ठगीको नयाँ शैली: सरकारी ड्रेस लगाएर होटेल र रेष्टुरेण्टको अनुगमन

काठमाडाैं | मंसिर २५, २०७९

ठगीको नयाँ शैली: सरकारी ड्रेस लगाएर होटेल र रेष्टुरेण्टको अनुगमन

काठमाडौं:  सेतो सर्ट र निलो कोट पाइन्ट, काँधमा आन्तरिक राजश्व कार्यालयको परिचयपत्र । युवा उमेरका केही व्यक्तिहरू जोसका साथ व्यापारिक फर्महरूमा पुग्छन् र कारोबारको विवरण हेर्छन् । कारोबार राम्रै देखिएको र लगत राखिएको स्थानमा पनि कुनै न कुनै कैफियत देखाउँछन् र नगद मै जरिवाना गर्छन् । 


अनुगमनका क्रममा कैफियत देखिएपछि नगद जरिवाना गर्दै अर्को पटक आउँदा दुरुस्त राख्न पनि भन्छन् र नगद जरिवाना गरिसकेपछि आन्तरिक राजश्व कार्यालय लाजिम्पाट लेखिएको रसिद पनि दिन्छन् । 


व्यापार व्यवसाय भइरहेको स्थानमा अनुगमनका लागि पुगेपछि व्यवसायीले आफ्नो प्रमाणपत्र र करको विवरण दिने नै भए । कतिपय व्यापारीले व्यापारको लगत नराखेको तथा कतिपयले कारोबार गर्दा कर छली गर्ने उद्देश्यले कारोबार नै लुकाउने गरेको प्रमाण फेला पारेपछि आन्तरिक राजश्व कार्यालयले जरिवाना समेत गर्ने नै भयो । यद्यपि राजश्व कार्यालयले जरिवाना गराउँदा चिठी दिएर यति रकम राजश्वको खातामा जम्मा गर्नु भने पनि नगद नै जरिवाना लिएर रसिद भने दिँदैन । 


तर यी ‘स्मार्ट कर्मचारी’हरूले भने अनुगमनपछि नगद मै जरिवाना मात्रै गराएनन्, त्यसको रसिद पनि व्यवसायीलाई दिए । अर्को पटक आउँदा सुधार गर्न चेतावनीसमेत दिएपछि उनीहरूलाई पनि जोसिला सरकारी कर्मचारीले राम्रै गरे भन्ने लाग्ने नै भयो । 


तर एक जिम्मेवार नागरिकले यसको सुइँको पाए । कर कार्यालयले नगद जरिवाना गराउन सक्ने भए पनि कारोबार स्थलबाटै जरिवाना लिएर नगदी रसिद दिने व्यवस्था नभएको बारे उनलाई जानकारी थियो । ती नागरिकलाई शङ्का लागेपछि उनले प्रहरीलाई यसबारे जानकारी गराए । 


सूचना पाउने बित्तिकै प्रहरी नयाँ बसपार्क क्षेत्रमा उनीहरूको रेकी गर्न थाल्यो । रेकी कै क्रममा ती स्मार्ट राजश्वका कर्मचारीहरू सेतो सर्ट, निलो कोट र पाइन्टमा नयाँ बसपार्क क्षेत्रका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा अनुगमनका लागि पुगे । जब प्रहरीले उनीहरूको परिचय पत्र हेरी उनीहरूको विषयमा आन्तरिक राजश्व कार्यालयबाट भेरिफाइ गरे, त्यसपछि पत्ता लाग्यो सेतो सर्ट र निलो कोट पाइन्ट लगाउने ती स्मार्ट व्यक्तिहरू सरकारी कर्मचारी थिएनन् । उनीहरूले काँधमा भिरेको आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटको परिचय पत्र पनि नक्कली थियो । उनीहरू सरकारी कर्मचारी नभएर ठग थिए । 


