काठमाडौं:   सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष ...

बागलुङ:   उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ ।   पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वीरुकुमको सिमानामा रहेको यो ताल निसीखोला गाउँको चिनारीका रूपमा लिइन थालिएको छ ।   जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार–प्रसार तीव्ररूपमा हुन थाल्यो । गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयवासीले गरेका थिएनन् । अहिले यो क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ ।   सो क्षेत्रमा पुस–माघमा पर्यटक गाडी लिएरै हिउँ खेल्न र वैशाख, जेठ र असारमा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् । स्थानीय विकास घर्तीमगर लोकमार्ग कालोपत्र भएपछि यहाँ पर्यटकको आगमन बढेको बताउनहुन्छ । “पहिले–पहिले त यहाँ खासै मान्छे आउँदैनथे, यो ठाउँमा गोठालाले भेडाबाख्रा र गाईभैँसी चराउने गर्थे, मोटरबाटो कालोपत्र भएपछि त दैनिक सयौँ मान्छे गाडी लिएर घुम्न आउने गरेका छन्, अहिले त ताल पनि राम्रो बनेको छ, पहिलेको जस्तो छैन ।” यहाँ अहिले सडकले गर्दा बस्ती विस्तार हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अझै पनि यहाँबाट गोठालाले पानी भरेर उपयोग गर्ने गर्छन्, यो अहिले व्यवस्थित भएको छ, गाउँपालिकाले संरक्षण गर्न थालेको छ, पर्यटक आउन थालेका छन् ।” पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिगताल पातीहाल्नेबाट १५ मिनेट उत्तरतर्फ पर्छ ।   अहिले उक्त तालसम्म पुग्नका लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । गाउँपालिकाले यस क्षेत्रको प्रचार–प्रसार र पूर्र्वाधार निर्माणका गर्न थालेको अध्यक्ष घर्तीमगरको भनाइ छ ।   उहाँले यसको विकासका लागि डिपिआर तयार पारेको, तालसम्म पुगको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने योजना बनाएको बताउनुभयो । “ताललाई थप आकर्षक बनाउन केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरी योजना बनाएका छौँ, केही काम भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौँ, यहाँका समस्या समाधान गरेर यस क्षेत्रको विकास गर्ने खाका तयार पारिसकेका छौँ, केही समयपछि यहाँ पूर्वाधार निर्माण हुनेछन् ।”   रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आउनुभएका प्रवेश केसीले सामाजिक सञ्जालमा जिकै भाइरल भएकोले हेर्न आएको बताउनुभयो । उहाँले यो ठाउँमा आउने सडक पनि राम्रो भएको हुँदा बिदाको दिनमा घुम्न आउन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ यो ताल निकै रमणीय रैछ, मैले त फेसबुकमा देखेको थिएँ, अहिले यहाँ प्रत्यक्ष उपस्थित भएर घुम्न पाउँदा निकै ‘एक्साइटेड’ भएको छु ।”   रिगतालको नाम खासगरी मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वतलगायतका ठाउँको दृश्य देख्न सकिन्छ । अन्नपूर्ण, धवलागिरिलगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण:   कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङ, घलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।    पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।    पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यावसायी अमृत गुरुङले जानकारी दिनुभयो । कोरोनाका समयमा पर्यटकका लागि बन्द रहेको गाउँ गत वर्ष असोज १ गतेदेखि खुला गरिएपछि पाहुना जाने क्रम सुरु भएको उहाँले बताउनुभयो । यो वर्ष झन् थामिनसक्नु पर्यटक घान्द्रुक पुगेको उहाँले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “शुक्रबार र शनिबार घान्द्रुकका होटल र होमस्टे सबै भरिभराउ भए । त्यसैले घान्द्रुक घुम्न आउँदै हुनुहुन्छ भने पूर्वजानकारी गराएर मात्र आउनुहुन अनुरोध गर्दछु ।” शुक्रबार दुई हजार तीन सयको हाराहारीमा पर्यटक त्यहाँ पुगेको थिए । तीमध्ये दुई हजारले बास भएको उहाँले जानकारी दिनुभयो । बाँकी लगभग तीन सय पहुना बास नपाएर फर्कन बाध्य भएको उहाँले सुनाउनुभयो ।   