प्रकृति भूमिको पूजा गर्दै उधौली मनाइँदै
काठमाडाैं | मंसिर ३०, २०८१
भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा ।
यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।।
गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ ।
ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।।
धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै देखिन्छ । धरान–१० का पूर्णिमा राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताए ।
उनले भने, ‘हाम्रो पुर्खाहरुले मान्दै आउनु भएको किरातीहरुको महान् चाडपर्व हामीले बिर्सिनु हुन्न यसलाई हामीले संरक्षण गर्नुपर्छ । त्यसैले म त भाइबहिनी साथीभाईलाई पनि लिएर साकेला नाच्न आएकी हुँ।’
दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाचिरहेका छन्।
आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रकजस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरु पछिल्लो समय उद्यौली–उभौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन् । आज साकेला थानमा साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको छ।
धरान–१५ का सरोज राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताए । उनी भन्छन्, ‘आफ्नो पुर्खाले मान्दै आएको चाडपर्व हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ । हामीले साकेला आउनुभन्दा केही दिनअघिदेखि नै अग्रजहरुसँग प्रशिक्षण लिई साकेला नाच्न जान्छौं।’
साकेला आउदा छुट्टै रमाइलो हुने गरेको धरान–१८ का अविशेक राई बताउँछन् ।
उनले भने, ‘हामीले साकेलामा बान्तावा सिलिका रुपमा विभिन्न गीतहरु प्रस्तुत गरेर नाच्ने गर्छौ।आफ्नो सस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाइबहिनीलाई साकेला सिलीहरु सिकाएर धरानबाहेक हरु ठाउँहरुमा पनि नाच्न जाने गरेका छौँ।’
उधौली साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ। हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए ।
पूर्वका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोडलगायतका शहरी क्षेत्रहरुमा यस पर्व उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ । साकेला विशेषगरी उधौली र उभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ ।
बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उधौली अर्थात उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान–११ का चिन्तमणि राईको भनाइ छ ।
उनले भने, ‘पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाइने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ।’ पछिल्लो समय यो चलन लोप हुँदै गएको राईको भनाइ छ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

