सँधै ‘अपुरो’ पुर्पुरो !

पाेखरा | बैशाख १०, २०८०

सँधै ‘अपुरो’ पुर्पुरो !

पोखराः गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट घटुवा भई सांसदमा झरेपछि नेकपा एमालेका खगराज अधिकारीको पुर्पुरो फेरिपनि ‘अपुरो’मै टुंगिएको छ । 

 

राष्ट्रिय राजनीतिमा खगराज अधिकारी कास्कीबाट बलियो हस्ताक्षर हुन् । संघमा मन्त्री होस् वा प्रदेशमा मुख्यमन्त्री अधिकारीको विकल्प हालसम्म भेटिएन । त्यसो त राजनीतिमा चतुर अधिकारीले अर्काे कुनै पात्रलाई कास्कीमा हत्तपत्त मुन्टो उठाउन पनि दिएनन् । उनको चाणक्य शैलीको राजनीति र चातुर्यताले स्वयंलाई कास्कीबाट केन्द्रीय र प्रादेशिक दुबै सिमानाम ‘लास्ट म्यान स्ट्यान्डिङ्’को अवस्थामा राखिराख्यो । यद्यपि, अधिकारीलाई अवसरको पर्यायमात्र भन्नु गलत हुनेछ । 

 

हालको नेकपा एमालेको गाउँ तहसम्म जरा फैलिनुमा सोमनाथ प्यासीपछि सम्भवतः अधिकारीकै पसिना बढी बगेको हुनुपर्छ । उनको योगदान र फाइटर छविले एमाले कास्कीमात्र हैन गण्डकीमा जरा गाडेर बसेको बरको रुख झैं झांगिएको सत्य हो । अधिकारीका जानकारहरु उनलाई कोमल हृदयका नेता भन्न छुटाउँदैनन् । तर उनको बाह्य आवरणले उनलाई कताकता क्षुद्र र कठोर भनि चिनाउँछ । उनको यस्तो पनलाई अधिकारी भने निडर र हक्की भनि परिभाषित गर्छन् । 

 

यसअर्थमा उनी स्वभावतः ‘एक्सन ओरियन्टेड’ हुन् । उनमा ‘केही’ गर्ने हुटहुटी सदा रहन्छ पनि । शायद यहि हुटहुटी र पार्टीको 'वेरियर' मानिएका अधिकारीले दुई पटक संघीय मन्त्री र एकपटक प्रदेशको मुख्यमन्त्री हुने अवसर पाए । उनले पाएको अवसरलाई भरमग्दुर प्रयास गरिरहे पनि अधिकारीले कार्यकालको पुरै इनिङ् खेल्न पाएनन् । शायद हालसम्मको राजनीतिक पदयात्रामा उनले चालेको पाइला बिचमै रोकिनुलाई उनले दूर्भाग्य ठानिरहेका होलान् । अधिकारीले चाल्दै गरेको पाइला बिचमै रोकिएपनि उनमा निराशा कत्ति पनि नभएको छनक गत शुक्रबार दिइरहेका थिए । 

 

अघिल्लो शनिबारसम्म प्रदेश बैठकमा चुपचाप सत्ता छाड्ने मनस्थितिमा रहेका अधिकारी छ दिनपछि अविश्वासको प्रस्ताव फेस गर्ने अडानमा रहे । यसबीच उनको दिमागमा के खेल खेल्यो, स्वयं जानुन्  । त्यसो त नेकपा माओवादी केन्द्रलाई मनाएर मुख्यमन्त्रीमा निरन्तर हुने उनको दाउपेच खासै जम्न सकेन । तैपनि, पत्रकारसामु आफ्नै तारिफ गर्दै अधिकारीले भनेका थिए ‘म शिलामा हैन, इतिहासमा नाम लेखाउनेछु ।’

 

