हिमपात हुँदा मनाङका किसान खुशी

मनाङ | फागुन २१, २०७९

हिमपात हुँदा मनाङका किसान खुशी

मनाङ:   हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी प¥यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ”, उहाँले भन्नुभयो, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ ।”, 

 

उहाँका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन”, उहाँले भन्नुभयो, “आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ  ।” 

 

जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । “पुसमा हिउँ परेको भए  जमिनमुनीसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै रु तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन”, किसान गुरुङले भन्नुभयो । कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिनुभयो । यसबाट किसानलाई केही राहत मिलेको बताउनुभयो ।  

 

“माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ”, उहाँले भन्नुभयो । बेमौसममा हिमपात बढ्ने देखिएको उहाँले बताउनुभयो । “मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ”, नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भन्नुभयो, “बल्ल मात्र हिमपातको सुरुआत भएको छ ।”

 

मनाङ ङिस्याङ–९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताउनुभयो । “विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौँ, अहिले बल्ला आङ्शिक रुपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ । सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्”,  उहाँले भन्नुभयो । 

 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकताअनुसार नभएको बताउनुभयो । “डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ बाक्लै देखिन्छन् तर बस्ती र खेतबारीसम्म आइपुग्ने गरी हिमपात भएको छैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँमा आवश्यक मात्रामा हिमपात हुन सकेको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेसी झरे पनि हिमपात भने आवश्यक मात्रामा नपरेको उहाँले जानकारी दिनुभयो । 

 

विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपंक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । तर यसपटक सोही अनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको उहाँले बताउनुभयो । जिल्लामा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायजसो मङ्सिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ । 

 

चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेसी झर्ने गर्दछन् । उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायत स्थानतर्फ जाने गर्दछन् । यस पटक भने उनीहरु गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्