कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...

काठमाडाैं | मंसिर १६, २०८१

कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...

काठमाडौं:    सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । 

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले हरायो । विराटनगरले दिएको एक सय २७ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।


त्रिवि क्रिकेटमा मैदानमा समर्थकको ‘क्रेज’ पनि उत्तिकै थियो । रङ्गशालामा दर्शकहरू खचाखच थिए । कोही रूखमा चढेर क्रिकेट हेर्न बाध्य भए भने केहीले टिकट काटेर पनि खेल हेर्न पाएनन् । 

    
शनिबार भएको एनपिएलकोे पहिलो खेल मध्याह्न सवा १२ बजे सुरू भएको थियो तर समर्थकहरू बिहान ९ बजेदेखि नै रङ्गशालामा पुगेका थिए । कीर्तिपुरमा जनकपुर बोल्ट्स र  विराटनगर किङ्गसका समर्थकहरूले प्लेकार्ड, नेपालको झण्डासहित मैदानमा पुगेका  थिए । 


तर, रङ्गशालामा जनकपुर र विराटनगरका समर्थक मात्रै थिएनन् । नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको उपस्थिति पनि बाक्लै थियो । उनीहरू कुनै टोलीको समर्थनमा नभएर नेपाली खेलाडीहरूको समर्थनमा खेल हेर्न पुगेका थिए । 

    
कीर्तिपुरमा हेर्न पुगेका क्रिकेटप्रेमीमध्ये एक हुनुहुन्थ्यो, अर्घाखाँचीका उत्तम गैरे । उहाँ बिहान १० बजे नै खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभएको थियो । उहाँले एनपिएलमा लुम्बिनी लायन्सको समर्थनमा रहेको बताउनुभयो । तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र अन्न विदेशी खेलाडीहरू खेल्ने भएकाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । नेपालको घरेलु क्रिकेट भएकाले कुनै टोलीभन्दा सबै टोलीप्रति आफ्नो समर्थन रहने उहाँले बताउनुभयो ।

    
“नेपाली अन्य विदेशी टोलीहरूसँग खेलेको भए, खुलेरै नेपालको समर्थनमा हुन्थे । तर यो घरेलु क्रिकेट हो”, रासससँग गैरेले भन्नुभयो, “नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्यहरू विभिन्न टोलीमा हुनुहुन्छ । आफू लुम्बिनी प्रदेशको बासिन्दा भएकाले लुम्बिनी लायन्सलाई समर्थन गर्नु स्वभाविक हो । तर, मेरो समर्थन सबै टोलीलाई छ ।”

    
कीर्तिपुरमा  मैदानमा पाल्पाकी राधिका सुवेदी पनि खेल सुरू हुनुभन्दा दुई घण्टा अगाडि नै पुग्नुभएको थियो । उहाँले पनि नेपाली क्रिकेटको समर्थनमा खेल हेर्न आएको प्रतिक्रिया दिनुभयो । 


“नेपालका इतिहासमा पहिलोपटक आयोजना भएको खेल हो । सबै टोलीको नेपाली खेलाडीले कप्तानी गर्नुभएको छ । उपाधि जसले जिते पनि त्यो जित नेपाली क्रिकेट कै हो”, सुवेदीले भन्नुभयो । 

    
पोखराका अमृतराज पौडेल पनि शनिबारको खेल हेर्न कीर्तिपुर मैदानमा पुग्नुभयो । आफू नेपाली क्रिकेट र खेलाडीको समर्थक भएको हुनाले खेल हेर्न पुगेको प्रतिक्रिया दिनुभयो । 


उहाँले नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको भविष्य उज्ज्वल रहेको पनि बताउनुभयो । पौडेलले भन्नुभयो, “म नेपाली क्रिकेट र नेपाली खेलाडीहरूको समर्थक हुँ । नेपाली क्रिकेट र खेलाडीहरूको भविष्य राम्रो छ । हामीले आफ्नो ठाउँबाट समर्थन गर्नुपर्छ ।”

    
कञ्चनपुरका चन्द्रप्रकाश रानाले पनि नेपाली खेलाडीहरूलाई ऊर्जा दिन खेल हेर्न आएको बताउनुभयो । मैदानमा केही क्रिकेट समर्थकहरूको ‘प्ले कार्ड’मा लेखिएको थियो, ‘नो म्याटर हुँ विल विन । इट इज द भिक्टोरी अफ नेपाली क्रिकेट ।’ नेपाली समर्थकले दिएको एउटै सन्देश थियो, ‘कसले जित्छ त्यो फरक पर्दैन । यो नेपाली क्रिकेटको जित हो ।’

    
बढ्दो क्रिकेट क्रेज
    
    
पछिल्लो केही वर्षयता नेपाली क्रिकेटको अवस्था पनि सुधारिँदै गएको छ । क्रिकेटमा नेपालमा मुहार फेरेसँगै क्रिकेट समर्थकहरूको क्रेज पनि बढ्दै गइरहेको छ । 

    
एनपिएलका लागि नेपाली समर्थकको क्रेज कतिसम्म बढेको थियो भन्ने उद्घाटन खेलको टिकट बिक्रीबाटै प्रस्ट आङ्कलन गर्न सकिन्थ्यो । क्यानले एनपिएलकोे उद्घाटन खेलका लागि १० हजार टिकट बिक्रीका लागि राखेको थियो । त्यसको २४ घण्टामै भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएका थिए अर्थात्, खेल सुरू हुनु तीन दिनअगावै नै सबै टिकट बिक्री भइसकेका थिए । 

    
यस्तो छ अन्य खेलहरूको टिकट मूल्य

    
सोमबारदेखि लिग चरणका अन्य खेलहरू हुँदैछन् । खेलहरूका लागि सामान्यतर्फ रू तीन सय र भिआइपीतर्फ रू पाँच सय टिकट मूल्य तय गरिएको छ । 

    
एनपिएलको ‘प्लेअफ’ का खेल हेर्न दर्शकहरूले सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू सात सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ रू पाँच सय र भिआइपीतर्फ रू एक हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ । 

    
एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गससहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् । 

    
सोमबार दुई खेल हुँदै

    
आज भने कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । 

    
आगामी सोमबार दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्नेछन् । त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्