मधेश आन्दोलनको १८ वर्ष: अझै ओभाउन सकेनन् सहिद परिवारको आँसु

सिरहा | माघ ५, २०८१

मधेश आन्दोलनको १८ वर्ष: अझै ओभाउन सकेनन् सहिद परिवारको आँसु

सिरहा:     माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो ।  

    
आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । आज विशेष दिन भएकाले बिस्तारै मधेश केन्द्रित दल तथा कार्यकर्ताहरूको चहलपहल र उपस्थिति बढ्दै गएको हो ।

    
एकातिर सहिदको प्रतिमामा माल्यार्पण गर्न नेता र कार्यकर्ताको भीड लाग्दा अर्कातिर लक्ष्मी सहनी र उहाँकी श्रीमती डोमनी सहनीको मनमा छट्पटी बढ्दै जान्छ । विगतका स्मृति र विस्मृतिहरूलाई उप्काएर ताजा बनाइदिन्छ, जसले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो । 

    
यसैगरी, छट्पटी र तनाव बढ्छ महम्मद मस्तकीलाई पनि । आजभन्दा १८ वर्ष पहिला लहानमा चर्कीएको मधेश आन्दोलनले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो । 


विसं २०६३ माघ ५ गते तत्कालीन मझौरा गाविस–५ का रमेशकुमार महतो, माघ ७ गते इटहर्वा गाविस–३ का मोहम्मद अनिश, सोही दिन महदेव गाविस–२ का प्रमोद सदाय र माघ ८ गते लहान नगरिपालिका–४ का विजय सहनीको सोही आन्दोलनमा प्रहरीको गोली लागेर शहादत प्राप्त भएको थियो । तिनै सहिद विजय सहनीको बुबाआमा हुनुहुन्छ लक्ष्मी र डोमनी सहनी । 

    
दुई सन्तानमध्ये घरको जेठो १८ वर्षीय विजय सहनीलाई आन्दोलनमा गुमाएको पल सम्झिँदा बुबा लक्ष्मी सहनीलाई अझै भक्कानो छुटेर आउँछ । “प्रत्येक माघ ५ गतेले मलाई पीडा र आँसु दिएर जान्छ । विगतको स्मृति र विस्मृतिलाई ताजा बनाउने काम गर्छ”, आफ्नै छोराको सालिक अगाडि उभिएर सहनीले भावुक हुँदै भन्नुभयो, “आन्दोलनले के कति प्राप्त भयो थाहा छैन तर हाम्रो परिवार उजाड बनाइदियो । खुसीहरू सधैँलाई छुटिगए ।”

    
परिवारको आर्थिक जोहो टार्न अर्को छोरो राजेश सहनी तीन वर्षदेखि भारतको केरलामा मजदुरी गरिरहेको पीडा बुबा लक्ष्मीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनमा मेरा छोरा जस्तै सहिदहरूको बलिदानले नेताहरूलाई सरकारमा त पु¥यायो, तर मेरो परिवार उस्तै गरिबी, अभाव र पीडामा छ । सम्झिँदा मन भक्कानिन्छ, सम्हाल्न गाह्रो हुन्छ ।” 

    
सहनीले अगाडि भन्नुभयो, “आफूलाई जसोतसो सम्हाल्छु तर श्रीमतीलाई सम्झाउन गाह्रो छ”, छेवैमा आँसु टिल्पिलाउँदै गर्नुभएकी श्रीमतीतर्फ हेर्दै उहाँले भन्नुभयो, “यस्तो बेला छोराको याद आइहाल्छ । यस्ता कार्यक्रमहरूले पीडा थप बल्झाउँने र असाध्यै सताउने गर्छन् ।” 

    
मोहम्मद मस्तकी सहिद मोहम्मद अनिशका बुबा हुनुहुन्छ । यस्तै पीडा छ, अनिशका बुबा मोहम्मद मस्तकीको । सरकारले सहिद परिवारको रोजगारी र जीविकोपार्जनमा कुनै सहयोग नगरेको तथा आन्दोनले ल्याएको परिवर्तनले जनताको जीवनस्तरमा कुनै परिवर्तन ल्याउन नसकेको उहाँले दुखेसो पोख्नुभयो । “सहिदको समना पूरा भएन । सोचेअनुसारको परिणाम आएन । व्यवस्था त बदलियो तर जनताको अवस्था फेरिएन,” उहाँले भन्नुभयो । 

    
त्यही आन्दोलनका नेतृत्वकर्ता तत्कालीन मधेशी जनाधिकार फोरम तथा हालका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लहान आएर यिनै सहिदहरूको प्रतिमामा माल्यार्पण गर्दै आजको दिन शोषण र उत्पीडनविरुद्ध बलिदानपूर्ण विद्रोह भएको दिन भएको बताउनुभयो । 

    
उहाँले भन्नुभयो, “गुलामीको जीवनभन्दा बलिदानी दिएर मधेशलाई अधिकारसम्पन्न बनाउने सहिदको सपना खेर जाँदैन ।” छेवैमा भाषण सुनिरहेका सहिद परिवार भने मौन थिए । सायद नेताहरूको भाषण सुन्न बानी परिसकेका थिए, विश्वास लाग्नु नलाग्नु छुट्टै विषय हो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्