घान्द्रुकमा पाहुना राख्नका लागि ५० को हाराहारीमा होटल र २० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । यसमा पाहुना धेरै भएको अवस्थामा १० घर जतिमा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । सत्तरी–असी होटल होमस्टेमा एक दिनमा दुई हजारसम्म मात्र पाहुना राख्न सकिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।    कास्कीको अर्को पर्यटकीय गाउँ सिक्लेसमा पनि दैनिक एक हजार पर्यटक पुग्ने गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । “सिक्लेसमा ५०–६० जनासम्म राख्न सक्ने होटल १५ वटा छन्, दर्ता भएका नभएका गरी २७ होमस्टे छन्”, उहाँले भन्नुभयो, “होटल र होमस्टेमा गरेर दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म राख्न सकिन्छ । यतिबेला सबै प्याक छन् ।” सिक्लेस नजिकैको गाउँ ताङतिङमा पनि उत्तिकै सङ्ख्यामा पर्यटक पुग्ने गरेको गुरुङले बताउनुभयो ।   ग्रामीण क्षेत्रमा हाउसफुल हुँदा पोखरामा भने सोचेजस्तो पर्यटक नभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । “पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । यसले व्यवसायीमा आशा त जगाएको छ”, उहाँले भन्नुभयो, “तर हामीले सोचेको जस्तो बढेको चाहिँ होइन । अब यो कतिसम्म जान्छ भन्ने हो । यो क्रम बाह्रैमास भएमा पर्यटन क्षेत्र उकासिन्छ ।” उहाँले पोखरा भित्रने बाटो बन्दै गरेकाले छिटो निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । “बाटो बन्नु भनेको हाम्रा लागि राम्रो कुरा हो तर बाटो बन्दै गर्दा वैकल्पिक बाटो पनि सरकारले बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसो भयो भने पर्यटक जाममा नपर्ने गरी समय जोगिन्छ ।”   होटल सङ्घ पोखरा पनि पोखरामा सोचेजस्तो पर्यटक नआएको जनाएको छ । अहिले पोखराको होटेल ‘अकुपेन्सी’ २० देखि ३० प्रतिशत हाराहारी रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । “पछिल्ला समय केही आशा जगाएको छ”, उहाँले भन्नुभयोे, “केही होटलमा ५० प्रतिशत जति छ केहीमा १०–२० प्रतिशत, त्यो हिसाबले एभरेजमा २०–२२ प्रतिशत अकुपेन्सी छ ।” नवौँ राष्ट्रिय खेलकुद हुने समयमा ६०/७० प्रतिशत अकुपेन्सीको भए पनि पछिल्लो समय घटेको सुवेदीको भनाइ थियो ।   कोरोनाभन्दा अघि यही समयमा कोठा नपाएर भनसुन गर्नुपर्ने अवस्था रहेको उहाँले विगत सम्झनुभयो । सङ्घसँग आवद्ध चार सय २५ होटल छन् भने उत्तिकै सङ्ख्यामा सङ्घमा आवद्ध नभएका होटल पोखरामा रहेको उहाँले जानकारी दिनुभयो ।

बागलुङ : ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा नौ नाउर र छ झारलको सिकार अनुमति दिएको थियो ।   केही सिकारी सिकार खेलेर फर्किसकेका छन् भने कोही आरक्ष पुग्ने सुरसारमा छन् । सिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीका अनुसार तोकिएका कोटामध्ये पाँच नाउर र दुई झारलको सिकार भइसकेको छ ।   उहाँको कम्पनीमार्फत ढोरपाटन पुग्नुभएका जर्मन सिकारीले फागुने ‘ब्लक’मा झारलको सिकार गरेर फर्किसक्नुभएको छ । नाउर सिकारका लागि केही दिनमा अमेरिकन सिकारीसहित जाने तयारी भइरहेको प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो ।   ‘बार्से’ ब्लकमा नाउरको सिकार गरिनेछ । “हाम्रो कम्पनीमार्फत नाउर सिकारका लागि क्यानेडियन नागरिक पनि आउने तय भएको थियो, अस्वस्थताका कारण अन्तिममा उहाँ आउन सक्नुभएन”, प्रबन्ध निर्देशक पराजुलीले भन्नुभयो, “अरु पनि केही सिकारी नआएका कारण तोकिएजति नाउर र झारलको सिकार नहुने भएको छ ।”   सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले दुई अमेरिकन सिकारी दोगाडी र घुस्तुङ ‘ब्लक’मा सिकार खेलेर गत मङ्गलबार फर्किएको बताउनुभयो । “यही कात्तिक २ गते आरक्ष पुगेको हाम्रो कम्पनीको सिकार टोली झण्डै दुई साता त्यहाँ बिताएर फर्किसकेको छ”, उहाँले भन्नुभयो, “यो यामको सिकार अब अन्तिमतिर आइपुगेको छ, आउँदो मङ्सिर दोस्रो साताभित्र सबै फर्किसक्छन् ।”   आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । सिकार खेल्न खर्चिला पर्यटक ढोरपाटन आउँछन् ।   विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी सिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा एउटा नाउर सिकारमा रु २० लाख र झारललाई रु छ लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताउनुभयो ।    सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् ।   सिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ खर्चन्छन् । उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । आधारशिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगीसहित उनीहरू सिकार ‘ब्लक’सम्म पुग्छन् । आधारशिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ‘ब्लक’मा पुग्न दुई÷तीनसम्म लाग्छ ।    सिकार टोली हतियारसहित सबै बन्दोबस्ती लिएर जाने गर्छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सिकारीले ‘बल्क’ अनुसार तोकिएको सङ्ख्यामा नाउर र झारलको सिकार गर्न पाउने आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।   हरेक पाँचरपाँच वर्षमा गरिने नाउर र झारलको गणनाका आधारमा विभागले सिकारको कोटा तोक्ने गरेको उहाँको भनाइ छ । अहिले वर्षमा २० नाउर र ११ झारलको सिकार गरिँदै आएको छ । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन् ।    सौखिन र खर्चिला सिकारी पर्यटकको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । ढोरपाटनको सिकार पर्यटनबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा जम्मा हुन्छ । 

दमौली : सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् ।    मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिनुभयो । “यस वर्षको सबैभन्दा बढी भीड आज भएको छ, पाँच हजारभन्दा बढीको उपस्थिति छ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको आगमनले सवारी व्यवस्थापनमा समस्या भएको थियो ।”   व्यास नगरपालिका–२ निवासी कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रबद्र्धनमा टेवा पु¥याएको बताउनुभयो । “सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ”, उहाँले भन्नुभयो, “हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हे¥यौँ ।”   केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन् । होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताउनुभयो ।    चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन् । चिसो मौसममा कुहिराले दमौली बजारलाई ढपक्क ढाकेको छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमशृङ्खला ।    पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उहाँको भनाइ छ ।    मानुङकोटबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।   दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।    मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।   खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाड्नुभएकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आउनुभएको छ । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उहाँले बताउनुभयो । 

