सत्रौँ दसैँगीत ल्याउँदै विष्णु खत्री
पाेखरा | असोज १, २०८१
गण्डकी: दसैँगीतका पर्याय बन्नुभएका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दसैँगीत ल्याउने तयारी गर्नुभएको छ । बडादसैँको अवसर पारेर उहाँको नयाँ गीत ‘रित्तो भकारी...’ सार्वजनिक हुन लागेको हो ।
विसं २०६४ यता खत्रीले सालिन्दा दसैँगीत ल्याउँदै आउनुभएको छ । उहाँको पहिलो दसैँगीत ‘सुनको जलप...’ हो । उक्त गीत तत्कालीन समयमा चर्चित बनेको थियो ।
पछिल्लो समय खत्रीले गीत सार्वजनिक गरेपछि दसैँको माहोल आउने श्रोतारदर्शकको प्रतिक्रिया छ । ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ’ भन्ने प्रतिक्रिया आउने गरेको उहाँले बताउनुभयो ।
“यसपालिको गीतले देशको वर्तमान अवस्था र नेपालीको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ”, खत्रीले भन्नुभयो, “गीतको चलदृश्य छायाङ्कनको काम भइरहेको छ, चाँडै मेरो युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी छ ।”
सत्र वर्षको अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विष्य, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उहाँका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख, बेदना समेटिएका पाइन्छन् । मार्मिक सिर्जना र ग्रामीण परिवेशको झझल्को खत्रीका दसैँगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत हुनुहुन्छ ।
“हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ”, खत्रीले भन्नुभयो, “दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।”
दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय खत्रीका बडादसैँ, तिहार, तीजजस्ता पर्वका अवसरमा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमार्फत उठान गरिरहनुहुन्छ । गत वर्षको बडादसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा...’ ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दसैँ–तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । पहिलो दसैँगीत ‘सुनको जलप...’ मा खत्रीलाई गायिका विमाकुमारी दुराले साथ दिनुभएको थियो ।
पछिल्ला गीतमा उहाँले विभिन्न गायिकासँग सहकार्य गर्दै आउनुभएको छ । प्रायः सबै गीतमा शब्द र सङ्गीत गायक खत्रीकै हुन्छ । खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् ।
बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका उहाँ सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहनुभएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

