वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्ला | कात्तिक २०, २०८१

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्लाः   यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । 


विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् ।


८ वर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन सकेन ।


स्थानीय सरकार गठन भएपछि रु ५० लाखमा गाउँमा खानेपानी लिफ्टिङ योजना बनाइयो तर पानी आइपुगेन ।


यहाँका बासिन्दाले धित मरुन्जेल खानेपानी पिउन नपाएको पुस्तौँ भइसक्यो । विसं २०३५ मा निर्माण गरिएका चारवटा सार्वजनिक धारा छन् । 


यी धारामा दैनिक ४ घण्टाका दरले पानी आउँछ । गाउँमा रहेका दुई सय ६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । 


कहिलेकाहीँ धारामा पानी नआउँदा १ घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन् ।


४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदा पानीको सङ्कट झन् बढ्ने चिन्ता थपिएको छ । पानीको मूल विस्तारै सुक्न थालेको छ । 


मागअनुसार आपूर्ति नहुने भएकाले गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ ।


रारागाउँ वरपर पर्याप्त उर्वर जमिन छ । तर, सिँचाइ अभावले गाउँ मरुभूमिजस्तो देखिन्छ ।


गाउँको तलपट्टि कर्णाली राजमार्गको छेउबाट तिला नदी बगिरहे पनि खेतमा सिँचाइका लागि कुलो नभएको स्थानीयवासी मानसिंह रावतले गुनासो गर्नुभयो । 


“घरवरिपरिका करेसाबारी बाँझै छन, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने उर्वर जमिन त छ, तर सुक्खा छ,” रावतले भन्नुभयो, “नदीको पानी खेर गइरहेको छ ।”


१४ वर्षअघि खानेपानी आयोजना निर्माण थालिए पनि बिचमै रोकिएको थियो । उक्त आयोजना किन रोकियो, कति बजेट खर्च भयो भन्नेबारे स्थानीयले थाहै पाएनन् ।


सो आयोजनाका लागि ल्याइएको जिआई पाइपलगायतका केही निर्माण सामग्री तिला गाउँपालिका– ८, पुरुगाउँ खोलामा अहिले पनि लथालिङ्ग छन् ।


खानेपानीको समस्या समाधानका लागि हाल गाउँपालिकाले ४ करोडको योजना कार्यान्वयनमा ल्याएको छ ।


गत आर्थिक वर्ष २०८०ः८१ मा ६ करोडको ठेक्का आह्वान गरेकोमा चार करोडमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग ३ वर्षभित्र खानेपानी गाउँमा पु¥याउने गरी सम्झौता भएको छ । 


पहिलो चरणको काम सुरु भएको गाउँपालिका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले जानकारी दिनुभयो ।


गाउँमा ३ वर्षभित्र खानेपानी पुञ्याउने गरी सङ्घीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत राष्ट्रिय योजना आयोगबाट विनियोजन जम्मा बजेट रु ४ करोड ६९ लाखमध्ये गतवर्ष ५० लाख र यो वर्ष १ करोड ५० लाख क्रमागत रकम पालिकामा प्राप्त भएको हो ।


उक्त योजनाका लागि संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रम (यूएनडिपी) ले रु ९५ लाख सहयोग गरेको हो । 


सो योजनामा १ करोड १० लाख पालिकाले बजेट विनियोजन गरेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।


योजना छिटो सम्पन्न गर्न अनुगमनलाई प्राथमिकतामा राखिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।


तिला–६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर लामो छ ।


गाउँमा खानीपानी निर्माण योजनाको काम अघि बढेपछि स्थानीयवासीमा खुसी छाएको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्