चोकमा मात्र होइन, नोटमा पनि पृथ्वीनारायणलाई राखिनुपर्छ
पाेखरा | पुस २७, २०८१
पोखरा: पोखराको पृथ्वीचोकमा नेपालका प्रथम सहिद लखन थापाको सालिक छ । उक्त चोकमा कसको सालिक राख्ने भनेर आन्दोलन र असहज परिस्थितिबीच गत वर्ष त्यहाँ सहिद थापाको सालिक राखियो ।
तर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक राखिनुपर्छ भन्ने अभियन्ताहरुले जुनसुकै हालतमा अबको एक वर्षभित्र पृथ्वीचोकमा शाहको सालिक स्थापना गर्ने उद्घोष गरेका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा राष्ट्र गौरव अभियानले शनिबार आयोजना गरेको एकता सभाका वक्ताहरुले पृथ्वीचोकमा अरुको सालिक राखिन नहुने बताए । कार्यक्रमका कतिपय वक्ता यो विषयमा बोल्दा निकै आक्रामक प्रस्तुत भए ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सालिक राख्ने विषयमा जातीय हिसाबले जानुभन्दा सुरक्षित अवतरण गरिनुपर्ने बताए ।
‘अभियानलाई जातीयता नभड्किने हिसाबले सेफ ल्यान्डिङ गर्नुपर्छ,’ उनले भने, ’प्रदेश सरकारले पनि आगामी दिनमा छलफल गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
पृथ्वीनारायण शाहको दुर्दर्शितालाई आत्मसात् गर्दै सामाजिक न्याय, विकास र समाजलाई एकीकृत गर्न सकिने उनले बताए ।
देशका वर्तमान समयका चुनौतीलाई सामना गर्न पनि एकताको भावना आवश्यक रहेको मन्त्री थापाको भनाइ थियो ।
सभाका प्रमुख वक्ता इतिहासविद् प्रा. डा रमेश ढुङ्गेलले सालिक हटाएर इतिहासको विनाश गर्ने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे ।
इतिहासको विरोध गर्न नहुने र त्यो छुट कसैलाई नभएको उनले जिकिर गरे । ‘अर्को वर्ष वा अबको १÷२ वर्षमा यहाँ ठूलो सालिक ठ्डाउनै पर्छ । इतिहासको विरोधमा जान कसैलाई छुट छैन,’ उनले भने ।
सालिक मात्र नभएर देश एकीकरण गरेकाले एक हजार रुपैयाँको नोटमा पृथ्वीनारायण शाहको तस्वीर राखिनुपर्ने उनको भनाइ थियो ।
पृथ्वीनारायण शाहले स–साना राज्यलाई एक बनाएकाले साम्राज्यवादी भन्नु गलत भएको ढुङ्गेलले बताए । शाहलाई उनले ‘असल र कुशल डिक्टेटर’को रूपमा व्याख्या गरे । ‘आजको नेपाल बन्न असम्भव थियो । चेतनशील दिमागले सतर्कता अपनाएका कारण सम्भव भएको हो । यो मुलुक नेपाली काङ्ग्रेस, नेकपा एमाले सबैलाई हो,’ उनले थपे, ‘पृथ्वीनारायण शाहजस्तो डिक्टेटर नभएको भए एकीकरण सम्भव थिएन । उहाँ असल र कुशल डिक्टेटर हो ।’
गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङले राष्ट्र निर्माताको राख्नुपर्ने ठाउँमा राष्ट्र सेवकको सालिक राखिन नहुने बताए । ‘त्यो ठाउँमा पृथ्वीनारायण शाहको सालिक थियो । सालिक छैन तर हिजो आज र भोलि पृथ्वीचोक नै हो । राष्ट्र निर्माताको राख्नुपर्ने ठाउँमा राष्ट्र सेवकको सालिक नराखौं । यो दुवैको अपमान हो,’ उनले भने ।
सहिद लखन थापाको सालिक नयाँ ठाउँमा स्थानान्तरण गर्न सांसद गुरुङले पोखरा महानगरपालिकालाई आग्रह गरे ।
‘सहिद लखन थापालाई नयाँ ठाउँमा सालिक निर्माण गर्न स्थानीय सरकारलाई अनुरोध गर्दछु । यो अनुरोधलाई हलुका र बेवास्ता गरेमा त्यसको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने छ,’ उनी आक्रोशित बने । भारतमा महात्मा गान्धीको सरकारी तवरबाटै सम्मान हुने तर नेपालमा पृथ्वीनारायण शाहको योगदानको कदर नभएको सांसद गुरुङको भनाइ थियो ।
विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले राजाले बनाएको राजमार्ग हिँडेर, राजाले बनाइदिएको सिंहदरबारमा बसेर त्यो व्यवस्थालाई निरंकुश भन्नु इतिहासको अपमान गर्ने काम भइरहेको बताए । ‘राजाले बनाइदिएको राजमार्ग प्रयोग गर्छौ, सिंहदरबारमा शसन गर्छौं । निरंकुश व्यवस्था थियो भन्छौं । अनि हामी कहाँ छौँ ? इतिहास मेटाएर, भत्काएर कस्तो देश निर्माण गर्न गइरहेका छौँ ?’ उनले प्रश्न गरे ।
राष्ट्र गौरव अभियानका प्रवक्ता अरुण गिरीले पृथ्वीचोकमा सालिक राख्न सरकारलाई पटकपटक आग्रह गरेपनि बेवास्ता गरिएको गुनासो गरे ।
आगामी वर्षको जन्मजयन्तीसम्म जुनसुकै हालतमा पृथ्वीनारायण शाहको सालिक पृथ्वीचोकमा राख्ने उनले उद्घोष गरे ।
‘आगामी वर्ष पृथ्वीचोकमा सालिक बनाएर त्यसमा माल्यार्पण गर्न पाइने आशा छ । ३०४ औं जन्मजयन्ती मनाउँदा अर्थात् एक वर्षभित्र पृथ्वीचोकमा सालिक राख्न हामी आजैदेखि लाग्ने छौँ,’ उनले भने ।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक बनाउने घोषणा गरेपनि त्यसको कार्यान्वयन नभएको प्रवक्ता गिरीले गुनासो गरे ।
अभियानका सहसंयोजक गणेशबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघ कास्की अध्यक्ष जगन्नाथ कोइराला, ठकुरी संगम परिवार कास्की अध्यक्ष यामबहादुर हमाल, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीलगायतले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए । एकता सभा कार्यक्रमको सञ्चालन अभियानका सचिव अर्जुन खनालले गरेका थिए ।
सभाअघि चिप्लेढुंगाबाट न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोकसम्म झाँकीसहितको ¥याली निकालिएको थियो । कार्यक्रमका लागि पृथ्वीचोकमा पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गरिएको थियो । उक्त प्रतिमा सालिक स्थापना नहुँदासम्म आफूहरुले नहटाउने अभियानका सचिव अर्जुन खनालले बताए ।
पोखरा: कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे सक्रान्ती मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् । यो उपाधिसँगै उनी २०६५ सालयता ८ पटक विजयी बनिसकेका...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त सम...
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन्&n...