आसपासमा मात्रै पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरुले आफूलाई पायक पर्ने मुहानमा नुहाउने गर्दछन् । तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । भुरुङ तातोपानी कुण्डलाई वरिपरि पर्खाल लगाएर व्यवस्थित बनाइएको छ । मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानी तप्तकुण्डमा तीर्थाटन पर्यटकहरुले समेत नुहाउने गर्दछन् । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरु पुग्ने गर्दछन् । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महँगा अस्पतालमा पुगेर उपचार गर्दासमेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको तातोपानीमा डुबेर रोग निको भएका विरामीहरुको भनाइ रहेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देश–विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक, गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको बिरामीले बताएका छन् । देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउनुहुन्छ । लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका बिरामीले पनि तातोपानीमा डुबेपछि आफ्नो रोग निको भएको बताएका छन् । नवलपुलको गैँडाकोट नगरपालिका १२ हर्कपुरकी लक्ष्मी पौडेलले आफू ९ वर्षसम्म तातोपानीको कुण्डमा निरन्तर रूपमा डुब्न आएको बताउनुभयो । उहाँले आफ्नो ढाड र घुँडा दुख्ने समस्या रहेकामा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको बताउनुभयो । वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने उहाँको भनाइ छ । म्याग्दीका तातोपानी कुण्डमा दुई वर्षअघिसम्म हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामीहरु डुब्न आउने गरेका थिए । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बितेका दुई वर्ष तातोपानी कुण्डहरु सुनसान नै रहे । पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ । तातोपानीमा उपचारका लागि आउने यातायातका साधनबाट नै यहाँ आउन सक्छन् । देशका सबै ठाउँबाट बेनीसम्म यातायातका साधन आउने गर्दछन् । बेनीदेखि पनि तातोपानी कुण्डसम्म पुग्नका लागि बस, ट्याक्सी, जिप लगायतका सबै साधन पाइन्छन् । बेनीदेखि बसमा रु एक सय र ट्याक्सीमा रु २५० तिरेपछि तातोपानीमा पुग्न सकिन्छ ।

काठमाडौँ, चैत २७ गते । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा आयाेजित सम्मेलनमा देश तथा विदेशबाट स्वास्थ्य वैज्ञानिकहरुको सहभागिता छ। सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ। परिषदका कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार सम्मेलनको औपचारिक उद्घाटन साेमबारका लागि तय गरिए पनि आइतबारबाट प्रेसमिटको सेसन सुरु भएको हो । तीन दिने शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित स्वास्थ्यप्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड–१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवं विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा अनुसन्धानकर्ताहरूले आ–आफ्ना खोज तथा अनुसन्धानका बारेमा १५३ वटा अनुसन्धानमूलक कार्यहरू परिषदमा पेश भएकाे छ । परिषदमा पेश भएकामध्ये ११२ मौखिक प्रस्तुतीकरणका लागि र ४१ वटा पोष्टर प्रस्तुतीकरणका लागि प्राप्त भएको परिषदले जनाएको छ । सम्मेलनको यो वर्षको नारा स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ छ । सम्मेलन चैत २९ गतेसम्म चल्ने जनाइएको छ।

तनहुँः  जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम उक्त निर्णय गरिएको उहाँले बताउनुभयो ।

मनाङ: टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा बिहीबारदेखि तथा एउटा पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका बाबुराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ८० प्रतिशत भन्दा बढी खोप केन्द्र विद्यालयमा राखिएको छ । विद्यालयको खोप केन्द्रमार्फत ५३९ र विद्यालय बाहिर १८१ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ । पहिलो चरणमा चैत २५ गतेदेखि २९ गतेसम्म नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकामा खोप अभियान सुरु गरिएको छ । दोस्रो चरणमा चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म नार्पाभूमि गाउँपालिकामा खोप दिइनेछ । पन्ध्र महिनादेखि १५ वर्षमुनिकालाई खोप दिइँदैछ । अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ७२ जना परिचालन गरिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाका स्वास्थ्यकर्मीलाई यसअघि नै तालिम प्रदान गरिएको आचार्यले बताउनुभयो ।

