सहज बन्दै मनाङको यात्रा

मनाङ | माघ ६, २०८१

सहज बन्दै मनाङको यात्रा

मनाङ:     पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो । 

    
डुम्रे–बेँसीसहर–चामे आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किमी सडक कालोपत्र सम्पन्न भएको हो । 

    
सबइञ्जिनीयर अधिकारीले भन्नुभयो, “मनाङतर्फको सडक निर्माणमा मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ । भौतिक रूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ । जलविद्युत् आयोजनाका सवारीसाधन आवतजावत गर्नुपर्ने भएकाले यहाँको विकासलाई पनि सहयोग पुगेको छ ।” बेँसीसहर–चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि रु ५१ करोड बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । 

    
आयोजना निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतिकमानसिंह प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार सडक आयोजनासँग सम्झौता गरी आपसी समन्वयका आधारमा काम भइरहेको हो ।

    
प्रबन्धक प्रधानले भन्नुभयो, “ऊर्जा उत्पादनले मात्रै जिल्लाको विकास सम्भव छैन । मनाङ पर्यटकीय क्षेत्र पनि हो, यहाँ सडक सञ्जाल विस्तार गरी यात्रा सहज बनाउन सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिकस्तरमा सुधार हुँदै जाने थियो । ऊर्जा उत्पादनसँगै सडक सञ्जालको विकासले स्थानीयको दैनिकी र पर्यटकलाई आवागमनमा सहयोग पु¥याइरहेको छ ।” 

    
मनाङको चामे गाउँपालिका–१, २ र ३, नासोँ गाउँपालिका–९, ८, ४ र ५ नम्बर वडामा पर्नेगरी निर्माणाधीन एक सय ३५ मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले यहाँको सडक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको प्रबन्धक प्रधानले बताउनुभयो । 
    
    
उक्त जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । यस आयोजनाको क्षमता एक सय ३५ मेगावट रहेको छ । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको हो ।

    
आयोजनामा नेपाली साझेदार बिपिसिले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससिआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रूपमा ८० प्रतिशत शेयर स्वामित्व रहनेगरी समझदारी भएको आयोजना कार्यालयले जनाएको छ ।

    
आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत पुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु एक अर्ब ३३ करोड पुँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक रु ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ । 

    
आयोजना ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिको हुने कम्पनीका प्रबन्धक प्रधानले जानकारी दिनुभयो । वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट विद्युत् उत्पादन हुने अपेक्षा लिइएको उहाँले बताउनुभयो । 

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।  &nb...

थप पढ्नुहोस्

काठमाडौं:   प्यालेष्टिनी इस्लामी समूह (हमास)ले समूहले युद्धविराम सम्झौता अनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ ।   समूहका एक अधिकारीले इ...

थप पढ्नुहोस्

पर्वत:     जिल्लाको कुश्मा नगरपालिकाले लामो समयदेखि बाँझै राखिएको बारी जोतेर कोदो उत्पादन गर्न थालेको छ । कुश्मा–१४ आर्थरमा बाँझो जग्गा सदुपयोग गरेर नगरपालिकाले यस वर्ष १६ मुरी कोदो उत्पादन ग...

थप पढ्नुहोस्