सार्दीखोलामा २५ मेगावाटको जलविद्युत् आयोजना: परीक्षण उत्पादन सुरु हुँदै
पाेखरा | साउन २९, २०८१
कास्की: पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।
“आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ”, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भन्नुभयो ।
‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ ।
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ ।
पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ ।
सो आयोजना नदी जलप्रवाहमा आधारित छ । कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताउनुभयो । उहाँले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”
सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।
यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताउनुभयो ।
सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो ।
कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताउनुभयो ।
पोखरा: पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेल...
पोखरा: अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएक...
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

