दलित समुदायको उन्मुक्तिका विषयमा पोखरामा कचहरी

पाेखरा | असार २१, २०८२

दलित समुदायको उन्मुक्तिका विषयमा पोखरामा कचहरी

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । 


अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित समुदायले आफ्नो उन्मुक्तिका लागि कसरी बुद्ध धर्मलाई अंगिकार गरेका छन् भन्ने कुरामा अध्ययन अनुसन्धान गरेका छन् । 


पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा रहेको समाज विज्ञान केन्द्रले शुक्रबार यसै विषयमा कचहरी आयोजना गरेको थियो । 


‘हाइरारकी, विलंगिंग रेजिस्टेन्सः फ्रम वुद्धिष्ट रिचुअल्स् टु दलित एक्टिभिजम्’ शीर्षकमा उनले प्रस्तुति दिए ।


भारतीय दलित नेता अम्वेडकरले वुद्धिज्मलाई सामाजिक तथा राजनीतिक स्वतन्त्रताको मार्गका रुपमा अंगिकार गरेको उनको भनाइ छ । 


सन् १९५६ मा काठमाण्डौं आएका अम्वेडकर भारत फर्केपछि ठूलो संख्यामा दलितहरुले धर्म परिवर्तन गरी वुद्धिष्ट बनेको भन्दै प्राध्यापक गेल्नरले नेपालमा भने त्यस घटनाको ठूलै प्रभाव भने नदेखिएको तथ्य प्रस्तुत गरेका छन् । 


उनी सन् १९८२ मा पिएचडीको अनुसन्धानका लागि नेपाल आउँदा दलित शब्द प्रचलनमा समेत नरहेको स्मरण गरे । 


‘जव म फिल्डवर्कका लागि नेपाल आए त्यतिवेला जनजाति, दलित र खसआर्य भन्ने शब्दावली प्रचलनमा थिएनन्’, उनले भने । 


पछिल्ला दिनहरुमा पहिचानको राजनीतिका कारण यी शब्दावली बढी प्रचलनमा आएको उनको भनाइ छ । 


नेपालमा छुवाछुतको सन्दर्भमा धेरै परिवर्तन भएको पाएको उनले बताए । 


उनका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुका लागि जात ठूलो विषय नबनेको तर स्वदेशमा भने तिनै युवा त्यसका लागि अभ्यस्त बन्न नसकेको अध्ययनका क्रममा देखिएको छ ।


नेपालको पछिल्लो १ सय ५० वर्षको इतिहासलाई सबै खालका विभेद विरुद्धको प्रतिरोधका रुपमा लेख्न सकिने धारणा उनले राखेका छन् । 


पहिलो पटक सन् १९७५ मा नेपाल आउँदा पोखरा आएको प्रंसग स्मरण गरेका उनले त्यस यता यहाँ धेरै परिवर्तन भएको पनि बताए । 


लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराका अध्यक्ष एवम् कचहरीका परिकल्पनाकार प्राडा विश्वकल्याण पराजुलीले दलित शब्द अम्वेडकरले प्रचलनमा ल्याए पछि नेपालमा पनि अनुसरण गरिएको बताए । 
प्राडा पराजुलीका अनुसार त्यसअघि पानी चल्ने र नचल्ने भन्ने हिसाबले व्याख्या हुने गरेको थियो । 


नेपाली दलित आन्दोलनलाई धेरै आयामबाट हेर्नु पर्ने उनको भनाइ छ । जातीय विभेदमा परेर नेपाली दलितले अझै पनि विभिन्न सहारा लिनु परिरहेको दृष्टान्त उनले प्रस्तुत गरेका थिए । 


कार्यक्रममा डा कृष्ण अधिकारीले प्राध्यापक गेल्नरको पहिलो नेपाल भ्रमणदेखि नै यहाँको अध्ययनको शुरुवात भएको स्मरण गराए । 


दलित अधिकारकर्मी तथा वामपन्थी नेता केश बहादुर परियारले नेपालमा ठूला परिवर्तन हुँदा पनि विभेद उत्तिकै कायम रहेको बताए । उनले दलित माथिको विभेदको प्रश्न अहिलेको मूख्य प्रश्न भएको पनि भनाइ राखे ।


सो क्रममा डा अञ्चला चौधरी, सन्तोष सुनार, मनोज सुवेदी, मेघा पुन, अर्जुन पोखरेल, गिरिधारी दाहाल सहितका सहभागीहरुले जिज्ञासा र विचार राखेका थिए । 


लेकसिटी कलेजले प्रत्येक महिना समसामयिक विषयमा कचहरी गर्दै आएको छ । कलेजमा पत्रकारिता तथा आमसञ्चार, सोसल वर्क एवम् व्यवस्थापन विषयमा स्नातक तहको पढाइ हुन्छ ।  
 

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम दिईएको छ ।  शुक्रबार भएको तालिममा गण्डकी प्रदेश...

थप पढ्नुहोस्