टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

म्याग्दी | असोज १९, २०७९

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

गलेश्वर :  म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ ।

 

कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन् ।

 

दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट दुई वर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्षेत्रकै नमूना माछापालन बनेको हो ।

 

टिमुरेखोला नजिकै बनाइएको पोखरीमा पाँच हजार माछाका भुरा हुर्किएपछि उत्साहित युवाहरू थप पोखरी निर्माणमा जुटेका छन् । विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले बताउनुभयो ।

 

“माछाका अण्डा ल्याएर व्यवसाय सुरु गरेका थियौँ, अहिले निकै राम्रो भएपछि थप संरचना थप्दैछौँ”, उहाँले भन्नुभयो । उहाँले दूधजस्तै सङ्लो र सफा अनि चिसो पानी भएकाले उत्पादन राम्रो भएको जानकारी दिनुभयो । खाडीमा बगाएको पसिनाभन्दा गाउँघरकै हावापानीमा व्यवसाय गर्ने पहिलो प्रयास सफल भएपछि तीनैजना युवा उत्साहित हुनुहुन्छ । 

 

अहिले पोखरीमा दुई सय ग्रामदेखि आधा केजीसम्मको माछा छ । सामान्य तालिम लिएर सुरु गरेको माछापालनलाई थप व्यवस्थित बनाउन युट्युब, विभिन्न जानकारीमूलक पुस्तकबाट समेत सिक्ने गरेको अर्का युवा पूर्णबहादुरले बताउनुभयो ।

 

“माछापालन सोचेजस्तो वा देखेजस्तो सजिलो भने छैन, दिनरात खट्नुपर्छ, उत्पादन गरेका माछाको बजार राम्रो छ”, उहाँले भन्नुभयो । हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि बिक्री वितरणमा समस्या नभएपछि दुई वर्षभित्र १० वटा पोखरी, खोलाको छेउमै बसेर माछाको विशेष परिकार खुवाउने गरी रेष्टुरेन्ट सञ्चालनको योजनासमेत बनाएको व्यवसायी पूर्णबहादुरले जानकारी दिनुभयो ।

 

उहाँले माछापालन, रेष्टुरेन्टसहित अन्य कृषिजन्य उत्पादनको सोचसमेत बनाउनुभएको छ । हालसम्म रु सात लाख लगानी भएको छ भने थप रु २० लाख लगानी थप्ने योजना रहेको उहाँले बताउनुभयो । ट्राउट माछा लोकप्रिय र सबैको रोजाइ रहने माछा हो । खानमा स्वादिलो, बीचबाहेक काँडा नहुने र प्रोटिनयुक्त पोषिलो माछाका रूपमा ट्राउटलाई लिने गरिएकाले गाउँघरका साथै दरबाङ र बेनीबजारमा समेत उच्च माग छ । 

 

यस क्षेत्रमा पहिलो पटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछापालन सफल भएपछि अन्य युवाहरुलाई समेत व्यवसायमा लाग्न सहज भएको छिमेकी बेली गाउँका युवा सङ्गम पुनमगरले बताउनुभयो ।

 

यता भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई पालनका लागि सबैभन्दा राम्रो माछाको रूपमा लिने गरिएको बताउनुभयो । 

 

उहाँले चिसो पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुने भएकाले सम्भावना भएका क्षेत्रका युवाहरुलाई तालिम दिने गरिएको बताउनुभयो । 

 

रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ । उक्त हावापानी खहरेखोला र बाह्रै महिना चिसो भएको क्षेत्रमा रहेको उहाँले बताउनुभयो । रेन्बो ट्राउट माछा प्रतिकेजी रु एक हजार दुई सयमा पोखरीबाटै बिक्री हुन्छ । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्