बलेवा : हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ ।    बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो गाजाको दह । गाजाको दहमा शनिबारदेखि वैकुण्ठ चतुर्दशी मेला लागेको छ । गाजाको दहलाई चिनाउने यो एउटा नियमित परम्परा हो । जैमिनीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गाजाको दहमा हरेक वर्षझैँ यस वर्ष पनि वैकुण्ठ चतुर्दशीको अवसरमा तोरण तार्ने योजना युवाहरूले बनाएका छन् ।    सरोकारवालाको नजर कम पुगेको गाजाको दहमा युवाहरूले हरेक वर्ष गर्ने यो प्रयासले प्रचार–प्रसार र प्रवद्र्धनमा सहयोग गर्छ । मेलाका अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण गर्न युवाहरूले गाजाको दह संरक्षण, सांकृतिक तथा खेलकुद विकास मञ्च लागेको छ । मञ्चका अध्यक्ष शेरबहादुर पुनका अनुसार गाजाको दह दक्षिण बागलुङको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । तर यहाँ राज्यका संयन्त्रको नजर कम पुग्ने गरेका कारण गाजाको प्रचार हुनसकेको छैन ।   गण्डकी प्रदेश सरकारले तयार गरेको पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ । तर प्रचार–प्रसार र संरचना निर्माणको अभावमा गाजाको दहमा अन्य पर्यटकीय क्षेत्रमा जस्तो पर्यटक पु¥याउन नसकिएको पुन बताउनुहुन्छ । “गाउँ, पाखा र वन हुँदै सवारी चढेरै गाजाको दह आउन सकिन्छ, बास बस्न आउनेका लागि यहाँ घरबासको पनि व्यवस्था छ”, उहाँले भन्नुभयो, “बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकको रेश, बरेङको धुल्लुबास्कोट र जैमिनी नगरपालिकाको दमेकको बाटो भएर यहाँ आउन सकिन्छ ।”  उहाँका अनुसार गाजा दहलाई पहिले–पहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिग्रन नदिन संरक्षण गरिएको छ ।   हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका भए पनि सन्तोषजनक नरहेको जैमिनी–३ का वडाध्यक्ष कृष्ण भुजेल बताउनुहुन्छ । “केही समय पहिला गाजाको विकासका लागि पहल भए, रोकिए, पछिल्लोपटक हामीले सीमा जोडिएका सबै वडासँगको समन्वयमा यहाँ पूर्वाधार विकास गर्ने भनेका छौँ”, उहाँ भन्नुहुन्छ,  “वैकुण्ठ चतुर्दशीमा मात्रै होइन यहाँ सधैँ मेला लागेजस्तै पर्यटक भित्र्याउने गरी काम गर्नुछ ।” त्यहाँबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्यावलोक गर्न सकिन्छ । दह परिसरमा बराह थान छ । गाउँलेको धार्मिक आस्था त्यसमा गाँसिएको छ ।    खेती किसानी गरेर जीविका चलाउँछन् गाजावासी । त्यहाँको मुख्य बाली आलु र भाँगो हो । पर्यटन गतिविधि हुन थालेपछि गाउँलेमा व्यावसायिक चेत पसेको छ ।    व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन् । घरबासमा आउने पाहुनालाई उनीहरू स्थानीय परिकार चखाउँछन् । लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन् । मौलिक संस्कृति पस्कन्छन् । अहिले तीन घरमा मात्र होमस्टे सेवा छ । पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको सञ्चालकहरू बताउँछन् । कोदो, मकै, भटमास, आलु, गुन्द्रुकलगायत स्थानीय परिकार घरबासका भान्छामा पाक्छन् । मासुमा गाउँकै रैथाने कुखुरा प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।   सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि  गाजा दहमा बढ्न थालेको पर्यटकीय आकर्षण कोरोना महामारीपछि थला परेको छ । “पहिले थेगिनसक्नु भीड लाग्थ्यो, कोरोनापछि निकै घटेको छ”, उहाँले भन्नुभयो, “घुम्ने याममा आन्तरिक पर्यटक बाक्लै आउँथे, अहिले त्यस्तो छैन ।” गाजाको दह क्षेत्रमा पूर्वाधार विकास गर्नसके गाजामा उल्लेख्य पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो ।   पाँच वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो । त्यसयता पूर्वाधारमा खास काम भएको छैन । घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको रु १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको छ । नगरपालिकाबाट आएको रु एक लाख पनि त्यहीँको फर्निचरमा खर्च भएको जनाइएको छ । गाजाको धुरी दहभन्दा तीन सय २० मिटर माथि पर्छ । गाजा क्षेत्रको जङ्गल जडीबुटीका लागिसमेत प्रख्यात छ । गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन । गुरुयोजनामा ‘भ्यूटावर’, पदमार्ग, सामुदायिक लजजस्ता पूर्वाधार बनाउने उल्लेख छ । 

