पत्रकार महासङ्घ बागलुङले रजत वर्ष मनाउने
बाग्लुङ | असार ७, २०८२
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखा स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा वर्ष २०८२ लाई रजत वर्षका रुपमा मनाइने भएको छ ।
महासङ्घ कार्यसमितिको शनिबार बसेको बैठकले बर्षेभरि विविध रचनात्मक क्रियाकलाप गर्ने निर्णय गरेको हो । यही असार २५ गते २५ औँ स्थापना दिवस अर्थात रजत जयन्तीका अवसरमा दुईदिवसीय कार्यक्रम गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार असार २४ गते बिहान ध्यान शिविर र दिउँसो पत्रकार महासङ्घका अन्तरशाखा मैत्रीपूर्ण फुटसल खेल आयोजना गरिएको छ ।
खेलमा पत्रकार महासङ्घ, बागलुङसहित कास्की, पर्वत र म्याग्दीको टिमको सहभागिता रहने जनाइएको छ ।
बैठकले ध्यान शिविरको संयोजनका लागि उपाध्यक्ष सिर्जना पन्त र फुटसल खेलका लागि कार्यसमिति सदस्य अर्जुन कार्की, सङ्गम घर्ती मगर र पत्रकार रोहन जिसीलाई जिम्मेवारी दिएको छ ।
असार २५ गते बिहान प्रभातफेरीसहित रजत जयन्ती मूल समारोह आयोजना गरिने सचिव रिजालले बताउनुभयो । मूल समारोहमा महासङ्घमा स्थापित विभिन्न पत्रकारिता पुरस्कार वितरण, सम्मानलगायतका कार्यक्रम हुने उहाँको भनाइ छ ।
रजत जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई आमन्त्रण गर्ने निर्णय भएको शाखाले जनाएको छ ।
रजत वर्षका अवसरमा महासङ्घको कार्यालय परिसरमा रजत वर्ष स्तम्भ स्थापना, रजत स्मारिका प्रकाशन, बागलुङ मिडिया सम्मेलनलगयतका कार्यक्रम आयोजना गरिने भएको छ ।
वर्ष २०८२ लाई तालिम वर्षका रुपमा समेत घोषणा गरी पत्रकार क्षमता विकास कार्यक्रममा केन्द्रित हुन लागिएको शाखाका उपाध्यक्ष सिर्जना पन्तले बताउनुभयो ।
आधारभूत, विषयगतदेखि मल्टिमिडिया पत्रकारितासम्मका तालिमलाई वार्षिक कार्ययोजनामा समेटेर सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । पत्रकारको पेसागत सुरक्षा र दक्षता अभिवृद्धिका कामलाई महासङ्घले प्राथमिकतामा राख्ने उपाध्यक्ष पन्तले बताउनुभयो ।
बैठकमा तालिम उपसमितिका संयोजक सिर्जना पन्त, आर्थिक उपसमितिका संयोजक सुवास गौतम, अनुशासन समितिका संयोजक सुवास आचार्य, सूचना÷प्रविधि उपसमितिका संयोजक डम्मर बुढा मगर र अन्तरसंस्था समन्वय उपसमितिका संयोजक नवराज परियारले सम्बन्धित उपसमितिका कार्ययोजनामा पेस गर्नुभएको थियो ।
बैठकले आगामी साउन पहिलो साता जिल्ला सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारीलगायतसँग सूचनाको हकको प्रचलन आदिका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
शाखाले स्थापना गरेको ‘पत्रकार लेखनवृत्ति कोष’को लक्ष्यलाई छिट्टै पूरा गरी यही वर्षदेखि खोजमूलक पत्रकारिता गरिरहेका पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने जनाइएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

