लेखनाथ महोत्सवमा व्यापार बढ्दै जाँदा स्टल सञ्चालकहरूमा उत्साह
पाेखरा | पुस ६, २०८२
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । महोत्सवको रौनक बढेसँगै विभिन्न व्यवसायमा संलग्न स्टलवालाहरू उत्साहित देखिएका छन् ।
विशेषगरी कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, माछा तथा फलफूलको व्यापारमा उल्लेखनीय वृद्धि भएको स्टल सञ्चालकहरूले बताएका छन्। महोत्सव अवलोकनका लागि आउने दर्शक तथा उपभोक्ताहरूले स्थानीय तथा जैविक उत्पादनप्रति चासो देखाउन थालेपछि यस्ता स्टलहरूमा घुइँचो लागेको देखिन्छ ।
महोत्सव स्थलमा स्टल नं. २८ मा मुस्ताङ जिल्ला चोहोेर गाउपालिका वडा नं. ९ की ५० वर्षीया पासाङ आयो पहिलो पटक लेखनाथ महोत्सवमा सहभागी भएकी हुन्। पहिलो सहभागितामै व्यापार राम्रो भएपछि उनी निकै उत्साहित देखिन्छिन् ।
उनले जिम्बु, टिमुर, विरैनुन, जाइफल, हर्रो लगायतका विभिन्न प्राकृतिक जडीबुटी बिक्री गर्दै आएकी छन्। उनका अनुसार महोत्सवमा जडीबुटीको माग बढ्दो छ र दैनिक करिब १५ हजार रुपैयाँ बराबरको नगद कारोबार भइरहेको छ। स्थानीय तथा शुद्ध प्राकृतिक उत्पादन खोज्ने ग्राहकको संख्याले आफूलाई थप हौसला दिएको उनको भनाइ छ ।
त्यसैगरी स्टल नं. ३५ मा रहेको शीतल जडीबुटीका सञ्चालक तथा पोखरा महानगरपालिका वडा नं. ३१ निवासी वैद्य जयबहादुर थापा विगत २१ औँ संस्करणदेखि निरन्तर रूपमा लेखनाथ महोत्सवमा सहभागी हुँदै आएका छन् ।
उनले यस वर्ष पनि महोत्सवबाट लाखौँ रुपैयाँ बराबरको व्यापार भएको जानकारी दिए । थापाका अनुसार चौटा जोर, कुरिलोको जरा, हर्रो, बर्रो, सिखारीको लहरालगायतका जैविक जडीबुटीहरू विशेषगरी महिला ग्राहकको रोजाइमा परेका छन्। स्वास्थ्यप्रति सचेत उपभोक्ताको बढ्दो आकर्षणले जडीबुटी व्यवसायलाई थप बल पुगेको उनले बताए ।
महोत्सवमा कृषि तथा जडीबुटी मात्र होइन, स्थानीय खाद्य तथा माछा व्यवसाय पनि फस्टाएको देखिन्छ। स्टल नं. ९ मा रहेको बेगनास माछा पसलका सञ्चालक नारायण नेपालीले विभिन्न स्थानीय जातका ताजा माछाको दैनिक करिब ६० हजार रुपैयाँ बराबरको बिक्री भइरहेको बताए । स्थानीय उत्पादनलाई प्राथमिकता दिने उपभोक्ताका कारण माछा बिक्रीमा वृद्धि भएको उनको भनाइ छ ।
त्यस्तै, स्टल नं. ३६ मा रहेको स्मार्ट बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक राहुल थापाले सिरम्ला, काउनु, मस्यौरा, फापरलगायत स्थानीय खाद्यान्नको व्यापारबाट दैनिक करिब ५० हजार रुपैयाँ बराबरको नगद कारोबार भइरहेको जानकारी दिए। परम्परागत खानाप्रति युवा पुस्ताको समेत आकर्षण बढ्दै गएको देख्दा आफूहरू उत्साहित भएको उनले बताए ।
दुग्धजन्य पदार्थको व्यापार पनि महोत्सवमा राम्रो देखिएको छ । स्टल नं. २८७ मा रहेको तालचोक डेरी पसल सपका सञ्चालक पवित्रमणि पौडेलले दूधबाट बनेका विभिन्न परिकारको बिक्रीबाट दैनिक २५ हजार रुपैयाँभन्दा बढी नगद कारोबार भइरहेको बताए। जाडो मौसम सुरु भएसँगै खुवा र कुराउनीको माग उल्लेखनीय रूपमा बढेको र ग्राहकको चासो राम्रो रहेको उनको भनाइ छ ।
फलफूल व्यवसाय पनि महोत्सवमा आकर्षणको केन्द्र बनेको छ । स्टल नं. २९६ मा रहेको गुरुङ फलफूल पसलका ईश्वर गुरुङले दैनिक ३० हजार रुपैयाँभन्दा बढीको सुन्तला तथा अन्य फलफूल बिक्री भइरहेको जानकारी दिए। ताजा र स्थानीय फलफूलप्रति उपभोक्ताको आकर्षण बढ्दा व्यापार सहज भएको उनले बताए ।
समग्रमा लेखनाथ महोत्सवले स्थानीय उत्पादन, कृषि, जडीबुटी तथा साना व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको व्यवसायीहरूको भनाइ छ। महोत्सव अझै केही दिन चल्ने भएकाले आगामी दिनमा व्यापार थप बढ्ने आशा गरिएको छ। आयोजक तथा स्टल सञ्चालकहरूले महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् ।
महोत्सवको चौथो दिन मात्र एक करोड बरावरको कारोवार तथा २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका प्रचार प्रसार संयोजक धु्रवबावु भटट्राईले जानकारी दिए ।
आइतवारका विषेश प्रस्तुतीमा शिवेश्वर महिला समुह पोखरा २९ र बयेर पाके महिला कृषक समुह पोखरा, ३० र मातृशिशु कल्याण आमा समुह पोखरा २८ ले रत्यौली प्रस्ततु गरेका थिए । विद्यालय स्तरीय प्रस्तुती अन्तरगत त्रिवेणी पब्लिक, एपेक्स प्रि स्कुल, विएमजी मावि र लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको प्रस्तुती रहेको थियो भने नृत्य तर्फ शैनिक बस्ती गुप्र नं १ को घाँटुनाच प्रस्तुत भएका थिए । भने कलाकार तर्फ आइतवार लोकदोहोरी तर्फ जिवन दाहाल, कृष्ण अखेली, कला लम्साल, शिवहरी ढुङ्गाना, रमा गौतम, सन्तोष सुवेदी र पुजा तामाङ्गको प्रस्तुती रहेको थियो यसै गरी सुगम संगित तर्फ बसन्त सापकोटा, सन्तोष बस्याल र विन्दु परियारको प्रस्तुती रहेको थियो ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