पर्वत : कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो ।   बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले  छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ ।   “अहिले कालीगण्डकी नदीमा र्‍याफ्टिङले निरन्तरता पाउन सकेको छैन । अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि ¥याफटिङ सुरु हुनेछ”, कम्पनीका सञ्चालक नरेन्द्र केसीले भन्नुभयो, “स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ ।”    उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्‍याफ्टिङ सञ्चालन हुँदै आएको थियो । अब भने हार्नेस कम्पनीले कुश्माबाट नै र्‍याफ्टिङको सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार सफल परीक्षण सकिएको हुँदा हप्ता दिनभित्रै र्‍याफ्टिङका लागि बुकिङ खुल्ला गरिने छ ।   र्‍याफ्टिङका लागि इजरायल, अमेरिका, युरोपलगायत देशबाट पर्यटक आउने गरेका छन् । विदेशीसँगै स्वदेशी पर्यटकसमेत कालीगण्डकीमा र्‍याफ्टिङको मज्जा लिन आइपुग्छन् । र्‍याफ्टिङका लागि चैत, वैशाख, असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकनका साथै प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । 

पोखरा : आन्तरिक पर्यटन पर्वद्धन गर्न नेपाली युवा उद्यमी मञ्च चार दिने मोटर र्‍यालीसहित पोखरा-मुस्ताङ भ्रमणमा निस्किएको छ ।    कोभिड १९ पछि सुस्ताएको पर्यटन उकास्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यसहित देशभरबाट १७ वटा गाडीमा ६० जना युवाहरुको टोली आज (बिहिबार) मुस्ताङ भ्रमणमा निस्किएको हो ।   नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ पोखराको अध्यक्ष सुयश मल्लका अनुसार उक्त टोली उपल्लो मुस्ताङ हुदै कोरला नाकासम्म पुग्नेछ ।   ‘कोभिड १९ पछि मुस्ताङको भ्रमणमा जानेको संङ्ख्या कमी जस्तै भएको छ, उनले भने, ‘कोरोनापछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, मुस्ताङको कोरला नाका,लोमान्थाङ, मार्फा र जोमसोम लगायतको ठाउँहरुको प्रवद्र्धन गर्ने गरी चार दिनको भ्रमणमा निस्किएका छौं ।’    उनले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, कोरला नाकाबाट गर्न सकिने व्यापार व्यवसायका सम्भावनाको अध्ययन गर्ने, शाहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस) को प्रवद्र्धन गर्ने उदेश्यसहित कार्यक्रम आयोजना गरेको बताए ।   ‘स्थानीय पर्यटनको लागि सँगै’ भन्ने उदेश्य राखेर एनवाईईएफ पोखराको समन्वयमा देशभरका ६० युवाहरुको समूहमा १७ गाडीमा पोखरा– लोमान्थाङ मोटर र्‍यालीमा निस्किएका छौं, मल्लले भने,  ‘२००३ सालमा स्थापित एनवाईईएफले युवा उद्यमी उत्पादन गर्ने, युवाहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने संस्थाको उदेश्य लिदैं आएका छौं ।’   एनवाईईएफले यसभन्दा अघि बर्दियामा मोटर र्‍यालीको आयोजना गरिसकेको छ ।

बलेवा : कोरोना महामारीपछि बागलुङको भकुण्डेमा रहेको सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् । बुधबार वल्र्ड भिजन अर्गनाइजेसनले विश्व भेगन समूहका नौ सदस्यलाई बागलुङ नगरपालिका–१० भकुण्डेस्थित  अतिथि सत्कार सामुदायिक घरबास पु¥याएको हो । समूहमा तीन बेलायती, छ अमेरिकी र तीन नेपाली नागरिक रहेका छन् ।   लामो समयपछि घरबासमा विदेशी पर्यटक आएपछि घरबास सञ्चालक उत्साहित भएका छन् । कोरोना महामारीको समयमा तीन वर्षयता घरबास कहिले सञ्चालन हुने र कहिले बन्द हुँदै आएको थियो । आन्तरिक पर्यटकको प्रायः भीड लाग्ने यहाँको घरबासमा तीन वर्षपछि विदेशी पर्यटक आएको घरबास सञ्चालक इन्द्रा थापाले बताउनुभयो । ‘‘हामी घरबास सञ्चालन गरेर पाहुनाकै पर्खाइमा हुन्थ्यौैँ, स्वदेशी वा विदेशी जोकोही आउँदा पनि खुसी लाग्छ’’ उहाँले भन्नुभयो–‘‘हाम्रो व्यवसाय नै घरबास हो, यहीँको आम्दानीले जीवन धान्नुपर्छ ।’’    भकुण्डे पुगेका विदेशी पर्यटकलाई घरबास सञ्चालकले सामूहिकरुपमा स्वागत गरेका थिए । कोरोना महामारीअघि २०७६ सालको कात्तिक १४ गते भकुण्डेका घरबास बस्न पुगेको उक्त समूह तीन वर्षपछि कात्तिक १६ गते सोही घरबासमा पुगेको हो । ‘‘हामीले हरेक वर्ष समूहका सदस्यलाई पालैपालो बागलुङ बजार र यहाँका घरबासमा ल्याउने योजना बनाएका थियौँ’’ वल्र्ड भिजन अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेश शर्माले भन्नुभयो ‘‘उहाँहरु यहाँको प्रकृतिसँग रमाउनुहुन्छ, स्वच्छ स्थानीय खानपान हुने भएकाले त्यसको प्रबद्र्धनसमेत हुने गरेको छ ।’’    नगरपालिकाले तीन वर्ष पहिले विदेशी पर्यटक भित्र्याउन पहल थालेकामा उक्त समूहले साथ दिएको थियो । बागलुङका विभिन्न पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटक यहाँको प्रकृतिसँग रमाउने गरेको उहाँले बताउनुभयो । ‘‘उहाँहरु दुई दिन घरबासमा र एक दिन बजारमा बस्नुहुन्छ, बीचमा यहाँको कला र संस्कृति अवलोकन, प्राकृतिक सम्पदासँग रमाउनु भएको  छ’’ अध्यक्ष शर्माले भन्नुभयो ‘‘यो निरन्तर प्रक्रिया हुनेछ ।’’ विदेशी पर्यटक घरबासमा पुगेपछि यहाँको प्रचारप्रसार र उत्पादनको उपयोगमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।    भकुण्डेमा रहेको भ्यू टावरबाट सूर्योदय हेर्ने, यहाँबाट देखिने हिमशृङ्खलाले उनीहरुलाई लोभाउने गरेको छ । भकुण्डेमा कोदोको ढिँढो, गुन्द्रुक, स्थानीय जातको आलुलगायत उत्पादन उनीहरुले प्रयोग गर्ने गरेका छन् ।

गलकोट : बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो ।   बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो । बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ ।   बेलढुङ्गा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताउनुभयो । “समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो”, उहाँले भन्नुभयो । ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ ।   यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ । प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ । “पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौँ”, बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालकसमेत रहनुभएका श्रीसले भन्नुभयो, “अहिले शुक्रबार र शनिबार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।”   दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन, बेलढुङ्गालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ । गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि रु २० लाख र चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो ।    करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको स्थानीय मनकुमारी भण्डारी बताउनुहुन्छ ।   भत्किएको बेलढुङ्गा काठेखोला गाउँपालिकाको रु दुई लाख ५९ हजारमा मर्मतसम्भार गरिएको थियो । ओख्लेको देउरालीसम्म सडक पुगेको छ । त्यहाँबाट दुई सय ६० मिटर पदमार्ग प्रयोग गरेर बेलढुङ्गा पुग्न सकिन्छ । दृश्यावलोकनसँगै सूर्योदय पनि यहाँबाट हेर्न सकिन्छ । अधिकांश पर्यटक घरबासमा बास बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् ।