म्यागङमा सुन्तला टिप्न सुरु

नुवाकोट | कात्तिक २५, २०८१

म्यागङमा सुन्तला टिप्न सुरु

नुवाकोट:    सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । 


सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो रु एक सयभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् । 

    
विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताउनुभयो । उहाँले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिनुभयो ।

    
गत वर्ष प्रतिकिलो रु ८० मा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै रु एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताउनुभयो । “व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।”

    
म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पु¥याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताउनुभयो । 

    
“विसं २०६० मा सुरु गरेको सुन्तलाखेतीलाई अरु किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो । पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाँउ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ”, उहाँले भन्नुभयो ।

    
सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाँउपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताउनुभयो । उहाँका अनुसार म्यागङ–२ बुङ्ताङ, वडा नं ४ किम्ताङ, वडा नं ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन् ।

    
कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उपाध्यक्ष तामाङले बताउनुभयो । किसानलाई गाँउपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षत्रमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    
उपाध्यक्ष तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ । एक पटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । 

    
हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौँ, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

पोखरा: नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ । ...

थप पढ्नुहोस्

तनहुँ:  तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन्।  १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि...

थप पढ्नुहोस्

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राही खोज्दै सहर पसेका छन् ।  सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा...

थप पढ्नुहोस्