काठमाण्डौँः सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक आइजिपी नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको यही जेठ ३० गते सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि म्याद तामेल नभएको कारण सुनुवाइ हुन सकेन । “रिट निवेदनमा प्रत्यार्थीहरु वसन्तकुमार पन्त, धीरजप्रताव सिंह र रवीन्द्रबहादुर धानुकको नाममा म्याद तामेल भई आएको देखिएन”, आदेशमा भनिएको छ, “प्रत्यार्थी वसन्तकुमार पन्त कैलालीमा रहेको र अन्य प्रत्यार्थीलाई म्याद बुझाउन नसकिएको भन्ने प्रतिवेदनबाट देखिन आएको छ ।” आदेशमा रिट निवेदनका निज विपक्षीहरु प्रहरी सेवाका उच्च पदाधिकारी रहे भएको र निजहरुकै नामको म्यादसमेत तामेल हुन नसकेको गम्भीर अवस्था देखिएको उल्लेख छ । “तीनै जनाको म्याद मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ बमोजिम प्रहरी प्रधान कार्यालय, नक्सालको सहयोग लिई उपलब्ध हुनसके इमेल वा फ्याक्स वा अन्य विद्युतीय साधनबाट आजको मितिले सात दिनभित्र म्याद तामेल गरी गराई थाम्ने थमाउने म्याद नपाउने गरी तीन दिनभित्र लिखित जवाफ पेस गर्न लगाई मिति २०७९/०२/३० गते पेसी तोकी नियमानुसार पेस गर्नु”, आदेशमा भनिएको छ । यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार सुनुवाइ तय भएको थियो । सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियोे । एआइजी पोखरेलले दायर गर्नुभएको रिट निवेदनसँगै आज सुनुवाइका लागि सिंहसहित तीन जनालाई एआइजी बढुवा गर्ने निर्णयविरुद्ध तीनजना डिआइजीले दायर गरेको रिट निवेदनलाई साथै राखिएको छ ।
रोल्पाः गृह मन्त्रालयले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कारागारभित्रका बन्दी सुन्दर हरिजनको आत्महत्या गरेको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहनुभएको छ । यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको भट्टराईले जानकारी दिनुभयो ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकले सांसद स्व डा डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकले उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो । विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको उपचारको क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।
पोखरा: पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठोक्किएर दुर्घटना भएको घटनास्थल पत्ता लागेको थियो । दुर्घटनामा चालक दलसहित २२ जनाको मृत्यु भएको छ । जोमसोम विमानस्थल नपुग्दै कोबाङको सानुसरे डाँडोमा ठोक्किएर दुर्घटनामा परेको विमानमा सवार सबैको शव सङ्कलन गरी काठमाडौँ पठाइएको छ । तारा एयरको यसअघि २०७२ फागुन १२ गते तारा यएरको ९–एनएएचएच ट्वीनअटर विमान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई विदेशी नागरिक र चालक दलका तीनसमेत गरी २३ जनाको मृत्यु भएको थियो । सात वर्षको अवधिमा आइतबार भएको दोस्रो दुर्घटना हो । त्यसैगरी २०७३ भदौ ३ गते जोमसोमबाट पोखराका लागि उडान भर्न लागेको तारा यएरकै ९ एमइक्यु ट्वीनअटर विमान धावनमार्गमा पाङ्ग्रा नखुलेपछि कालीगण्डकी नदीमा खसेको थियो । पोखरा–जोमसोम रुटमा उडान भर्ने विमानले म्याग्दीको घोरेपानीसम्म पोखराको टावर र लेतेमाथिको आकाशदेखि जोमसोमसम्म जोमसोम विमानस्थलको टावरसँग सम्पर्क हुने भए पनि पहाड र हिमालको अवरोधका कारण घोरेपानीदेखि लेतेको आकाशसम्म विमान दुवैतर्फको सम्पर्कबाट विच्छेद हुन्छन् । योबीचको दूरी पार गर्न विमानलाई पाँचदेखि छ मिनेट लाग्ने गर्छ । दुवैतर्फको टावरबाट विच्छेद हुने ‘बफर जोन’को यही मार्गमा धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर विमानले उडान भर्नुपर्छ ।
