पोखरा: गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुष २६ देखि २८ सम्म गते देखि हुने भएको छ । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको दोश्रो साता सम्म सबै जिल्लास्तरिय प्रतियोगिताहरु सम्पन्न गर्ने गरि निर्णय समेत गरेको छ । उक्त प्रतियोगिता आयोजना गर्नका लागि स्थान तय गर्न सदस्य सचिब शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । उक्त प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट जिल्लास्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागिता रहने छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरु हुनेछन् । प्रतियोगिता र्मार्शल आर्ट खेल तर्फ छात्ररछात्रा तेक्वान्दो, उशु र कराँते हुनेछन् भने टिम गेमतर्फ छात्र/छात्रा कबड्डी, भलिबल र एथलेटिक्स खेलहरु सञ्चालन हुने प्रावधान रहेको छ । यस वर्ष मार्शल आर्ट खेलमा केही इभेन्ट थप गरिएको छ भने टिम गेममा समेत एक/एक जना खेलाडी थप गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न संघिय सरकारबाट हरेक पालिकाहरुलाई एक–एक लाख, गण्डकी प्रदेशका ११ जिल्लाहरुलाई कुल ४३ लाख र गण्डकी प्रदेशस्तरियका लागि २२ लाख बजेट बिनियोजन गरेको छ भने गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि थप २५ लाख बजेट विनियोजन गरेको सदस्य सचिब शर्माले जानकारी दिएका छन् । सम्पन्न बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु, विभिन्न ६ खेलका पदाधिकारीहरु तथा प्रतिनिधीहरु, आयोजक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
पोखरा: बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा शुभ दिपावली विशेष मेला हुने भएको छ । प्रगतिशील युवा क्लबले शुभ–दिपावली विशेष मेला २०८० को अवसरमा खुल्ला साविक वडा स्तरीय भलिबलसँगै पब्जी प्रतियोगिता आयोजना गरेको हो । प्रगतिशील युवा क्लबका अध्यक्ष धनबहादुर पुनले कात्तिक २४ देखि ३० गतेसम्म तिहार पर्वको अवसरमा शुभ–दिपावली मेला २०८० आयोजना गरेको जानकारी दिए । मेलाको अवसरमा खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, घैँटो फोर प्रतियोगिता र पब्जी प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष पुनले बताए । उनका अनुसार खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । भने, प्रतियोगितामा सहभागि हुन एक समूहलाई ४ हजार ५ सय रुपैयाँ शूल्क कायम गरेको छ । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने समूहले १० हजार, द्धितीय हुने समूहले ५ हजार र तृतीय हुने समूहले ३ हजारसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ५ सय रुपैयाँ शूल्क कायम गरेको छ । यस्तै बुद्धिचाल प्रतियोगिताको विजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सहभागि हुन ५ सय रुपैयाँ शुल्क कायम गरेको छ । यस्तै घैँटो फोर प्रतियोगिताको विजेताले १ हजारसहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने, १ सय रुपैयाँ शुल्क कायम गरेको छ । यस्तै क्लबले पहिलो पटक पब्जी प्रतियोगितासमेत आयोजना गरेको छ । क्लबका अध्यक्ष धनबहादुर पुनले शुभ–दिपावली मेलाको अवसरमा पहिलो पटक पब्जी प्रतियोगतालाई समेत आयोजना गरेको बताए । उनका अनुसार प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन ८ सय रुपैयाँ शुल्क कायम गरेको छ । पब्जी प्रतियोगिता पब्जी मोबाइलको नियम अनुसार सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं: नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण दोस्रोस्थानमा छ । जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रनमा आउट भए । नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जितको आधार तय गरेका थिए । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पवनदीप सिंहको बलमा मिडअफमा शार्विन मुनिआन्दीबाट क्याच आउट भएपछि लगातार तेस्रो अर्धशतक बनाउन चुकेका थिए । दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए । रोहित पौडेल २ रनमा आउट भए । सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ र विवेक यादव २ रनमा अविजित रहे । मलेसियाका अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन । तर मलेसियाको सुरुवात भने नेपालविरुद्ध ड्रिम थियो । ओपनर अहमद जुबैदी र सैद अजिजले ५।