जाडो बढे पनि पर्वतमा डेङ्गीका बिरामी घटेनन्

पर्वत | कात्तिक १०, २०८१

जाडो बढे पनि पर्वतमा डेङ्गीका बिरामी घटेनन्

पर्वत:   जाडोयाम सुरु भए पनि यस वर्ष जिल्लामा डेङ्गीका बिरामी घटेका छैनन् । आवश्यक सावधानी नअपनाउँदा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८९ ले बढेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

    
कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष साढे पाँच सय प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण भइसकेको छ । गत वर्ष दुई सय २५ मा सङ्क्रमण देखिएकामा यस वर्षको हालसम्म एक हजार पाँच सय १४ जना सङ्क्रमित भइसकेको उहाँले जानकारी दिनुभयो ।

    
अहिले पनि जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीमा सङ्क्रमण पुष्टि भइरहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्ने प्रमुख शर्माले बताउनुभयो । 


जाडो मौसम भए पनि बिरामीको सङ्ख्या बढिरहेको भन्दै डेङ्गी र मौसमी फ्लूका बिरामीले अहिले अस्पताल भरिभराउ बनेका उहाँले उल्लेख गर्नुभयो ।

    
स्वास्थ्य कार्यालयका प्रमुख शर्माका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक हजार एक सय ७१ जना छन् । यो कूल सङ्क्रमितको ८२।८१ प्रतिशत हो । 


त्यस्तै फलेवास नगरपालिकामा ७५, मोदी गाउँपालिकामा ४८, जलजला गाउँपालिकामा २३ जना, पँैयु गाउँपालिकामा सात, विहादी गाउँपालिकामा सात, महाशीला गाउँपालिकामा चार र बाँकी अन्य जिल्लाबाट आएकामा सङ्क्रमणको पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

    
लामखुट्टेको टोकाइ बढ्दै जाँदा डेङ्गीको जोखिम पनि बढ्दै जाने भएकाले सचेत हुन स्वास्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ । 


लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्नेगरी लुगा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
    
    
अस्पतालमा परीक्षण गरिएको तथ्याङ्कबाहेक निजी अस्पताल र क्लिनिकहरुमा पनि उल्लेख्य सङ्ख्यामा सङ्क्रमित फेला परेको जानकारी प्राप्त भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताउनुभयो । 


डेङ्गीसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको दैनिक चाप बढ्दै गएको भन्दै जटिल प्रकृतिका बिरामीको मात्र परीक्षण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । 

    
डा बास्तोलाका अनुसार दैनिक २० देखि ३० जना सङ्क्रमित भेटिएका छन् । सरकारले उपलब्ध गराएको डेङ्गी परीक्षण किट सकिएर अहिले आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएकाले जटिल लक्षण देखिएका बिरामीको मात्रै परीक्षण गर्न थालिएको उहाँले बताउनुभयो । बिरामी बढेकाले अस्पताललाई आर्थिक भार बढेको उहाँले बताउनुभयो । 

    
अधिकांश बिरामीले निजी मेडिकलबाट औषधि किनेर खाने गरेका औषधि व्यवसायीहरुले बताएका छन् । लक्षण देखिएका सबै बिरामी अस्पताल जाने सङ्क्रमितको सङ्ख्या अझै वृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

पोखरा:    गलकोटकी सृष्टि खड्काले ११ औं संस्करणको मिस पोखरा–२०२४ को ताज जितेकी छिन् ।   पोखरा १० काजीपोखरी निवासी खड्काले अन्तिम १६ प्रतिस्पर्धीलाई पछि पार्दै मिस पोखराको ताज जितेकी...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्नेगरी कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ ।   नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी स...

थप पढ्नुहोस्

काठमाडौं:    तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा ब...

थप पढ्नुहोस्