राजश्वको नक्कली कर्मचारी बनेर ठगी गरिरहेको भन्ने सूचना आउने बित्तिकै प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले गत शुक्रबार अपराह्न ४ बजे नयाँ बसपार्कबाट ८ जनालाई नियन्त्रणमा लिएपछि यो ठगी र किर्ते धन्दाको पर्दाफास भएको हो । सो सम्बन्धमा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 


प्रहरीका अनुसार ठगी र किर्तेमा संलग्न हुप्सेकोट गाउँपालिका ३ पूर्वी नवलपरासी घर भई हाल बालाजु बस्ने  २९ वर्षीया बिन बहादुर बिक, पाँचथरको फिदिम नगरपालिका–१ का २२ वर्षीय सिर्जना भट्टराई, अछामको बान्नीगढी गाउँपालिका ६ घर भएका १९ वर्षीय सागर जंग लुहार, सिन्धुपाल्चोकको साँगागढीचोक नगरपालिका ३ की २३ वर्षीया प्रमिशा तामाङ, अछाम बान्गढी जयगढ गाउँपालिका ६ की २३ की दुधकला बिक, नुवाकोटको बेलकोटगढी नगरपालिका १ की २१ वर्षीया अञ्जना तामाङ, कञ्चनपुरको बेतकोट नगरपालिका ९ का २४ वर्षीय राजीव विष्ट र कञ्चनपुरकै बेतकोट १० का २५ वर्षीय डेबिड धामी पक्राउ परेका छन् ।


पक्राउ परेकाहरूमध्ये राजीव विष्टको साथबाट आन्तरिक राजश्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरू, राजश्व सम्बन्धी किताबहरू, आन्तरिक राजश्व कार्यालयको परिचयपत्र ७ थान र नगद ८४ हजार ७३० रुपैयाँ बरामद गरिएको छ । 


त्यसैगरी पक्राउ परेका डेबिड धामीको डेरा कोठाबाट आन्तरिक राजश्व कार्यालय लाजिम्पाट लेखिएको ४९ ठेली रसिद,  रोजगारी आवेदन फारमहरू, इम्प्लोइमेण्ट एग्रिमेण्ट फारमहरू, आन्तरिक राजश्व कार्यालय लेखिएको लेटर प्याड, आन्तरिक राजश्व कार्यालय लेखिएको परिचय–पत्र तथा परिचय–पत्र झुण्ड्याउने डोरी, एकथान कम्प्युटर, डि आर एकाउण्ट एण्ड ट्याक्स सोलुसल लेखिएको स्ट्याम्प लगायतका सामाग्रीहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले जानकारी दिएका छन् । 


पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसुर तथा परिच्छेद–२५ को २७६ को किर्ते गर्न नहुने कसुर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ठगी र किर्तेमा संलग्न यो गिरोहले ४ दिन अघिदेखि नयाँ बसपार्क क्षेत्रका विभिन्न होटल, लज, रेस्टुरेन्ट तथा फुटपाथ पसलहरूबाट समेत राजश्वको नाममा रकम असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।


बरामद भएको नगदी रसिदको प्रतिलिपि तथा मोबाइल पे हरूको अनुसन्धान गर्दा तत्कालका लागि ५ लाख ८ हजार ६४० रुपैयाँ सङ्कलन गरेको पाइएको प्रहरीले जनाएको छ । यो रकम अझै बढ्न सक्ने र पीडितहरूबाट जाहेरी लिने काम काम भइरहेको प्रहरीले जनाएको छ । ठगीको यो गिरोहबाट पीडित बनेका मध्य ४ जनाले जाहेरी दिइसकेको र अन्य व्यक्तिहरूबाट पनि जाहेरी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

  तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।   १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था ह...

थप पढ्नुहोस्

रौतहट:   जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ ।   आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्द...

थप पढ्नुहोस्

पाेखरा:    नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले  भाईटीकाको साइत सार्वजनिक गरेको छ ।   समितिले सार्वजनिक साइत अनुसार भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जना...

थप पढ्नुहोस्