पूर्व मेयर थापाको निधन: पोखरा महानगरमा चैत्र १ गते शोक बिदा
पाेखरा | फागुन ३०, २०८२
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै थापाको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक दिन शोक मनाउने र महानगरपालिका तथा मातहतका कार्यालय बन्द रहने जनाएको हो।
महानगरपालिकाले जारी सूचनामा ‘स्वर्गीय थापाको सम्मानमा चैत १ गते आइतबारका दिन महानगरपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालय बन्द रहने’ उल्लेख गरेको छ।
सूचनाअनुसार स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्। विद्यालयका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने यथावत सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। सेवाग्राहीमा पर्न जाने असुविधाप्रति महानगरपालिकाले क्षमायाचना पनि गरेको छ।
महानगरपालिकाले थापाको निधनलाई पोखराका लागि ठूलो क्षति भएको उल्लेख गर्दै नगर विकास र समृद्धिमा उनले पुर्याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
सूचनामा ‘नगर प्रमुखको हैसियतमा उनले महानगरपालिकाको विकास र समृद्धिमा पुर्याएको योगदानको उच्च कदर गर्दै पोखरा महानगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’ भनिएको छ। साथै महानगरका जनप्रतिनिधि र कर्मचारी परिवारले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको पनि उल्लेख गरिएको छ।
थापा तत्कालीन पोखरा उपमहानगरपालिकाको नगर प्रमुखका रूपमा २०५४ देखि २०५९ सालसम्म निर्वाचित भएर काम गरेका थिए। प्रजातन्त्र पुनःस्थापनापछिको स्थानीय तहको नेतृत्व सम्हालेका उनी पोखराको शहरी विकास, पूर्वाधार विस्तार र नगर व्यवस्थापनमा सक्रिय नेताका रूपमा चिनिन्थे।
दीर्घ समय कम्युनिस्ट आन्दोलनमा सक्रिय थापा नेकपा एमाले कास्कीका प्रभावशाली नेता पनि थिए।
उनी जीवनको अन्तिम समयसम्म पार्टी गतिविधिमा सक्रिय रहेको बताइन्छ। बिहीबार फागुन २८ गते पार्टी कार्यालयमा भएको छलफलमा सहभागी भइरहेका बेला उनी अचानक अस्वस्थ बनेका थिए। पार्टीका नेताहरूबीच अनौपचारिक कुराकानी भइरहेका बेला उनले पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिनुपर्ने र ‘एक मुठी सास रहुन्जेल एमालेका लागि लागिरहने’ बताएका थिए। त्यसको केही समयपछि उनलाई हृदयघात भएको थियो ।
पार्टी कार्यालयबाट ९ मिनेटभित्रै मणिपाल अस्पताल पुर्याउँदा चिकित्सकले भने उनको सास नरहेको घोषणा गरेका थिए ।

नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

