बाढीपहिरो प्रभावितलाई नि:शुल्क स्वास्थ्य शिविर
ललितपुर | कात्तिक ८, २०८१
ललितपुर: नेपाल महिला सङ्घ केन्द्रीय समितिले गोदावरी नगरपालिका–१ स्थित गोदामचौरमा बाढीपहिरो पीडितलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
गोदावरी नगरपालिका स्वास्थ्य शाखाको समन्वय र वीर अस्पतालका चिकित्सकहरूको सहयोगमा आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहमा नेपाली कांग्रेस केन्द्रीय समितिले आफ्ना भातृ तथा शुभेच्छुक सङ्घ संस्थालाई आवश्यक राहत र सहयोगका कार्यक्रम गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशन बमोजिम स्वास्थ्य शिविर सञ्चालन गरिएको सङ्घका केन्द्रीय अध्यक्ष उषा राउतले जानकारी दिनुभयो ।
“यसअघि हामीले सङ्घको स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरुमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ, यसपटक वर्षाका कारण प्रभावित गोदावरी नगरपालिका–१ मा शिविर सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।
प्राकृतिक विपद् पश्चात पानीजन्य रोग र सङ्क्रमणबाट मानिसहरू प्रभावित हुनेहुँदा उक्त समस्या समाधानका लागि शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।
गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बाढीपहिरोबाट प्रभावित नगरबासीहरुका निमित्त स्वास्थ्य शिविर सञ्चालन गरिनु सराहनीय कार्य भएको बताउनुभयो ।
गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीरमण कार्कीले नगरवासीको हितका निमित्त शिविर सञ्चालन गरेकामा आयोजकलाई धन्यवाद दिँदै नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
शिविरमा खटिनुभएका वीर अस्पतालका डा अजय पासवानले जनस्तरमा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सो वडाका वडाअध्यक्ष श्रीराज थापाले शिविर सञ्चालनबाट बाढीपहिरो पीडितहरु लाभान्वित भएको बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

