गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

पाेखरा | साउन २८, २०८१

गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

गण्डकी:   पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । 


सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन् । पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन् । 

    
यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको सार्वजनिक यातायात अस्तव्यस्त देखिन्छ । 

 

घुमफिर, किनेमेल आदिका लागि पोखरा आएका सर्वसाधारण पनि साँझ गाडीमा कोचाकोच गरेर घर फर्कनुपर्ने अवस्था छ । बागलुङ बसपार्कदेखि दमौलीका लागि छुट्ने बस पृथ्वीचोकसम्म पुग्दा यात्रु खचाखच भइसकेका हुन्छन् । 

    
बसका चालकले भने यात्रु चढाउन छोड्दैनन् । बसमा सिट नभए पनि ठाउँठाउँमा रोक्दै यात्रु डाकिरहेका हुन्छन् । ट्राफिक प्रहरी भेटिँदा बसको ढोका बन्द गर्छन् । उभिएका यात्रुलाई भुइँतिर निहुरिएर बस्न अ¥याउँछन् । 

 

अर्को विकल्प नभए पनि यात्रु पनि घर जाने हतारले गाडीमा उभिन तयार हुन्छन् । यात्रु चढ्न र झर्न पनि मुस्किल हुनेगरी बसले यात्रु ओसारिरहन्छन् । कोचाकोच हुनेगरी यात्रु नचढाउन गरेको आग्रहलाई चालक र सहचालकले टेर्दैनन् । उल्टै नमीठो जवाफ फर्काउँछन् । 

    
दिउँसोको समयमा कम यात्रु लिएर हिँड्नु परेकाले साँझ–बिहान सिट सङ्ख्याभन्दा बढी यात्रु चढाउनुपर्ने बाध्यता रहेको उनीहरु सुनाउँछन् । ट्राफिक प्रहरीले बेवास्ता गर्ने भएकाले चालकलाई नियम मिच्न पनि सजिलो छ । दमौलीका लागि छुट्ने बसले अधिकांश स्थानीय यात्रुलाई सेवा दिँदै आएको पोखरा–दमौली चल्ने बसका सहचालक दीपक परियारले बताउनुभयो । 

    
दमौली जाने बसमा पोखराकै चलाउँथे, विजयपुर, अर्घौं, तालचोक, भण्डारढिक, गगनगौँडालगायत ठाउँमा पुग्ने यात्रुलाई सेवा दिँदै आएको उहाँको भनाइ छ । पोखरा–मुग्लिन राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलाइले पनि सो क्षेत्रको आवातजावात कठिनाइपूर्ण रहेको उहाँले बताउनुभयो । 

    
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ हबल्दार आशिष क्षेत्रीले कुनै पनि सवारी साधनले सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्न नपाइने बताउनुभयो । 

 

पोखरा–दमौली, पोखरा–बेगनासलगायतका रुटमा चल्ने सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आइरहेकाले ट्राफिक अनुगमनलाई कडाइ गरिने उहाँको भनाइ छ ।

 

“लामो दूरीका गाडीमा त यो समस्या छैन”, उहाँले भन्नुभयो, “पोखरा महानगर र बाहिरका नजिकका गन्तव्यसम्मको सार्वजनिक यातायातमा देखिएको समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ।” स्थानीय रुटमा चल्ने सवारी साधनले विशेष समय र परिस्थितिमा एक÷दुई यात्रुलाई उभ्याएर यात्रा गराउँदा ट्राफिक प्रहरीले व्यवहारिता हेर्ने गरेको वरिष्ठ हबल्दार क्षेत्रीले बताउनुभयो । 

    
“खचाखच यात्रु उभिएरै यात्रा गरेको अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्छ”, उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापन र अनुगमनलाई अझ चुस्त पार्छौँ ।” 

 

उहाँले ट्राफिक प्रहरीको आँखा छलेर ट्राफिक नियम उल्लङ्घन नगर्न यातायात व्यवसायी र सवारी चालकहरुलाई आग्रह गर्नुभयो । तोकिएको सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्दा गाडी दुर्घटनाको जोखिम बढी हुने उहाँको भनाइ छ । पोखरा–मुग्लिन सडक निर्माणको चरणमा रहेकाले उक्त सडकमा बढी यात्रु बोकेर सवारी साधन गुडाउँदा यात्रा कष्टकर हुने र दुर्घटनाको खतरा रहने ट्राफिक प्रहरीको भनाइ छ ।

    
जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यान्त्रिक धेरै पुराना र प्रदूषणयुक्त सवारी साधन सञ्चालनमा कडाइ गरिएको बताउनुभयो । यान्त्रिक हिसाबले सही अवस्थामा नरहेका धेरै पुराना सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढी हुने उहाँले उल्लेख गर्नुभयो । “पुराना सवारी साधनबाट वायु र ध्वनी प्रदूषण पनि बढी हुन्छ, सवारी व्यवस्थापनमा पनि असहजता ल्याउँछ”, प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।

    
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा दर्ता भई २० वर्ष नाघेका झण्डै चार सय सवारी साधन छन् । 


प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ ले समेत २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाए पनि कतिपय सवारी धनीले अटेर गरी त्यस्ता सवारी साधन सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । 


बीस वर्ष पुराना सवारी साधन सञ्चालन गरेमा प्रदेशको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ मा भएको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था छ । मन्त्रालयले २० वर्ष नाघेका सवारी साधनको लगतकट्टा गरी दर्ता खारेजीको प्रक्रियामा आउन सवारी धनीलाई अनुरोध गर्दै आएको छ ।

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्