फिर्केखोलामा १ सय ६० संरचना निर्माण भएको सिमाङ्कन टोलीको निष्कर्ष

पाेखरा | असोज ६, २०८०

फिर्केखोलामा १ सय ६० संरचना निर्माण भएको सिमाङ्कन टोलीको निष्कर्ष

पोखरा:   पोखरा महानगरपालिका १८ अधेरीकुना हुँदै बगेर पोखरा १७ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलामा १ सय ६० वटा स्थायी, अस्थायी रुपमा संरचना निर्माण भएको सिमाङ्कन टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ । 


पोखरा महानगरपालिकाले झण्डै १ महिना लगाएर सिमाङ्कन गरेको फिर्केखोलाको प्रतिवेदन सिमाङ्कन टोलीका संयोजक वासुदेव घिमिरेले आज शनिबार पोखरा नगरप्रमुखलाई बुझाएका थिए । फिर्केखोलाको वास्तविक खोलाघर पत्ता लगाउन पोखरा महानगरपालिकाले घिमिरेको नेतृत्वमा समिति गठन गरेर फिर्केखोलाको सिमाङ्कन गरेको थियो । 


सिमाङ्कन टोलीको प्रतिवेदन अनुसार फिर्केखोलामा १ सय ६० संरचना खोलाघरमै निर्माण भएको उल्लेख गरिएको छ । जसमा अस्थायी संरचना ९७ वटा, स्थायी संरचना ३५ वटा , संघसस्थाका अस्थायी संरचना १० वटा र संघसस्थाका स्थायी संरचना १८ वटा निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,‘ कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो ।’
फिर्के खोलाको खोलाघरमा व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 


संस्थागत रुपमा फिर्के अतिक्रमण गरेर अस्थायी संरचना खडा गर्नेमा सशस्त्र प्रहरी बल, बराल समाज, पुन समाज, सोंपाल तमू समाज, व्यर्थन महिला समूह, राधाकृष्ण मन्दिर, सामुदायिक भवन छन् ।


त्यस्तै, फिर्के अतिक्रमण गरेर स्थायी संरचना निर्माण गर्नेमा स्कुल, मन्दिरदेखि, समाजघरदेखि लायन्स क्लबसम्म छन । प्रतिवेदनअनुसार फिर्केमा स्थायी संरचना बनाएकाहरु लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, बराल समाज मन्दिर, सोंपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, फोटोग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन, पुनमगर समाज घर, बराल कल्याण मन्दिर, लायन्स क्लब, इलेक्ट्रिक एसोसियसन, फिर्के तमु समाज आदि छन ।


सर्वेक्षण टोलीले खोलामा फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनमा औंल्याएको छ ।


खोलामा बग्ने विषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेकोसमेत प्रतिवेदनमा उल्लेख छ । सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ ३ सय ३ र पूर्वतर्फ २ सय ८५ वटा सीमा स्तम्भहरु गाडिएको छ ।


टोलीले साउन ३ देखि भदौ २ गतेसम्म नापजाँच गरेको थियो । मानवीय अतिक्रमण र प्रदूषणका कारण फिर्केखोलाको अवस्था पछिल्लो समय अस्तित्व रक्षाको संकटपूर्ण घडीमा पुगेको छ । 


साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६  र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको प्रतिवेदनमा उल्लेख छ ।


खोलाघरमै मापदण्ड विपरीत पक्की संरचनाहरु निरन्तर निर्माण भइरहेकाले खोलाघरको हरियालीमा ह्रास सिमाङ्कन टोली संयोजक पौडेलले बताए । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्