स्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता

मनाङ | असोज १, २०८१

स्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता

मनाङ:   हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा एकअर्कामा सञ्चार गर्न पनि मुस्किल छ । यस पालिकाका विभिन्न वडाबाट ‘मोबाइल’मार्फत सञ्चारसँग जोडिन समस्या  हुने गरेको हो । 

    
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामा मोबाइलबाट सञ्चारसँग जोडिन झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । स्मार्ट फोनको समयमा उहाँसँग स्मार्ट फोन नभएर होइन । 


उहाँ भन्नुहुन्छ, “स्मार्ट फोनको युग छ । फोन स्मार्ट भएर नहुने । मोबाइलको टावर नै टिप्दैन । अग्लो र कता टिप्छ भन्दै हिँड्न बाध्य छौँ । कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले भेट्छ । न त यो विकटमा यही टुकटुके नै उपयोगी छ ।” 

    
मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई सास्ती भोग्नुपरेको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै भौँतारिनुपर्ने बाध्यता रहेको छ । नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँचवटै वडाका स्थानीयलाई यस्तो समस्या भोग्न बाध्य छन् । 
    
    
वडा नं. १ का वडाध्यक्ष फुर्वाठेले लामाले गाउँपालिकाको केन्द्र च्याँखुमा नै सबैभन्दा बढी समस्या भोग्नुपर्ने बताउनुभयो । नेपाल टेलिकमको नमस्ते मोबाइलको ‘टुजी’ मात्र चल्ने भएकाले यसलाई स्तरोन्नति गरी ‘फोरजी’ बनाए स्थानीयलाई सुविधा पुग्ने उहाँको भनाइ छ । क्याङमा पनि ‘टेलिफोन’ सुविधा राम्रो नहुँदा सास्ती बेहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

    
यहाँ ‘मोबाइल नेटवर्क’ मात्र होइन बिजुलीको पनि समस्या रहेको छ । ‘सोलार’मा समस्या नभए मोबाइल नेटवर्क पनि चल्ने र ‘चार्ज’ नहुँदा समस्या हुने गरेको छ । यसको स्थायी समाधानका लागि बिजुली नै अन्तिम विकल्प रहेको वडाध्यक्ष लामाको जोड छ । राम्रोसँग मोबाइल नचल्दा स्थानीय मात्रै होइनन्, कर्मचारीलाई पनि हैरानी व्यहोर्नुपर्ने अवस्था छ । 

    
नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले राम्रोसँग फोनको टावर नटिप्दा काम गर्न धेरै सकस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय लघु जलविद्युत् भएका स्थानमा टावर चार्ज हुँदा काम गर्छ । टावरमा चार्ज नहुँदा काम नगर्ने यहाँको प्रमुख समस्या नै हो ।” 


उहाँले सम्पर्क गर्ने माध्यम टेलिफोन नै राम्रोसँग नचल्दा बिरामीलाई अझ बढी समस्या हुने गरेको बताउनुभयो । गण्डकी प्रदेशको सबैभन्दा विकट र अहिलेसम्म सडक सञ्जालले छुन नसकेको एउटै मात्र पालिका नार्पाभूमि हो । 


उहाँले भन्नुभयो, “प्रदेश तथा सङ्घीय सरकारको नजरमा नपरेर पनि होला नार्पाभूमिमा दुःखैदुःख भोग्न बाध्यता छ । यहाँ हत्तपत्त कर्मचारी आउनै मान्दैनन् । काम गर्न पनि धेरै समस्या छ ।” 

    
नार्पाभूमि – ४ कावडाध्यक्ष कर्मग्यान्जे लामाले मोबाइलको टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 


वडा कार्यालयमा पटक्कै टावर लाग्दैन जसले गर्दा आफूले पनि कार्यालयको काम परेमा गाउँमा टावर टिप्ने ठाउँमा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको उहाँको दुखेसो छ । 


उहाँले भन्नुभयो, “दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक काम पर्दा आफन्तलाई फोन सम्पर्क गर्न सकिँदैन । वडामा मोबाइलको टावर छैन । वडा कार्यालयभित्र मोबाइल फोन नचलेपछि कसरी काम गर्ने ?” नेपाल टेलिकम मनाङ शाखा कार्यालयमा समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष लामाले बताउनुभयो । 

    
यहाँका स्थानीयले फोन गर्नुपर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता छ । कुनै आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नुपरेमा निकै समस्या हुने गर्दछ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जोतेन्जिङ लामा झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्न बाध्य हुनुहुन्छ । 


उहाँसँग स्मार्ट फोन नभएको होइन तर मोबाइलको टावर नभेटिँदा समस्या हुने गरेको छ  । उहाँले भन्नुभयो, “फोन मात्र स्मार्ट भएर नहुने रहेछ । मोबाइलको टावर नै आउँदैन । कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले भेट्छ । त्यसैले दुर्गममा यही फोन प्रयोग गर्ने गरेको छु ।” 

    
मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या हुँदै आएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातर्फ भौँतारिनु परेको छ । नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँचवटै वडाका स्थानीयलाई यस्तो समस्या छ । 

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्