पूर्वी तराईमा भाक्का खानेको भीड

झापा | मंसिर ६, २०८१

पूर्वी तराईमा भाक्का खानेको भीड

झापा:    उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्नुहुन्छ पाहानी राजवंशी र सुरु गर्नुहुन्छ माटाको भाडामा भाक्का पकाउन । यतिबेला उहाँको दैनिकी नै बनेको छ यो काम ।


मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० बर्षीया राजवंशी भाक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा विहान ४ः३० बजे नै पुग्नुहुन्छ । 


पूर्वपश्चिम राजमार्गको किनारमै रहेका कारण उहाँले पकाएको भाक्का खानेका लागि भीड नै लाग्छ । पकाएको भाक्का ग्राहकलाई बेच्न उहाँका श्रीमान भद्रु राजवंशीले सहयोग गर्नुहुन्छ । 


गोलभेडामा लसुन र अकबरे खुसार्नी मिसाएको पिरो अचारमा सालको पातमा श्रीमतीले बनाएको भाक्का प्रति गोटा रु १० का दरले बेच्न भद्रुलाई भ्याईनभ्याई नै हुन्छ । उहाँले दैनिक जसो २ हजारदेखि २ हजार ५ सयसम्मको भाक्का विक्री गर्दै आउनुभएको छ । 


भाक्का खानका लागि बिहान मर्निङवाकमा हिंड्नेहरु, विद्यार्थी र गाडीका यात्रुहरु हुन्छन् । पहानी राजवंशी मात्र होइन धुलाबारी चोक राजमार्ग किनारमा यतिबेला भाक्का बच्चेहरु आधा दर्जन जति छन् । 


उनीहरुले मङ्सिरदेखि माग मसान्तसम्म भाक्काको व्यापार गर्ने गर्छन् ।चिसो मौसम सुरु भएसँगै पूर्वी तराईको झापा र मोरङका अधिकांश चोक बजारमा यसरी नै भाक्का खानेको भीड लाग्न थालेको छ । 


धानको पिठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र अडिलो हुने हुँदा अधिकांश मानिसहरुले यसैलाई विहानको खाजाको रुपमा प्रयोग गर्ने गरेका छन् । 


प्रायः ग्रामीण वस्तीका आदिवासी समुदायका महिलाहरुले बिहान झिसमिसेदेखि नै पूर्वपश्चिम राजमार्गका किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरुमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर विक्री गर्ने गर्दछन् ।


यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको विहानको खाजा हुने गरेको छ । पूर्वी तराईको लोकप्रिय खानेकुराको रुपमा रहेको भाक्का सुरुमा राजवंशी समुदायका महिलाहरुले मात्र बनाउने गर्दथे । 


तर, यसको माग बढेपछि अहिले मेचे, धिमाल, ताजपुरिया र थारु महिलाहरुले समेत भाक्का बनाउन थालेका छन् । यसले राष्ट्रिय पहिचान पाइसकेका कारण प्रत्येक बर्ष पुस २९ गते झापामा विगत आठ बर्षदेखि भाक्का दिवस मनाउन थालिएको छ । 


भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्दाहमणि ओली बताउनुहुन्छ ।


राजवंशी समुदायको मौलिक खानेकुरा भाक्का अब सबै समुदायको साझा परिकार भएको उहाँ बताउनुहुन्छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्