हो, उनले इतिहासमै नाम लेखाउने गरेर काम गरेका थिए । ०७१ मा प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्वमा बनेको समीकरणात्मक सरकारमा पार्टीले अधिकारीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाएको थियो । त्यसबेला उनले आम नागरिकको स्वास्थ्यमा चासो दिँदै बीमाको सुरुवात गरे । जसलाई जनपक्षीय कामको संज्ञा दिइएको छ । अझैपनि अधिकारी स्वास्थ्य बीमाकाबारे जस लिइरहेका छन् । तर उनको कार्यकाल नौ महिनाभन्दा बढी तन्किएन । उनी अपुरै रहे । 

 

त्यसपश्चात् ०७७ जेठमा केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बने । अधिकारीले त्यसबेला गृहमन्त्रीले सुराकीका नाममा दैनिक ३–४ लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान बन्द गरेर राज्यकोषको कराेडाै‌ रुपैयाँ बचाउने काम गरे । हाल यस्तो व्यवस्था पुनः सुचारु छ । गृहको बागडोर सम्हाल्दा केही फरक र प्रभावकारी छाप छाड्ने उनको योजना २ हप्ता पनि टिकेन । मात्र १३ दिनमा उनको गृहसँगै सरकारकै सपनामा तुषारापात भयो । 

 

समयक्रमसँगै अधिकारी संघबाट प्रदेशमा झरे । अझ भनौ, झारिए । एकसमय पार्टी अध्यक्ष केपी ओलीसँगै जेल बसेका अधिकारी उनै अध्यक्षकै आग्रहमा प्रदेशको बागडोर सम्हाल्ने गरी चुनावमा होमिए । फलस्वरुप, गत पुस २५ गते मुख्यमन्त्रीमा विराजमान भए । सत्ताको लगाम समाएसँगै यसअघि १२ मन्त्रालय रहेको प्रदेशमा सात मन्त्रालयमात्र चलाएर उनले गण्डकीवासीलाई सकारात्मक सन्देश दिए ।

 

यता मुख्यमन्त्रीको कार्यालयमा योजना बनाइरहेका अधिकारीलाई राष्ट्रिय राजनीतिले ‘आउटसाइडर’ बनाइसकेको थियो । एक महिना अघिदेखि निस्तेज भएका अधिकारीले मुस्किलले हनिमुन मनाए । हिजो शनिबार विश्वासको प्रस्तावमा मत माग्दा २४ सांसदकोमात्र समर्थन आएपछि १ सय ५ दिनमै अपुरो पुर्पुरो लिएर फर्किएका छन् । 

 

कहिले निर्वाचनमा पराजित हुने त कहिलै टिकटै नपाउने विषम परिस्थितमा पनि अटल रहेका अधिकारी ३ पटक अवसर पाएर पनि कार्यकाल अपुरै छाड्न बाध्य हुने अभागी नेता हुन् । साम्यवादको सिद्धान्तले भाग्य र भविष्यलाई विश्वास गर्दैन । तरैपनि जान्न मन लाग्यो । र, सोधियो ‘माननीयज्यू, तपाइ अभागी नेता हो ?’ अधिकारीको जवाफ छ, ‘म भाग्यमा हैन, कर्ममा विश्वास गर्ने नेता हो । केही योजना, सपना अधुरै रहे । तर म सन्तुष्ट छु । मेरो कामको मुल्यांकन जनताले गर्नुहुनेछ ।’

 

यससँगै अधिकारीले सय दिनको कार्यकालमा सूशासन र मितव्ययिताको सुरुवात गरेको भन्दै प्रदेशको औचित्यमाथि प्रश्न उठिरहेकाबेला यसको जरा बलियो बनाएर निस्केको उल्लेख गरे ।

 

‘मेरो मन्त्रालयलाई संख्यामा नजोडौं, यसबाहेक ६ मन्त्रालय लिएर प्रदेश हाँके, मैले शिर निहुराउने काम गरेको छैन । म यही छु, प्रदेश र मन्त्रालय यही छ । म न मात्तिए, न आत्तिनेछु’ अधिकारी आत्मविश्वासी सुनिए । 


 

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्