विद्यालयको शैक्षिक अवस्था पनि खस्किरहेको भन्दै स्थानीय चिन्तित

पाेखरा | चैत २५, २०७९

विद्यालयको शैक्षिक अवस्था पनि खस्किरहेको भन्दै स्थानीय चिन्तित

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका-१० किम्चे गाउँका बालबालिका कक्षा ९ पढ्न घान्द्रुक जानुपर्छ । किम्चेबाट हिँडेर घान्द्रुक पुग्न एक घण्टा लाग्छ । 


गाउँमै कक्षा ८ सम्म पढाइ हुने जनप्रेमी आधारभूत विद्यालयको शैक्षिक अवस्था पनि खस्किरहेको भन्दै गाउँबासी चिन्तित छन् । ‘शिक्षकलाई गाउँपालिकाबाट अनुगमनमा आउँदामात्रै पढाऊँ है भन्ने छ । तर, कहिलेकाहीँ अनुगमनमा आउँदामात्रै राम्रो पढाउने हो ?’ किम्चेकै विद्या विक भन्छिन्, ‘विद्यदालयमा नियमित अनुगमन गर्दिए राम्रो हुन्थ्यो । विद्यालय व्यवस्थापन समितिमा खिचातानी (राजनीतिक) गर्छौं । कसरी शिक्षा राम्रो बनाउने भन्ने सोच्नुप¥यो ।’


किम्चेमा शुक्रबार आयोजित गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाईमा उनको कुरा सुनेपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सरकारी विद्यालयमा कमजोरी रहेको स्वीकारे । उनले आफूले कक्षा ८ को नतिजा हेर्दा सन्तोषजनक नभएको र सुधार गर्न विद्यालयका प्रधानाध्यापकलाई भनिसकेको बताए । 


अध्यक्ष केसीले सरकारी विद्यालय बिगार्ने छुट कसैलाई नभएको अध्यक्ष केसीले बताए । ‘हामी एकदिन अनुगमनमा आउँला । तपाईं (अभिभावक) सधैं जानुपर्छ,’ उनले भने, ‘ती विद्यालय हाम्रा सम्पत्ति हुन् । हुने खानेले बोर्डिमा पढाउँछन् । गरिबका बच्चा पढ्ने विद्यालय बिगार्ने, नपढाउने छुट कसैलाई छैन ।’ एउटा विद्यालयको उत्तर पुस्तिका अर्को विद्यालयले परीक्षण गर्न थालेपछि विद्यालयको वास्तविक शैक्षिक अवस्था पत्ता लाग्न थालेको उनले बताए । ‘पहिला आफैं प्रश्न निकाल्थे, कापी जाँच्थे । अहिले पालिकाले कक्षा ५ र ८ को प्रश्न निकाल्छ,’ उनले भने, ‘कापी अर्कै विद्यालयकोले जाँचेपछि अवस्था थाहा भएको छ ।’


कृषक अनिल विकले पशु प्राविधिक आउँदा शुल्क लिने गरेको गुनासो गरे । उनले पशु प्राविधिकलाई पैसा तिर्नुपर्ने हो वा होइन भन्ने जिज्ञासा राखे । जवाफमा पशु सेवा शाखा प्रमुख ऋषिराम दाहालले कृषकसँग छुट्टै औषधि दिएकोबाहेकको शुल्क लिन नमिल्ने बताए । ‘गाउँपालिकाले ३२ थरीका औषधि कृषक दर्ता भएपछि निशुल्क दिन्छ । त्योबाहेक औषधि पशु प्राविधिकले दिए पैसा तिर्ने हो,’ उनले भने, ‘नभए यति पैसा नदिई म आउँदिनँ भन्न मिल्दैन ।’


स्थानीय गमप्रसाद गुरूङले पहिला किम्चे गाउँमै खोप सेवा दिने गरिएको भए पनि अहिले छोडिएको बताए । जवाफमा स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले गाउँमा धेरै बिरामी र सुत्केरी महिला नभएकाले स्वास्थ्यचौकी अर्को ठाउँमा सारेको बताए । ‘औषधि मात्र खेर जाने भयो । सेवाग्राही भए फेरि त्यसलाई स्थापना गर्न समस्या छैन,’ उनले भने । 


कार्यक्रममा ९ जना सहभागीले घान्द्रकु जाने सडक समयमै सक्नुपर्ने, गाउँमा खानेपानी आयोजनाको काम हुन नसकेको, यातायात सुविधा नभएको गुनासो गाउँपालिका नेतृत्वसँग गरेका थिए । जवाफमा अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाको आफ्नै स्रोत निकै कम भएकाले चाहेअनुसार काम गर्न सम्भव नभएको बताए । ‘जनताले भनेका काम गर्न पाए हुन्थ्यो भन्ने हामीलाई पनि हुन्छ । तर, हामीसँग साधनस्रोत कम छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारसँग योजनाका लागि बजेट छुट्याइदिन आग्रह गरेका छौं ।’ जनताका काम र समस्या जतिसक्दो छिटो सक्न उनले वडाध्यक्ष र कर्मचारीलाई आग्रह गरे ।​

 

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँबासीलाई स्वास्थ्य बिमा गर्न आग्रह गरिन् । आफैं बिमा गर्न नसक्नेको हकमा वडाबाट सिफारिस प्राप्त भएमा पालिकाले नै बिमा गर्न लाग्ने शुल्क भुक्तान गरिदिने उनले बताइन् । जुन वडामा जे खेती हुन्छ त्यो ठाउँलाई पकेट क्षेत्र घोषणा गर्ने योजना रहेको उपाध्यक्ष अधिकारीले सुनाइन् । ‘जहाँ जुन किसिमको खेती हुन्छ त्यसलाई पकेट क्षेत्र बनाउने सोच छ । प्राविधिक पठाएर त्यो ठाउँबारे बुझेपछि यो काम अघि बढ्छ,’ उनले भनिन् । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले दोस्रो चौमासिकको कार्य प्रगति प्रस्तुत गरेका थिए । उनले गाउँपालिकाले क्यू–आर कोडबाटै राजस्व तिर्ने व्यवस्था मिलाएको देवकोटाले बताए । ‘इ–सेवा, कनेक्ट आइपीएसबाटै व्यवसाय, मालपोथ लगायतको राजस्व भुक्तानी गर्न मिल्ने गरी गाउँपालिकाको सूचना प्रविधि रोडम्याप बनाउँदै छौं,’ उनले भने । 

 


६१ जनालाई अपांग परिचयपत्र र ७९ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको अधिकृत देवकोटाले जानकारी दिए । उनकाअनुसार ५७ जना अनाथ विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । 
 

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवाल...

थप पढ्नुहोस्

काठमाडौं:     आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लाम...

थप पढ्नुहोस्

काठमाडौं:    प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी पर...

थप पढ्नुहोस्