माग बढेपछि किसान कोदो खेतीतर्फ आकर्षित

म्याग्दी | साउन २४, २०८१

माग बढेपछि किसान कोदो खेतीतर्फ आकर्षित

म्याग्दी:     वर्षौदेखि बाँझो रहेको नौ रोपनी बारीमा प्राङ्गारिक मल हाली हाते ट्याक्टरले जोतेर खन्न सजिलो भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मनबहादुर बूढाले चार दिन लगाएर बारीमा कोदो रोप्नुभयो । 


यस्तै मङ्गगला गाउँपालिका– ५ की विमला रोकाले विगत वर्षमा खेती गर्ने जागर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्नुहुन्थयो । तर,यस वर्ष रु चार हजार खर्च गरेर खनजोत गरेपछि पाँच रोपनी बारीमा खेताला लगाएर कोदो रोपेको बताउनुभयो । 


पछिल्लो समय माग ग्रामीण तथा सहरी क्षेत्रमा बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । गाउँमा आयातित मदिरा भन्दा कोदोको मदिरा बढी रुचाइन थालेपछि उत्पादिन कोदो रु दुई सय ५० प्रतिपाथी गाउँमा नै खपत हुन थालेको छ । 


त्यसैगरी सहरमा कोदोको परिकारप्रति आन्तरिक तथा बाह्य  पर्यटकको आकर्षण बढ्न थालेपछि यहाँका किसान कोदो खेतीतर्फ आकर्षित भएका मालिका गाउँपालिका–६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । 


पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका साथै उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यसवर्ष कोदो खेती विस्तार गरिएको छ ।  “मकै र गहुँको भन्दा कोदोको खोजी बढी हुन थालेको छ”, मालिका गाउँपालिका–६ का वडासदस्य छरदेवी घर्तीले भन्नुभयो “अरु अन्न बिक्री गर्न कठिन हुन्छ । तर कोदो खोज्न ग्राहक घरघरमा नै आइपुग्छन् ।”


केही वर्षअघिसम्म घर अगाडिको भिरालो बारीमा वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका निस्कोट, रुम, देवीस्थान, ओखरबोट, डाँडागाउँलगायतका धेरै गाउँमा गत  वर्षदेखि कोदोखेती विस्तार गरिएको छ । पश्चिम म्याग्दीका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आएका छन् । पछिल्लो समय गाउँबाट सहर गएका नागरिक बर्खामा गाउँ फर्केर आफ्नो बारीमा कोदो रोप्ने गरेका छन् । 


“सहरमा कोदोको माग बढी छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला ९कृषि मजदुर० खोजी चार दिन लगाइ कोदो रोपेँ”, मङ्गला गाउँपालिका–२ का याममती रोकाले भन्नुभयो । पछिल्लो समय गाउँ घरमा पनि जाडोको समयमा कोदोको ढिँडो र रोटी खाने बानीको विकास हुँदै गएको छ ।


“बजारबाट ल्याएका चाउचाउ, बिस्कुट, चिउरा, भुजा, नमकिन लगायतका वस्तुलाई खाजाको रुपमा प्रयोग गर्ने क्रम घट्दै गएको छ, गाउँलेले पाएसम्म गाउँकै उत्पादनलाई खाजा र खानाको रुपमा प्रयोग गर्न थालेका छन् । सबैको रोजाइमा कोदो पर्दैगएको छ”, दरबाङको केवी एकेडेमीका शिक्षक मीन सुनारले भन्नुुभयो । उहाँका अनुसार उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरिन्छ ।


विगतका वर्षमा गाउँघरमा कोदोको उत्पादन कम हुँदै जाँदा सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्ने चलन भने बढ्दै गएको थियो । कोदोको भनेजति मूल्य पर्न थालेपछि गाउँका किसान कोदो खेतीतर्फ आकर्षित भएका र यस वर्ष गाउँभरी नै कोदो खेती गरिएको छ । 


म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, दरबाङ, सिंगा तातोपानी, भुरुङ तातोपानी लगायतका बजार क्षेत्रका होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका होटल व्यवसायीले बताएका छन् । 


एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । 

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्