‘बुकी’बाट बेँसी झर्न थाले गोठाला
म्याग्दी | असोज १५, २०८०
म्याग्दी: गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।
धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताउनुभयो । “वैशाखमा उभौलीको पूजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउँदै गरेको घाँस खुवाउँदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो”, उहाँले भन्नुभयो, “तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको ल्योस (घाँस) खुवाउन ल्याएको हो ।”
दसैँमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेँसीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताउनुभयो । गोठ बेँसी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महसुस गर्छन् ।
पोसिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् । गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् ।
महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ । करिब तीन÷चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धौलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताउनुभयो ।
“पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो । घ्यूले पुग्दथ्यो । मोही धेरै भएर खोलामा फाल्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले गोठ राख्ने ठाउँसम्म नै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नुपरेन । घ्यू र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ ।”
एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन् । बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकाको कृषकको लागि छुट्टाइएको छ ।
पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् । यसपालि बुकीमा लम्पी स्किन रोग फैलिएपछि धेरै गाईगोरु बिरामी भए र केही मरेका कृषकले बताएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बुकीको गोठमै पुगेर लम्पी स्किनबाट बिरामी परेका गाईगोरुको उपचार र खोप लगाइएको बताउनुभयो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