५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए । जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए । त्यसपछि नेपाल खेलमा फर्किएको थियो । तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले मिडअफमा ब्यक्तिगत १४ रनमा क्याच छाड्न पुगेका थिए । त्यो जीवनदान नेपाललाई त्यति धेरै भारी परेन । सातौं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा अहमद फैज ३ रनमा रन आउट भए । सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा विरनदीपसिंह ४ रनमा एलबीडब्लू आउट गरेका थिए । कप्तान रोहित पौडेलले शार्विन मुनिआन्दीलाई १३ रनमा कट एण्ड बोल्ड आउट भए । मोहम्मद आमिरलाई अभिनाश बोहराले ८ रनमा बोल्ड आउट गरेका थिए । फिर्ती साम ६ र विजय उन्नीले १३ रन बनाए । नेपालको जितमा तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । ओमान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । ओमानको नेटरनरेट १.३५० र नेपालको १.३२२ छ । समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । उक्त खेलले समूह ए को विजेता र उपविजेता निर्धारण गर्नेछ । समूह ए को विजेता टोलीले समूह बी को उपविजेता र समूह ए को उपविजेता टोलीले समूह बी को विजेतासँग खेल्नेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् । समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । कुवेत दुबै खेलमा हारका अंक विहीन हुँदै पुछारमा छ ।
आइसिसी टी-२० विश्वकप अन्तर्गत मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन्। ५।३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। त्यतिबेला नेपालले १ विकेटको क्षतिमा ४९ रन जोडेको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो। उत्कृष्ट सुरुवात गरेको मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो। त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोशिस गरेको थियो। नेपालका लागि पहिलो विकेट अभिनास बोहराले ५।५ ओभरमा लिए। उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल मल्लबाट २४ रनमा क्याच गराए। अर्को ओभर नेपालले मलेसियाका कप्तान अमहद फइजलाई ३ रनमा रनआउट गर्यो। दुई रन लिने चक्करमा रहेका उनलाई करण केसीको थ्रोइङमा विकेटकिपर आसिफले रनआउट गरे। त्यसपछि सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे। कप्तान रोहित पौडेलले शर्भिन मुनियान्डीलाई १३ रनमा क्याच गरे। त्यसअघि पाँच बलमा रोहितले १५ रन खर्चिएका थिए। १४औं ओभरमा गुल्सन झाले ६८ रन बनाएर खेलिरहेका ओपनर सयद अजिजलाई कुशल भुर्तेलबाट क्याच गराए। मलेसियाका लागि सबैभन्दा बढी रन बनाएका उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। गुल्सनले अइनूल अफिजलाई पनि रन आउट गर्न विकेटकिपर आसिफलाई बल दिएका थिए। १८औं ओभरमा अभिनासले मोहमद अमिरलाई ८ रनमा बोल्ड गरे। अभिनासले अन्तिम ओभरमा साजरुल इद्रुसलाई कुशल भुर्तेलबाट ७ रनमा क्याच गराउदा फित्रि शामलाई ६ रनमा बोल्ड गरेका थिए। बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए। अभिनासले ४ ओभरमा २७ रन खर्चिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १-१ विकेट लिए। समूह एु मा रहेको नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ। समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।
काठमाडौं: नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेर पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपाल आजको खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । आजको पहिलो खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको थियो । नेपाल विजयी हुँदा समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुग्नेछ । नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ । टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११: आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
काठमाडौं: बहराइनले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा हङकङलाई २० रनले हराएको छ । यो हारसँगै हङकङको सेमिफाइनल सम्भावना कठिन बनेको छ । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १ सय २६ रनमा अल आउट भयो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । हङकङले सुरुवात निकै खराब रहेको थियो । पहिलो ओभरको चौथो बलमा मजिद अब्बासीको बलमा ओपनर निजाकत खान ४ रनमा बोल्ड आउट भए । मजिद अब्बासीको बलमा उच्च लयमा रहेका मार्टिन कोट्जी २ रनमा क्याच आउट भएका थिए । स्पिनर अली दाउदले बाबर हायतलाई ६ रनमा बोल्ड आउट गरेपछि हङकङ १३-३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि अंशुमन रथ र एजिज खानले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर जावेद अनवारले ल्वो फुलटस बलमा एजिजलाई १९ रनमा एलबीडब्लू आउट गरे । नस्रुला राना ६ बलमा १ चौका र २ छक्कासहित १६ रनमा आउट भएका थिए । हङकङलाई २४ बलमा जितको लागि ३७ रन चाहिँएको थियो । सुरुवाती चार बलमा तीन रन बटुलेको थियो । पाँचौं बलमा जिशान अली २१ रनमा रन आउट भए । उनले ११ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को बलमा रिजवानले यासिम मुर्तजालाई ९ रनमा बोल्ड गरेपछि जितको सम्भावना सकिएको थियो । बहराइनका रिजवान बटले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अब्दुल मजिदले ३.१ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । अली दाउदले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९।३ ओभरमा १ सय ४६ रनमा अल आउट भएको थियो । बहराइनको जितमा इमरान अली बटले ४३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिएका थिए । उनी बाहेक अन्य कुनैपनि बहराइनका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । इमरान जावेद १५, हैदर अली १४ र मोहम्मद रिजवान १३ रनमा आउट भए । अन्य दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङले २० वाइड र एक लेग वाई गरि २१ रन अतिरिक्त दिएको थियो । हङकङका तीव्र गतिका बलर नस्रुला रानाले ३।३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । मोहम्मद अजिज खानले ४ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर २ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । हङकङले पहिलो खेलमा कुवेतलाई ३१ रनले हराएको थियो । बहराइन पहिलो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । हङकङले अव बिहीबार युएईसँग खेल्नेछ । उता बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ । अन्तिम दिनको नतिजाले सेमिफाइनल निर्धारण गर्नेछ । आजको हारले हङकङको सेमिफाइनल यात्रा कठिन बनेको छ । अन्तिम खेलमा युएईलाई हराउनु पर्नेहुन्छ ।
काठमाडौं: आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा ओमानले लगातार दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। समूह ‘ए’ मा ओमानले कीर्तिपुर मैदानमा मंगलबार सिंगापुरमाथि २२ रनको जित निकाल्यो। यसअघि ओमानले सोमबार मलेसियालाई ३२ रनले पराजित गरेको थियो। अब ओमानले बिहीबार आयोजक नेपालसँग खेल्नेछ। त्यसअघि नेपालले आज मलेसियासँग खेल्दैछ। नेपालले मलेसियालाई पराजित गरे ओमान र नेपाल समूह ‘ए’ बाट अन्तिम चारमा पुग्नेछन्। बिहीबार हुने नेपाल र ओमानबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ। कीर्तिपुर मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १७४ रन जोड्यो। उसका लागि अकिब इल्यासले ६३ रन र प्रतिक अथाभालेले ४२ रन जोडे। १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन जोड्यो। उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४१ रन र मनप्रति सिंहले ३१ रन जोड्यो।
काठमाडौं: आईसीसी टी-२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ । पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, आज कीर्तिपुरमा बिहान नौ बजे ओमान र सिङ्गापुर खेल्नेछन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने खेलमा बिहान नौ बजे बहराइन र हङकङ तथा दिउँसो साढे १ बजे कुवेत र यूएई खेल्दैछन् । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।
काठमाडौं: युएईले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा बहराइनलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । समूह बी मा युएईले दुई महत्वपूर्ण अंक जोडेको हो । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको युएईले १८।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा युवा अलराउन्डर अली नासिर २६ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा नट आउट रहे । बासिल हामिद ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे । ओपनर मोहम्मद वासिम १२, अर्यांश शर्मा ९, वृत्य अरविन्द शून्य, आसिफ खान २३ र एलिशान शराफु २७ रनमा आउट भए । बहराइनका तीव्र गतिका बलर मोहम्मद रिजवान बटले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । अब्दुल मजिद र सचिन कुमारले एक एक विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । बहराइनका हैदर अलीले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । जुनैद अजिज २५ र सोहेल अहमेद २८ रनमा आउट भए । अन्य बहराइनका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । युएईका जुनैद अजिज र आयन खानले २–२ विकेट लिए । युएईले मंगलबार कुवेत र बिहीबार हङकङसँग खेल्नेछ ।