कास्कीः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ । प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुभारम्भ कार्यक्रममा ‘भ्याक्सिन क्यारियर’ स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर उहाँले प्रदेशका ११ वटै जिल्लामा अभियान सुरु भएको घोषणा गर्नुभयो । जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्ध खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा देशभर चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एकैपटक खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ । अभियानमा गण्डकी प्रदेशका पाँच लाख ६० हजार बालबालिकालाई खोप दिइने प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा श्रीराम तिवारीले बताउनुभयो । उहाँका अनुसार आज शुभारम्भका दिन अमरसिँह माध्यमिक विद्यालयका विद्यार्थीलाई खोप दिइने र भोलिदेखि प्रदेशका सबै विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुनेछ । उहाँले भन्नुभयो, “प्रदेशका ११ वटै जिल्लामा तोकिएका खोप केन्द्रमा खोप, भ्याक्सिनेटर र आवश्यक जनशक्ति पु¥याइसकेका छौँ । भोलिदेखि सबै जिल्लाका खोप केन्द्रमा खोप लगाउन सुरु हुन्छ ।” खोप लगाउनुपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र तोकिएको र विद्यालय नजानेहरुका लागि वडा कार्यालयमा खोप लगाउने व्यवस्था मिलाइएको डा तिवारीको भनाइ छ । मुख्यमन्त्री पोखरेलले निर्धारित समयभित्रमा लक्षित समूहलाई खोप लगाइ सकेर अभियान पूर्ण सफल हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण सफल बनाउनका लागि कल्याणकारी राज्यको भूमिका निर्वाह गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “ सरकारले कल्याणकारी राज्यको भूमिका निर्वाह गर्न सके सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रुपमा सफल हुन्छ ।” छोटो समयमा निःशुल्क रगत दिने लगायतका लोकप्रिय कार्यक्रम ल्याएकोमा स्वास्थ्य मन्त्रालयलाई धन्यवादसमेत उहाँले दिनुभयो । स्वास्थ्यमन्त्री मधु अधिकारीले प्रदेशमा खोप अभियानलाई पूर्ण रुपमा सम्पन्न गर्नका लागि मन्त्रालयले आवश्यक सबै सहयोग उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । टाइफाइडविरुद्धको खोप एक भायलमा पाँच मात्रा रहेको, रङ्गविहीन तयारी झोलका रुपमा रहेको र एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने स्वास्थ्यकर्मीको भनाइ छ । टाइफाइड खोपको प्रभावकारिता ९६ दशमलव ९५ प्रतिशत रहेको बताइन्छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने बताइन्छ । विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन् । त्यसमध्ये करिब एक लाख ६१ हजार जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ । नेपालमा भने प्रति एक लाखमा एक हजार ६२ जनामा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रति एक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइन्छ । टाइफाइड सबै उमेर समूहमा हुनसक्ने भए पनि १५ वर्षमुनिका बालबालिकामा अन्य उमेर समूहमा भन्दा ११ गुणा बढी सङ्क्रमणको जोखिम रहने र यस रोगको खोप सुरु भएपछि रोगबाट हुने सङ्क्रमणमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ ।

हुम्लाः  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा २११ महिला र १४९ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमा १०१ ज्येष्ठ नागरिक समेत रहेका आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिनुुभयो । सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ । शिविरमा ग्यास्टिक, रुघाखोकी, दम, ज्वरो, पखाला, उच्च रक्तचावलगायत बिरामीको उपचार गरिनुका साथै औषधिसमेत वितरण गरिएको थियो । सिमकोट र सर्केगाड गाउँपालिकाका सेवाग्राहीले पनि सेवा लिएका थिए ।