नवलपुरको ५३ स्थानमा डढेलो
नवलपुर | बैशाख ५, २०८०
तस्बिर फाइल
त्रिवेणी: नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ५० हेक्टर जमिनमा डढेलो लागेको सूचना प्राप्त भएको जानकारी दिनुभयो ।
चैतसम्मको प्राप्त तथ्याङ्क भएकाले यो क्षेत्रफल बढ्नसक्ने उहाँले बताउनुभयो । “कतिपय स्थानबाट सूचना आउँदैनन्, सबै गर्दा प्राप्त क्षेत्रफलभन्दा केही धेरै डढेलो लागेको हुन सक्छ”, सूचना अधिकारी गौतमले भन्नुभयो ।
“नवलपुरमा अहिले करिब तीन हजार पाँच सय हेक्टर जमिनमा डढेलो लागेको छ । चैतको तथ्याङ्कमा दुई हजार छ सय नाघेको छ, केही दिनयता पनि केही ठाउँमा डढेलो लागेको छ, यसले हाल करिब तीन हजार पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको अनुमान छ”, उहाँले भन्नुभयो ।
फागुनमा खासै डढेलोका घटना नभए पनि चैत लागेसँगै यहाँ रहेका सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणमा आए पनि अहिले थप केही क्षेत्रमा नयाँ डढेलो लागेको उहाँको भनाइ थियो ।
डढेलो नियन्त्रणका लागि चैतको पहिलो साता साताव्यापी कार्यक्रम गरिएको थियो । मानवीय कारणले नै डढेलो लाग्ने भएकाले वन कार्यालयले साताव्यापी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । यहाँ रहेका सामुदायिक वनले नियमित हेरालुबाहेक डढेलो नियन्त्रणका लागि थप मौसमी हेरालु राख्ने र अग्नि नियन्त्रक समूह निर्माण गर्ने गरे पनि पूर्णरूपमा डढेलोबाट वन जोगाउन भने नसकिएको सूचना अधिकारी गौतमले बताउनुभयो ।
वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रने भन्ने धारणाले आगलागीका घटना हुने गरेका छन् । कहिलेकाँही सिकारीले वन्यजन्तुको सिकार गर्न पनि डढेलो लगाउने गरेका छन् । पहिले पहिले खोरिया फाँड्न वनमा आगो लगाउने चलन भए पनि नवलपुरमा भने हाल यस्तो घटना भएको पाइएको छैन ।
गलत धारणाका कारण मानिसले जानाजानी वनमा आगो लगाउँदा नयाँ बुट्यानहरु जलेर नष्ट हुने, वन्यजन्तु आगोमा जलेर मर्ने, धुवाँका कारण मानव स्वास्थ्यमा समेत असर पर्ने हुँदा यस्ता कार्य नगर्न र यदि कतै डढेलो लागिहाले समयमै नियन्त्रणमा लिन सबै लाग्नुपर्ने हुन्छ ।
वन क्षेत्रमा लागेको डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँको बादल देखिन्छ । वायुमण्डल धुवाँले ढाक्दा कतिपय मानिसको आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या हुने मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउनुभयो । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउनेजस्ता उपाय अपनाउन सकिने उहाँको भनाइ थियो । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर जमिनमा वन रहेको छ । RSS
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख ...
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वा...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...

