‘अझै सशक्त भएर अगाडि बढ्ने छौं’

पाेखरा | भदौ २७, २०८२

‘अझै सशक्त भएर अगाडि बढ्ने छौं’

पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय तारोमा परेको गुनासो गरेका छन्।


सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले आफूले १७ वर्षको उमेरदेखि पढ्दै गरेको संघर्ष छिनभरमै खण्डहर भएको भन्दै दुःख व्यक्त गरेका हुन्।


‘आज आफू बस्ने घर अफिस जलाइँदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्। खण्डहर घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेको छ,’ उनले लेखेका छन्।


घरसँगै सहयोगी युवतीको समेत जलेर मृत्यु भएको उनले उल्लेख गरेका छन्।


यस्तो छ थापाको फेशबुक स्टाटस


म कुनै राजनीतिक मान्छे थिइनँ। न कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम सुरू गरेको थिएँ। कति आरोह(अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो।


आफूले मात्रै उद्यमरव्यवसाय गरिनँ, अरू धेरैलाई पनि सिकाएँ। नेपालमै उद्यम गर्नुपर्छ, सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु।आफूले व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु। सामाजिक र मानवीय सेवामा लागिरहेको छु। म मात्र होइन, हामी दम्पती नै लागिरहेका छौं।


२०७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरू आयात गरेर विभिन्न संघसंस्थाहरूलाई निःशुल्क प्रदान गर्‍यौं। जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्‍याइरहेका छन्। हामी दम्पतीले विभिन्न सामाजिक संघसंस्थाहरू मार्फत् पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौं।


आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाईदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा ति सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्। जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए।


सम्पत्ति घर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडा भन्दा पनि धेरै पीडा हाम्रो परिवार कै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ। घटना हुनु केही क्षण अघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विभत्स घटना बेहोर्नुपरेको छ।


घरमा मान्छे छन् भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने काम जेनजीले गरेका हुन्। वा त्यहाँ भित्र अरू नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन्, ती क्रुर अपराधीहरू भोलिका दिनमा कुनै राजनीतिक खोल ओडेर उम्किन नपाउन।


अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ। दाई राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नु भयो। के राजनीति गर्नु नै अपराध हो ? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिलादेखि नै पोखराको एक सफल व्यवसायीको रूपमा चिनिनु हुन्थ्यो। अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरूले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिल्कुल निराधार र कपोलकल्पित छ।


उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभिष्ट पूरा गर्न रचिएको योजना हो त्यो। हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा। एउटा महत्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौं। यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्वपूर्ण योगदान छ। उनीहरूकै सन्तान हौं हामी। यसैले हामीलाई यो देशको अझ बढी माया छ। 


मेरो दाजुले पनि विगतदेखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ। उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये मध्ये एक हुनुहुन्छ। जसले आफूसँग भएको सम्पूर्ण चलअचल सम्पत्ति पारदर्शिताका साथ सबै जनताका सामु राखिदिनुभएको छ। भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गर्थ्यो होला र?


यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरू प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ।

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्