विदेशी विनिमय सञ्चिति बढाउने पहल सुरु

काठमाडाैं | चैत २८, २०७८

विदेशी विनिमय सञ्चिति बढाउने पहल सुरु

काठमाडौँ, चैत २८ गते । विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिनुभएको छ ।

आयात वृद्धिका कारण विदेशी विनिमय सञ्चितिमा परेको चापलाई ध्यानमा राखी सरकारले केही वस्तुको आयात रोक्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैङ्कलाई पत्र पठाएको थियो । आयात बढ्दा विदेशी विनिमय सञ्चिति कम भई त्यसले अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भएकाले सरकार विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाब छ ।

हाल आएर विप्रेषणमा केही सुधार भएको छ । फागुनमा बढेको रेमिट्यान्स चैतमा ९१ अर्ब पुगेको छ । सरकारले अझै पनि रेमिट्यान्स बढाउन विभिन्न प्याकेज ल्याउन लागेको जानकारी अर्थमन्त्रीले दिनुभएको छ । त्यसमा विदेशबाट पैसा पठाउनेलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएको छ ।

आइतबार नै नेपाल बैङ्कर्स सङ्घले अत्यावश्यकबाहेकका विलासिताका वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैङ्कले नगद मार्जिन तोकेका ४७ समूहका वस्तुको एलसी तत्काललाई नखुलाउने र बैङ्क ब्याजदर पनि स्थिर राख्ने निर्णय सङ्घले गरेको हो ।

सोही आधारमा तत्काललाई राष्ट्र बैङ्कको मौखिक निर्देशनबमोजिम सङ्घको आइतबारको बैठकमा अत्यावश्यकबाहेकका गाडी, चकलेट, पफ्र्युमलगायतका वस्तुको एलसी नखोल्ने अनौपचारिक सहमति गरिएको हो । राष्ट्र बैङ्कले गत सोमबार बैङ्कका सीईओलाई बोलाएर गाडीसहितका विलासिताको वस्तुको एलसी रोक्न मौखिक निर्देशन दिएको थियो ।

बैङ्कर्स सङ्घले निर्णयअनुसार नगद मार्जिन तोकेका चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छा कोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर तथा गाडी तथा मोटरसाइकलको आयातको एलसी नखुल्ने भएको छ ।यस्तै वैशाखमा बैङ्कको ब्याजदर चैतकै यथावत् कायम राख्ने भद्र सहमति पनि बैङ्करहरूबीच भएको छ । वैशाखमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिन सबै बैङ्क सहमत देखिएपछि सबै वाणिज्य बैङ्कले चैतकै ब्याजदरलाई निरन्तरता दिएर नयाँ सूचना जारी गर्ने भएका छन् । नेपाल बैङ्कर्स सङ्घले आइतबार बैठक राखेर ब्याजदर के गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।

बैठकमा सहभागी बैङ्कका प्रमुख कार्यकारी अधिकृतले ब्याजदर यथावत् राख्न सहमति जनाएपछि चैतकै ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिइने भएको हो । बैङ्कले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११.०३ प्रतिशत पु-याएका थिए । चैतमा त्यही ब्याजदर कायम गर्ने निर्णय गरेका थिए । सहमतिअनुसार बैङ्कहरूले चैत ३० गते वैशाखदेखि लागू हुने ब्याजदरको सूचना प्रकाशित गर्ने भएका छन् । बैङ्कहरूले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिने गरी नयाँ सूचना जारी गर्ने भएका छन् ।

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्...

थप पढ्नुहोस्

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्