वाग्मती: वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गर्नुभएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उहाँले स्वास्थ्य र शिक्षामा वजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताउनुभयो । साथै मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगर्न/नगराउनसमेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकरी दिनुभयो । उहाँले सुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई नगरौँ भन्दै यसको प्रयोगबाट स्वास्थ्यमा असर पर्ने गरेको वताउनुभयो । समाजलाई सुर्तीजन्य पदार्थरहित बनाउन बाग्मती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताउनुभयो । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको आयोजनामा बुद्ध चौकदेखि सुरु भएको सो प्रभातफेरी कार्यक्रम हेटाँैडा बजारको परिक्रमा गरी पुनः बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा हेटौँडाका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो ।
काठमाण्डौँः सरकारले प्रत्येक घरधुरीलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणालाई स्वागत गर्दै ऊर्जा विज्ञहरुले विद्युतीय चुलोसँगै समग्र विद्युत् प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । खाना पकाउन एलपी ग्यासको बढ्दो प्रयोगका कारण वर्सेनि मुलुकले ठूलो आर्थिक भार खेप्दै आएका बेला आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट भाषणमार्फत सबै घरधुरीलाई विद्युतीय चुलो उपलब्ध गराउने घोषणा गरेको थियो । विद्युतीय चुलोलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारद्वारा घोषित सो निर्णयले आफूहरुलाई उत्साहित बनाएको भन्दै ऊर्जा विज्ञहरुले यसबाट विस्तारै एलपीजी ग्यासको माग घट्दै जाने र विद्युतीय चुलोको प्रयोग बढ्ने विश्वास व्यक्त गरेका छन् । खाना पकाउन बढ्दो एलपीजी ग्यासको प्रयोगका कारण सुरक्षा जोखिम बढ्नुको साथै आर्थिक नोक्सानीसमेत बढ्ेको भन्दै विद्युतीय चुलो लगायत वैकल्पिक ऊर्जाको प्रबद्र्धन गर्ने अभियान सुरु गरेको नेपाल इन्र्जी फाउण्डेशनद्वारा जनकपुरमा आयोजित खाना पकाउने सफा ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी सरोकारवालाले स्वास्थ्य सुरक्षासँगै आर्थिक सुरक्षाको दृष्टिकोणले उपयुक्त मानिएको विद्युतीय चुलोलाई प्रोत्साहित गर्न गाउँ–गाउँमा जनचेतनामूलक अभियान लैजानुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा ऊर्जाविज्ञ तथा नेपाल इन्र्जीफाउण्डेशनका सचिव डिल्ली घिमिरेले एलपीजी ग्यासको तुलनामा विद्युतीय वा गोबर ग्यासबाट खाना बनाउँदा आर्थिक र स्वास्थ्यको दृष्टिकोणलेसमेत उपयुक्त भएकाले सरकारद्वारा घोषणा गरिएको विद्युतीय चुलो वितरणको निर्णय मुलुकको हितमा रहेको बताउनुभयो । आफूहरुले विगत लामो समयदेखि विद्युतीय चुलो प्रवद्र्धनको अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै सचिव घिमिरेले विद्युतीय चुलो प्रयोग बढाउने अभियानलाई गाउँस्तरसम्म लैजानुपर्ने बताउनुभयो । खाना पकाउन सफा ऊर्जाको बारेमा जनचेतनामूलक कार्यक्रम, खाना पकाउने वैकल्पिक ऊर्जाको खोजी गर्ने, घरभित्रको धुँवा हटाउने कार्यक्रम तर्जुमा गर्ने, खाना पकाउने सफा प्रविधिमाथि सर्वसाधारणको पहुँच सुनिश्चित गर्न अनुदान, सहुलियत ऋण तथा वित्तको व्यवस्था गर्ने योजनासहित अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । ‘‘सहरी क्षेत्रमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि पछिल्लो समय खाना पकाउन एलपीजी ग्यासको माग बढ्दै गएको छ” सचिव घिमिरेले भन्नुभयो, ‘‘एकातिर एलपीजी ग्यास नेपालमा उत्पादन हुँदैन, अन्य मुलुकबाट ल्याउँदा ठूलो आर्थिक घाटा भइरहेको छ भने अर्कोतिर ग्यास फड्किएर जनधनको क्षति समेत हुँदै आएको छ ।” त्यसैले पनि खाना पकाउन विद्युतीय चुलो र गोबर ग्यासलगायतका वैकल्पिक ऊर्जालाई प्रोत्साहित गर्नुपर्ने उहाँको भनाइ थियो । वर्सेनि खाना पकाउने ग्यासको लागि मात्र जम्मा आयातको २ दशमलव ५ प्रतिशत रकम नेपालले भुक्तानी दिँदै आएको जानकारी दिनुहुँदै घिमिरेले खाना पकाउने सफा ऊर्जाका विभिन्न विकल्पसहितका प्रविधि बजारमा उपलब्ध भएको अवस्थामा स्थानीय आवश्यकता र उपलब्धताको आधारमा स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । खाना पकाउने ऊर्जा स्रोत, प्रविधिलाई आधुनिक र सफा बनाउँदा उपभोक्ता स्वयम्, समुदाय र राज्य समेतलाई फाइदा पुग्ने दाबी गर्नुहुँदै उहाँले सफा खाना पकाउन विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहित गर्न सकिए वातावरण र वायु प्रदूषणमा कमी आउने तथा त्यसबाट मानव स्वस्थ्यमासमेत असर नपुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा वातावरणविज्ञ पुरुषोतम घिमिरेले रासायनिक पदार्थको बढ्दो प्रयोग, धुँवा र धूलोका कारण वायु प्रदूषण बढ्ेको बताउनुहुँदै पर्यावरण बचाउन र प्रकृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । विद्युत्मा सबैको पहुँच पु¥याएर विद्युतीय चुलोलाई प्रबद्र्धन गर्न सकिए आर्थिक र भौतिक लगायतका क्षेत्रमा फाइदा पुग्नसक्ने बताउनुहुँदै यसलाई तीनै तहको सरकारले गम्भीर रुपमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो । विगत वर्षमाभन्दा पछिल्लो दुई वर्षमा नेपालमा विद्युतीय चुलो प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको भन्दै उहाँले पछिल्लो दुई वर्षमा मात्रै छिमेकीमुलुक भारत र चीनबाट तीन लाख विद्युतीय चुलो नेपालमा भित्रिएको पाइएको जानकारी दिनुभयो । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले जनतालाई सर्वसुलभरुपमा विद्युत् उपलब्ध हुन सकेमात्र खाना पकाउन विद्युतीय चुलोको प्रयोग बढ्नसक्ने भएकाले विद्युत् प्रणालीलाई व्यवस्थित र नियमित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुधारिएको चुलोबारे नागरिकमा सचेतना जगाउनुपर्नेमा जोड दिनुहुँदै तीनै तहको सरकारले यसबारे ठोस नीति अबलम्बन गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं: तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप २२ जनाको शव त्रिव शिक्षण अस्पतालमा लगिएको छ । यस अघि १० जनाको शव शोमबार बेलुकी काठमाडौं लगिएको थियो । आज (मंगलबार) बाँकी रहेका १२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ । तारा एयरका अनुसार पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने छ । आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको थियो ।
पोखरा: वरिष्ठ लोक संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको स्मृतिमा स्थापित कोषमा ३५ लाख २६ हजार ३४३ रुपैया संकलन भएको छ । स्मृतिकोष स्थापना समितिले पोखरामा सोमबार पक्रकार सम्मेलनको आयोजना गरि अझै रकम संकलन भैरहेको जानकारी दिइएको हो । वरिष्ठ सस्कृतिकर्मी गुरुङको गतवर्ष कोरोना महामारीको समयमा गुमाउनुपरेकाले उनको स्मृतिमा कोष स्थापना गरेको हिमाली साँस्कृतिक परिवारले संस्थाका मानार्थ सदस्य एवम सल्लाहकार को संयोजकत्वमा गठित स्मृतिकोष समितिका संयोजक रुद्रकुमारी गुरुङ मैनाले जानकारी दिइन् । उनका अनुसार करिब १५ देखि २० लाख संकलन गर्ने लक्ष्य रहेपनि ३५ लाख बढि रकम जम्मा भएको छ । स्वर्गीय गुरुङको योगदानको चिरकाल स्मरणकालागि अक्षयकोष स्थापित गरी वरिष्ठ लोक संस्कृतिकर्मीहरुलाई सम्मान गर्ने, अनुज कलाकारहरुलाई पुरस्कार प्रदान गर्ने र लोक सँस्कृति संरक्षण एवम विकास गर्ने उद्देश्यले कोष स्थापना गरिएको संयोजक गुरुङले दोहोर्याइन् । कोषको वार्षिक व्याजबाट आउदो वर्षदेखि कार्यक्रम आयोजना गर्ने बताउदै छोटो अवधिमा स्मृतिकोषका लागि रकम सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाता, शुभेच्छुुक, शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरिन् । कोषका लागि देश विदेशका विभिन्न स्वर्गीय गुरुङको आफन्तजन, शुभचिन्तक, शुभेच्छुक महानुभावहरु एवम संघ संस्थाले सहयोग गरेको स्मृतिकोष समितिका कोषाध्यक्ष एवम हिमाली सांस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङले बताए । उनका अनुसार हालसम्म संकलित रकम मध्ये ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिनेछ । भने शुभेच्छुकहरुबाट अझै रकम आउने क्रम जारी छ । यसैगरि हिमाली सांस्कृतिक परिवारका सल्लाहकार हुमबहादुर गुरुङले कोषको बार्षिक व्याजबाट वरिष्ठ लोक स्रस्टालाई वार्षिक राष्ट्रियस्तरको पुरस्कार, लोककलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने र लोक संस्कृति संरक्षण सम्वद्र्धनका लागि कार्यक्रम हुने गरि नियमावली निर्माण गरेको बताए । गुरुङका अनुसार वरिष्ठ लोक संस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित कोषको संचालनको पुर्णाधिकार हिमाली साँस्कृतिक परिवारलाई रहनेछ ।
