विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ८ जना पक्राउ
काठमाडाैं | मंसिर ६, २०८१
फाइल तस्बिर
काठमाडौं: विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाइ रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाललाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिलाई ‘अन्डर कभर एजेन्ट’ भनी ज्यान मार्ने धम्की दिई रु ५० हजारदेखि रु २ लाखसम्म रकम माग गरेको आरोपमा प्रहरीले निजलाई शङ्खमुलबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका–३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठ हाँडीगाउँबाट पक्राउ परेका छन् ।
निजले सामाजिक सञ्जालमा सम्पर्क गरी विभिन्न बहानामा रु ७ लाख ७५ हजार विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यसैगरी आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन कालिका नगरपालिका–७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर पक्राउ परेका छन् ।
रचनाले हङ्गेरी पठाइदिन्छु भन्दै दुई जनाबाट रु १८ लाख र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै एकजनाबाट रु १ लाख लिई सम्पर्कबिहीन भएका थिए । रचनालाई काठमाडौँ महानगरपालिका–१२ बाट र प्रकाशलाई टोखा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।
नक्कली फेसबुक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगीमा संलग्न रहेको अभियोगमा पर्साको वीरगन्ज महानगरपालिका–३१ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–७ बस्ने २१ वर्षीय सुरज पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
निजले फेसबुकबाट दुबईमा वैदेशिक रोजगारका लागि सुवर्ण अवसर छ, भिजिट भिसामा दुबईमा आएर काम गर्न मिल्छ भनी विज्ञापन राखेर पीडितसँग रु २ लाख १५ हजार ठगेको प्रहरीले जनाएको छ । साथै बैंकिङ कसुर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीले बेनी नगरपालिका–९ की ३९ वर्षीया विष्णुमाया केसी, काठमाडौँ महानगरपालिका–१५ का ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर नगरपालिका–७ का ५२ वर्षीय राजेन्द्र तुईतुईलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिनुभयो ।
केसीले पीडितलाई खातामा पर्याप्त रकम मौज्दात नभएको रु १ करोड ५० लाखको चेक दिई फरार भएकी प्रहरीले जनाएको छ ।
महर्जन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले अघिल्लो जेठ २९ गते ५ दिन कैद, बिगो रु १६ लाख र रु ६४ हजार क्षतिपूर्तिबापत पीडित राहतकोषमा जम्मा गराउने ठहर गरेकामा उनी फरार भएका थिए ।
जिल्ला अदालत काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउपुर्जी जारी भई फरार रहेका तुईतुईलाई प्रहरीले भक्तपुर नगरपालिका–७ बाट पक्राउ गरेको हो ।
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...
उदयपुर: सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

