नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
काठमाडाैं | पुस ७, २०८१
काठमाडौं: नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ ।
यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गर्नुभएको हो ।
यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो ।‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राख्नु भएको हो ।
यससँगै दिनेश २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ । यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रुपमा टप सप काठमाडौँ र शतिसाल आइआइसीका सञ्चालक न्यूयोर्कका सामाजिक अभियन्ता लकेश श्रेष्ठ हुनुहुन्थ्यो ।
उक्त फेस्टिबलमा मेक्सिको, जर्मनी, भारत, दक्षिण अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोङ्गो, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो ।
आफ्नो यो सफलता १२ वर्षदेखिको मेहनत र धैर्यताको प्रतिफल रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो रेकर्ड प्रयास गर्न सुरुआत गरेको १२ भयो, निरन्तर लागिरहे र आज सफल भएँ ।”
नयाँ पुस्ताहरुलाई पार्कर खेलमा अभिप्रेरित गरी खेलमार्फत देशको नाम विश्वसामु उँचो पार्न सकेकामा गौरवको महशुस गरेको बताउनुहुन्छ । साथै, उहाँले अमेरिकामा राखेको रेकर्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नै बताउँदै नेपाल र अमेरिकामा पार्कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय खेलाडी र प्रशिक्षक उत्पादन गर्नु आफ्ना लक्ष्य रहेको जानकारी दिनुभयो ।
उहाँले भविष्यमा पनि पार्कर खेलका माध्यमबाट नेपाल र अमेरिकाबीचको सांस्कृतिक, कूटनीतिक र खेलकुद सम्बन्धलाई सुमधुर बनाउने बताउनुभयो ।
काठमाडौं: आजदेखि नगद कारोबारमा ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबा...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मक) संक्रान्ति÷माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित ह...