मनाङः मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पु¥यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ । विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन् । जिल्लामा बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर अध्यापन गराउन विद्यालय परिवर्तन गर्न थालेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । “बाढीपहिरोको जोखिम अझै पनि छ, कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागांैला तर बालबालिका भाग्न सक्दैनन् भनेर अन्यत्रै आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थी घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भन्नुभयो । साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ । मनाङमा शैक्षिक सत्र आधा सकिन लागेको छ । तर, विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन । विद्यार्थीहरु विद्यालय आए पनि पुस्तक जिल्लामा आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार पुस्तकका ‘टपिक्स डाउनलोड’ गरी सम्भव भएसम्म विद्यार्थीहरुलाई प्रिन्ट गरेर दिँदै पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भन्नुभयो । लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर गृहकार्य गर्न समस्या भएको बताउनुहुन्छ । शिक्षकले सकेको सहज बनाउन खोजे पनि पुस्तकमा हेरेर पठनपाठन गर्न नपाउँदा अध्ययनमा समस्या थपिएको उहाँ बताउनुहुन्छ । “शिक्षकले दिएका होमवर्क गर्दा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ, शिक्षकले पढाएका तर घरमा पुस्तक हेर्न नपाउँदा होमवर्क गर्न समस्या हुन्छ”, उहाँँले भन्नुभयो । लोकप्रिय मावि कक्षा १० मा अध्ययनरत छात्र जयराम थापाले नयाँ शैक्षिक सत्र शुरु भए पनि पुस्तक अभावमा शिक्षकले विभिन्न माध्यमबाट पठनपाठन अगाडि बढिरहेको बताउनुभयो । शिक्षकले पुस्तकको ‘हेन्सआउट’ दिने गरेकाले पठनपाठनमा समस्या खासै नभएको उहाँको भनाई छ । प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिरोले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि बर्षायाममा त्रास रहेको बताउनुभयो । प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि लागिरहेको भए पनि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने क्रम जारी रहेको विश्वकर्माले बताउनुभयो । “अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने प्रक्रियाका लागि आउने गर्नुभएको छ । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । तर, बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो । विद्यालयका प्रधानाध्यापक श्याम पन्थीले गत वर्षको बाढीले मनाङवासीलाई त्रसित बनाएको बताउनुभयो । “बाढीपहिरोले क्षति पुगेको निजी आवास अभिभावकले बनाउन सकेका छैनन् । यसवर्ष पनि बाढीपहिरोले त्रास हुने हो कि भन्ने अवस्था रहेको छ । अभिभावकहरु बाढीको त्रासले बालबालिकालाई अन्यत्र सार्ने गरेका छन्”, पन्थीले भन्नुभयो । विद्यालयमा बालबालिकाको सङ्ख्या घट्दो अवस्था रहेको उहाँ बताउनुहुन्छ । “विद्यालय क्षेत्रमा तटबन्धन गरिएको छैन, विद्यालयका तीन वटा कक्षा यस शैक्षिक सत्रमा खाली भएको छ । अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालय नै शून्य हुने अवस्थामा पुगेको छ,” प्रधानाध्यापक पन्थीले भन्नुभयो । बाढीको त्रासलाई न्यूनीकरण गर्नुपर्ने, विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिने अपेक्षा गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासम्म पनि जिल्लामा आवश्यक पाठ्यपुस्तक आइनपुगेको बताउनुभयो । जनक शिक्षा सामग्री केन्द्रले मनाङका लागि आंशिक पाठ्यपुस्तक पठाएको खबर भने पाएको उहाँ बताउनुहुन्छ । “आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठपाठनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो । विकट क्षेत्रमा बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीहरु अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ ।

