आजदेखि बीपी राजमार्गमा २४ सै घण्टा गाडी चलाउन खुला
काभ्रेपलाञ्चोक | असोज १, २०८२

काभ्रेपलाञ्चोक: यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेमा सोमबार बसेको सुरक्षा समितिको बैठकले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा खुला गर्ने निर्णय गरेको हो। यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाएर स्वीकृत सडक सुरक्षा कार्य योजनाबमोजिम यस्तो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ।
गत असार पहिलो सातादेखि रातिको समयमा बीपी राजमार्गमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो।
मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत पस्थान बिन्दु काभ्रेपलान्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो।
यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो।
काभ्रेको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा अहिले पनि जोखिम छ। काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो।
बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्याएको थियो।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा घि बढाइरहेको छ। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्।
काठमाडौं: वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि ...
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ...
काठमाडौं: जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियो...