पोखराः सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा भाग लिन प्रदेश खेलकुद परिषद् गण्डकीले पुरुष भलिबल तर्फ १२ सदस्यीय टोलि घोषणा गरेको छ । खोमप्रसाद पाण्डे (हरि)कोे कप्तानीमा प्रदेश खेलकदु परिषद्ले आज (आइतबार) १२ सदस्यीय टोली घोषणा गरेको हो । कप्तान खोमप्रसाद पाण्डे (हरि)स्याङ्जा, रवि केसी (बाग्लुङ), किरण गुरौं (नवलपुर), घनश्याम चौधरी (नवलपुर), सन्तोष थापा मगर (स्याङ्जा), सन्जय परियार (पर्वत), दीपक मल्ल ठकुरी (बाग्लुङ), हिमाल सुनारी (नवलपुर), इन्द्रबहादुर वि.क (बागलुङ), सुजन चोखाल (म्याग्दी), मीन सुनार (बागलुङ) र राजन दर्लामी मगर स्याङ्जा रहेका छन् । खेलाडी छनोटलाई मध्यनजर गर्दै गण्डकी प्रदेश भलिबल संघको आयोजना र प्रदेश खेलकुद परिषद गण्डकीको सम्वन्यमा पोखरा रंगशाला भलिबल कोर्टमा पुष ६ देखि १० गतेसम्म गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो । सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाएको छ । पुस १९ गतेसम्म टिम दर्ताको समयसीमा रहेकाले टिम बढ्न सक्ने संघले जनाएको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोट्र्स क्लब रामेछाप र सुदूर पश्चिम प्रदेश गरि १५ टोलीको सहभागिता पक्का भइसकेको छ । त्यस्तै महिलातर्फ एपिएफ क्लब, पुलिस, आर्मी, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी ८ टिमहरुको सहभागीता रहने छ । यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा प्रवेश पाउनेछ । लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपको सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुनेछ ।
पोखराः पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबले लगातार दोस्रो जित निकालेको छ । सहारा क्लबले पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई आज (आइतबार) ३–० ले हराउँदै चर्च ब्वाइज दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि अब चर्च ब्वाइजले मनाङ मर्स्याङ्दी क्लब वा भुटनिज युथ एससी अमेरिकाबीच प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा चर्च ब्वाइजलाई जित दिलाउन फरवार्ड आशिष चापागाईले २ तथा आशिष चौधरीले १ गोल गरेका थिए । आशिष चापागाईले दुवै गोल पहिलो हाफमा गरेका थिए । पहिलो गोल २३ औं र दोस्रो गोल पहिलो हाफको इन्जुरी समय तेस्रो मिनेट सम्भव भएको थियो । लामो पासमा अफ साइड ट्रयाप बिट गर्दै अन्जन विष्टले गरेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले विफल पारेका थिए । तर उनले बल नियन्त्रणमा राख्न नसकेपछि रिबाउन्डमा आशिष चापागाईले पहिलो गोल गरेका थिए । इन्जुरी समयमा थ्रु बलमा अफ साइड ट्रयाप बिट गर्दै आशिष चापागाईले दोस्रो गोल गरेका थिए । आशिष चौधरीले ६४ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए । पेनाल्टी बक्स भित्र प्राप्त बलमा आशिष चौधरीले फस्ट बारमा गोल गर्दा मछिन्द्रका गोलकिपर विशालको बचाउने प्रयास सफल हुन सकेन । मछिन्द्रका सौरभले ८९ औं मिनेटमा गोल फर्काएका थिए । पहिलो खेलमा अन्जन विष्ट र अनन्त तामाङको गोलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा पुगेको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेतालो उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
काठमाडौं: काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । र्यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए । काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए । काठमाडौंका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिए । अजमतुल्लाह ओमाजारईले २ विकेट लिए । कमल सिंह ऐरी, अनिल खरेल र वसिर अहमदले समान १–१ विकेट लिए ।
पोखरा: १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस एकलतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडी प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको ओपन एकल मेन्स तर्फको उपाधि प्रदिप र उमेन्सतर्फ अभिलाषाले जितेका हुन् । शनिबार पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । खुट्टामा चोट बोकेका प्रदिपले पहिलो सेट ६–३ ले जित्दै प्रनभ माथी दबाव बनाउने प्रयास गरेका थिए । तर दोश्रो सेटमा प्रनभ खेलमा फर्किदैं १–६ ले जितेर प्रदिपलाई चुनौती पस्किएका थिए । एकलका उपाधि विजेता प्रदिप डबल्सतर्फको उपाधि विजेता समेत हुन् । नेहाल जङ्ग बहादुर थापा र प्रदिपको जोडीले डबल्सतर्फ उपाधि जितेका थिए । तर अन्तिम सेटमा प्रदिपले ७–५ ले खेल जित्दै उपाधि सहित नगद ८० हजारका साथमा ट्रफी हात पारेका छन् । प्रदिप नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता समेत हुन् । उपविजेता बन्न सफल प्रनभले नगद रु ४० हजार प्राप्त गरे । सेमीफाइनालिष्ट दुई रितिक राना र अकि जुवेन रावतले जनही नगद रु १०–१० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक तथा कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले जनाएका छन् । यता महिलातर्फ नेपालकी नं १ टेनिस खेलाडी अभिलाष विष्टले उपाधि सहित नगद रु ८० हजारका साथमा ट्रफी हात पारेकी छन् । सम्पन्न फाइनलमा अभिलाषाले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् । उपविजेता बन्न सफल सर्भानीले नगद ४० हजारका साथमा ट्रफी हात पार्दा सेमीफाइनालिष्ट दुई खेलाडी सुनिरा थापा प्रकृती श्रेष्ठ तेश्रो हुँदै जनही नगद रु १०–१० हजार प्राप्त गरेका छन् । यस्तै शनिबार नै सम्पन्न ३५ वर्ष माथीको पुरुष भेट्रान्स एकलको उपाधि जितेन्द्र परियारले जितेका छन् । जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । उपाधि सहित जितेन्द्रले नगद रु ६० हजार हात पार्दा उपविजेता कमलले नगद रु ३० हजार प्राप्त गरेका छन् । १९ औं माछापुच्छ्रे टेनिस अन्तर्गत शनिबार सम्पन्न ४५ वर्ष माथी भेट्रान्स एकलमा रोहित सुनुवार बिजयी भए । रोहितले बिमल गुरुङ विरुद्ध सुपर ट्राइ ब्रेकरमा फाइनलमा पराजित गरे । पहिलो सेट ६–४ ले जित्दै रोहितले आफ्नो पक्षमा पारे पनि दोश्रो सेट २–६ ले गुमाउन पुगे । अन्तिम सेटमा १०–४ ले जित्दै सो उमेर समुहको उपाधि सहित रोहितले नगद रु ४० हजार प्राप्त गर्दा बिमलले नगद रु २० हजार हात पार्न सफल भए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि भने सौगात बिकले हात पारेका छन् । उनले १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपनतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रतियोगिताको ‘मष्ट प्रोमिजिङ प्लेयर अफ द टुर्नामेण्ट’को उपाधि सहित करिव ३५ हजार पर्ने साइकल प्राप्त गरेका छन् । बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, राजु श्रेष्ठलगायतले ट्रफी, नगद र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसीले केसी ग्रुपले पोखराको खेलकुद र शिक्षाको क्षेत्रको विकासका लागि सहयोग गरिरहेको बताए । उनले भने–“हामीले अस्पताल बनाउनु भन्दा खेल मैदानको विकास र शिक्षालाई बढि प्राथमिकता दिएका छौं,” केसीले थपे–“आफ्ना स्वर्गिय बुवा सूर्य बहादुर केसी कै प्रेरणाबाट हामीले त्यो यात्रालाई अघि बढाएका छौं । यो यात्रा निरन्तर जारी रहने मात्रै नभई खेलकुद र शिक्षाको विकासमा केसी ग्रुपको अटुट सम्बन्ध रहिरहनेछ ।” समापन कार्यक्रम कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरका कास्की टेनिसका सचिव नबिन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए । गत पौष ११ गते बाट सञ्चालित १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस तर्फ हाल सम्मकै सर्वाधि सहभागिता रहेको थियो । प्रतियोगितामा महिला र पुरुष गरी २ सय भन्दा बढि खेलाडीले सहभागिता जनाएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च भएको जानकारी गराउँदै कास्की टेनिसका कोषाध्यक्ष अनुज बास्तोलाले मुख्य प्रायोजक माछापुच्छ्रे बैंक, प्रदेश खेलकुद परिषद गण्डकी, ट्राक्युलिटी एण्ड स्पालगायतले प्रायोजन तथा सहयोग गरेको जानकारी दिए ।
पोखराः साविक विजेता नेपाल एपिएफ फुटबल क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । सहारा क्लब पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा आज (शनिबार) पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा धरान एफसीलाई २–० ले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो हाफमै दुई गोलको अग्रतालाई जोगाउँदै सेमिफाइनलमा प्रवेश पक्का गरेको हो । एपिएफलाई जित दिलाउन विकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३७ औं मिनेटमा विकुको गोलमा एपिएफले अग्रता लिएको हो । मैदानमा झण्डै मध्यबाट आएको पासलाई नियन्त्रणमा लिँदै विकुले उत्कृष्ट फिनिसिङ गरेका थिए । युवराजले ४० औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । म्यान अफ दि म्याच समेत घोषित भएका विकुले पहिलो हाफमै गोल गर्न सकिएको र सबैले मेहनत गरेका कारण खेल जित्न सफल भएको बताएका छन् । पहिलो समय टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको जनाउँदै उनले भने,‘ केहि राम्रो विदेशी खेलाडी ल्याउने हो भने हामी लिग पनि जित्न सक्छौं ।’ पहिलो पटक गत वर्ष आहा ! रारा गोल्डकप जितेको एपिएफले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब वा संकटा क्लबमध्ये एकको पुस २० गते को सामना गर्नेछ । प्रतियोगितामा आइतबारको क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो । विजेता टोलीले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पोखरा: नेपालका नं १ प्रदिप खड्का मेन्सतर्फ र उमेनसतर्फ अभिलाष विष्ट १९ औं माछापुच्छ्रे ओपन टेनिसको उपाधि नजिक पुगेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा उनीहरु उपाधि नजिक पुगेका हुन् । शुक्रबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न सेमीफाइलमा मेन्स ओपनतर्फ प्रदिपले रितिक रानालाई टाई ब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गरे । निकै संघर्षपूर्ण खेलमा नेपालका नं १ खेलाडी प्रदिपलाई चुनौती दिएका रितिकले पहिलो र दोश्रो सेट समान बराबरीमा ६–६ र ६–६ मा खेल्दै टाइव्रेकरमा धकेलेका थिए । तर दुवै सेटमा प्रदिप हावी हुँदै ७–६, ७–६ ले जित निकाल्दै उपाधि नजिक पुगेका छन् । फाइनलमा प्रदिपको भेट प्रनभ खनाल संग हुनेछ । प्रनभले अकि जुवेन रावतलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै मेन्स ओपनमा प्रदिप संग फाइनलमा भेट पक्का गरेका छन् । यता उमेन्स सिंगल्सतर्फको सेमीफाइनलमा नेपालकी नं १ खेलाडी अभिलाषा विष्टले सुनिरा थापालाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरी फाइनलको यात्रा तय गर्दा सर्भानी श्रेष्ठले प्रकृती श्रेष्ठलाई ६–४, ४–६ र ६–१ ले पराजित गर्दै अभिलाषा संग फाइनलमा आफ्नो भेट पक्का गरेकी हुन् । फाइनल खेल शनिबार तय गरिएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिएका छन् । डबल्स मेन्स फाइनल डबल्स मेन्सतर्फको उपाधि नेपाल नं १ खेलाडी प्रदिप खडका र नेहाल जङ्ग बहादुर थापाको सम्मिलित जोडीले निशान श्रेष्ठ र रितिक रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन् । खेलमा पहिलो सेट ७–६ ले जितेका प्रदिप र नेहालले दोश्रो सेट ६–२ ले जित्दै उपाधि हात पार्न सफल भए । ६५ वर्ष माथि मेन्स भेट्रान्स सिंगल्स फाइनल यस्तै शुक्रबार सम्पन्न ६५ वर्ष माथीको भेट्रान्स सिंगल्समा कमल थापाले विदुर विष्टलाई फाइनलमा पराजित गर्दै उपाधि जितेका छन् । कमल थापाले फाइनलमा ४–१, ४–० को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । ३५ वर्ष माथी मेन्स भेट्रान्स डबल्स फाइनल प्रतियोगिता अन्तर्गत नै सम्पन्न ३५ वर्ष माथी मेन्स भेट्रान्स डबल्समा जितेन्द्र परियार र चेवाङ लामाको जोडीले कमल भण्डारी र यज्ञ भण्डारीको जोडीलाई सोझो सेटमा पराजित गर्दै सो उमेर समुहको खेलको उपाधि जिते । सम्पन्न फाइनलमा जितेन्द्र र चेवाङको जोडीले ६–३, ६–१ ले पराजित गरी उपाधि जितेका हुन् । त्यस्तै ३५ वर्ष माथी सिंगल्स सेमीफाइनलमा कमल भण्डारीले चेवाङ लामा लाई ६–३, ६–१ ले पराजित गरी उपाधि नजिक पुगेका छन् भने जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–३, ६–४ ले पराजित गर्दै कमल भण्डारी संग फाइनलमा आफ्नो भेट पक्का गरे । ४५ वर्ष माथी मेन्स भेट्रान्स डबल्स फाइनल १९ औं माछापुच्छ्रे टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न ४५ वर्ष माथी मेन्स भेट्रान्स डबल्स फाइनलमा निमा लामा र भारतिय खेलाडी सम्मिलित टि तुलेश्वर सिंहको जोडीले उपाधि जितेको छ । फाइनलमा उनीहरुले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए । ४५ वर्ष माथीको सिंगल्सको सेमीफाइनलमा भने विमल गुरुङले शरण गुरुङलाई ६–१, ६–२ ले पराजित गर्दै विमल उपाधि नजिक पुग्दा उनी संग फाइनलमा रोहित सुनुवार संग भिड्नेछन् । रोहितले एक अर्को सेमीफाइनलमा भारतिय खेलाडी टि तुलेश्वर सिंहलाई ६–३, ६–४ ले पराजित गरेका थिए । ५५ वर्ष माथी मेन्स भेट्रान्स सिंगल्सको उपाधि कृष्णराज घलेले जितेका छन् । फाइनलमा कृष्णराजले अनिल तुलाचनलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धाहरु भएका थिए । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले जनाएका छन् । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । फाइनल खेल शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
पोखराः सहारा क्लबले आयोजना गरेको २२ औं संस्करणको आहा ! रारा गोल्डकपमा चर्च ब्वाइज युनाइटेडले प्रतियोगितामा पहिलो खेलमा पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई २–१ ले स्तब्ध पारेको हो । खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्यो । खेलको २५ औं मिनेटमा विभागीय टिम नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई सुन्दर फिनिसिङ गर्दै विपक्षी पोस्टमा बल चुमाएका थिए । पहिलो हाफमा दबाबमा रहेको चर्च ब्वाइज दोस्रो हाफमा भने खेल सुधारेको थियो । अधिकांश समय नेपाल पुलिसलाई दबाबमा राख्न सफल भयो । पटकपटक पोस्ट प्रहार गरे पनि ७७ औं मिनेटमा मात्रै गोल गर्न सफल भयो । खेलको ७७ औं मिनेटमा चर्च ब्वाइजका तर्फबाट अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनी केही दिनअघिमात्रै मनाङ मर्स्याङ्दी छाडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए । खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टले प्रहार गरेको बल नेपाल पुलिसका गोलरक्षक सञ्जीत श्रेष्ठको हात छुँदै बाहिरियो । तत्पश्चात चर्च ब्वाइजले पाएको कर्नर किक तेज तामाङले प्रहार गरेका थिए । तामाङको प्रहार विपक्षी टिमले सुरक्षित गर्न खोजे पनि बल एरिकको नजिक पुगेको थियो । बललाई हेडिङ गर्दै उनले बल पुनः विपक्षी पोस्टमा फ्याँकेका थिए । सोही ‘डिफ्लेक्ट’बललाई अञ्जनले प्रहार गर्दै सुन्दर फिनिसिङ दिएका हुन् । निर्धारित समयको अन्तिममा नेपाल पुलिसले डिबक्स एरिया नजिकै फ्रिकिक पाएको थियो । बुद्ध लामाले प्रहार गरेको फ्रिकिकको रिबाउन्ड बललाई नीरकुमार राईले क्रस पास दिएका थिए । उनको पासमा भरत शाहले हेमन्त श्रेष्ठले हेडिङमार्फत गोल गरेका थिए । तर, सहायक रेफ्री प्रकाश भुजेलले अफसाइड दिएपछि उक्त गोलले मान्यता पाएन । खेलको अन्तिम मिनेटमा पाएको अवसर पनि गोल मान्यता नपाएपछि केहीबेर खेलाडी र रेफ्रीबीच भनाभनसमेत भएको थियो । लगत्तै निर्धारित समय सकिएर खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको पहिलो हाफमै गोल गर्र्दै चर्च ब्वाइजले अग्रता लिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा चर्च ब्वाइजले कर्नर पायो । जसको सदुपयोग गर्र्दै चर्चब्वाइजले पुनरागमन अग्रता लिएको थियो । चर्च ब्वाइजका तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको ‘हेडिङ ब्याक फ्लिप’लाई अनन्त तामाङले प्रहार गर्दै विपक्षी गोलपोस्टको जाली चुमाएका थिए । सहारा वर्ष खेलाडी घोषित तामाङ पनि हालैमात्र थ्रीस्टार छोडेर चर्चमा अनुबन्धित भएका हुन् । आहा रारा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज क्लबको मच्छिन्द्रसँग खेल्नेछ । चर्च ब्वाइज यसै सिजन ए डिभिजनमा उक्लिएको हो । मच्छिन्द्र जारी प्रतियोगितामा बाई पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलपछि नेपाल पुलिस क्लबका सहायक प्रशिक्षक रविन श्रेष्ठले आफ्ना खेलाडीले राम्रो खेले पनि लाइन्सम्यानबाट गम्भीर गल्ती भएको प्रतिक्रिया दिए । ‘समग्रमा आजको गेम एकदमै कम्पिटेटिभ भयो । टिमले राम्रै गरेको हो, राम्रै मान्नुपर्छ । तर, जुन किसिमको लाइन्सम्यान हुनुपर्थ्यो, यत्रो टुर्नामेन्ट भइसकेपछि लाइन्सम्यान राम्रो हुनुपर्थ्यो,’ उनले भने, ‘केटाहरुको बाँकी खेल राम्रै थियो । हामीले पाएको गोल लाइन्सम्यानले दिनुपर्छ । त्यस्तै निर्णयले हो गेममा टर्निङ प्वाइन्ट हुन्छ ।’ चर्च ब्वाइजका प्रशिक्षक विक्रम लामाले नयाँ टिम भएकाले खेलाडीलाई एकआपसमा फर्ममा ल्याउनै गाह्रो भए पनि पछि सुधार गरेको सुनाए । ‘पछि हामीले खेलको फर्मेसन चेन्ज गर्यौं,’ उनले भने, ‘हामीले लामो, राम्रोसँग तयारी गरेर आउन पाएनौं । तर, जेहोस् प्लेयरहरुले छोटो समयमै भए पनि फर्ममा आउन सकेको मान्नुपर्छ ।’
पोखराः २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आज (शुक्रबार) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बिच प्रतिस्पर्धा हुदैछ । खेल आज दिउसो २ बजे पछि पोखरा रंगशालामा हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ । आज हुने खेलमा दुवै टोलि विजय हुँदै क्वाटरफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् । आजको विजेता टोलिले मछिन्द्र क्लबसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलि बाहिरिने छ । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना भइरहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ । हिजो भएको पहिलो खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन्। प्रतियोगिता अवलोकनका लागि आउने दर्शका लागि सामान्य प्याराफिटतर्फ प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलको टिकट मूल्य १ सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि ३ सय टिकट मूल्य राखिएको छ । भिआईपीतर्फ २ सय, ४ सय र ५ सय टिकट मूल्य राखिएको छ ।
पोखराः उच्च अदालत पोखराले प्रदेश खेलकुद परिषद् गण्डकीको सदस्य सचिबको नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारीको इजालासले सदस्य सचिव दर्खास्त आह्वान सम्बन्धी सूचनामा उल्लेख भए अनुसारको पदपूर्ति सम्बन्धी कुनै पनि कार्य नगर्नू, नगराउनू भनी बिहीबार अन्तरिम आदेश दिएको हो । गण्डकी प्रदेशले पुस ६ गते प्रदेश खेलकुद परिषद् सदस्य सचिवका लागि दर्खास्त आह्वान गरेको थियो । दर्खास्त आह्वान प्रक्रिया रोक्न माग गर्दै पोखरा महानगरपालिका १७ बस्ने कालिकोटका लाभाषजंग शाहीले मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालय, युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषद्लाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । काम चलाउ सरकारले सदस्य सचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको थियो सोही निवेदनका आधारमा छलफलका लागि उच्च अदालत पोखराले पुस २१ गतेका लागि पेसी तोकेको छ । ‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरी पाउन माग गरेतर्फ बिचार गर्दा, विषयवस्तको संवेदनशीलता एवं गाम्भीर्यताका कारण दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागि निवेदकलाई पुस २१ गतेको पेसी तोकी सोही दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीलाई जानकारी गराई नियमानुसार गरी पेस गर्नू,’ आदेशमा भनिएको छ । अदालतमा छलफल गर्ने समयसम्मका लागि दर्खास्त प्रक्रिया रोक्न आदेश दिएको छ । ‘पेसीको मितिसम्म प्रस्तुत विषयमा विपक्षी मन्त्रालयवाट प्रकाशित मिति पुस ६ गतेको दर्खास्त आह्वान सम्बन्धी सूचनामा उल्लेख भए अनुसारको पदपूर्ति सम्बन्धी कुनै पनि कार्य नगर्नू, नगराउनू भनी विपक्षी युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको नाममा यो अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिदिएको छ,’ आदेशमा उल्लेख छ । उक्त रिट निवेदनको पक्षमा वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिवक्ताद्वय मदनप्रसाद तिवारी र सविन तिवारीले बहस गरेका थिए । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटीले कामचलाउ सरकारले प्रदेश खेलकुद नियामवली २०७८, विपरीत निर्लज्ज तरिकाले प्रदेश खेलकुद परिषद सदस्य सचिवको पदका लागि नयाँ दर्खास्त आह्वान नमिल्ने भन्दै मुख्यमन्त्री कार्यालय र खेलकुद मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो । कामचलाउ सरकारले यस्ता कार्य गर्न नमिल्ने र विधिको शासनको धज्जी उडाएको भन्दै दर्खास्त आह्वान अभिलम्ब खारेज गर्न महासंघले माग गरेको थियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङको उमेर हदका कारण गत कात्तिक २४ गते पदावधि सकिएपछि आगामी ४ वर्षका लागि प्रदेश सरकारले नियुक्ति प्रक्रिया अघि बढाएको थियो । परिषदको सदस्य सचिव नियुक्तिका लागि ३० वर्ष उमेर पूरा भएको, स्नातक तह अध्ययन पूरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ । प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियुक्ति गर्ने प्रावधान छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित ३ सदस्यीय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ । सिफारिस समितिको संयोजकमा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, सचिव बद्रीनाथ अधिकारी र खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली छन् ।

