सुर्खेत: पछिल्लो समय सुर्खेतमा लागुऔषधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा लागुऔषधका १८० मुद्दा दर्ता भएका र त्यसमा सम्लग्न २९२ प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा लागुऔषधका ५२ मुद्दा दर्ता भएका र त्यसको कारोबारमा सम्लग्न छ महिलासहित ९० जना पक्राउ परेका थिए । आव २०७७/०७८ मा सोही प्रकारका ४९ मुद्दा दर्ता भएकामा कारोबारमा सम्लग्न आठ महिलासहित ६९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आव २०७८/०७९ मा ७९ वटा मुद्दा दर्ता भएकामा त्यसमा सम्लग्न नौ महिलासहित १२३ पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीको सक्रियताका साथै सचेतना अभिवृद्धि गराइएका कारण धेरै मुद्दा दर्ता भएको जानकारी दिनुभयो । “पछिल्लो समय प्रहरीको सक्रियता बढेको छ”, उहाँले भन्नुभयो, “सबैतिर सचेत गराउँदै आइएको भएर पनि होला लागुऔषधको विषयमा हामीलाई सूचना आउने गर्दछ त्यसकारण सूचनाको आधारमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सहज भएको छ ।” प्रहरीको तथ्याङ्कअनुसार आव ०७६/७७ मा ९८ ग्राम ४३० मिलीग्राम ब्राउन सुगर, चार किलोग्राम ३२८ चरेस, ३३२ ग्राम ७३० मिलीग्राम गाजा बरामद गरिएको थियो । ७७/७८ मा ९२ ग्राम ६४० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको थियो यस्तै ७८÷७९ मा १८७ ग्राम ९४० मिलीग्राम ब्राउन सुगर, सात ग्राम १४० मिलीग्राम ह्वाइट सुगर, २५२ ग्राम ९३० मिलीग्राम गाजाका साथै नाइट्राभेट, ट्रामोल, कोरेक्सलगायत ट्याब्लेट पनि बरामद गरिएको जनाएको छ ।
अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबार राती पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले मध्यपहाडी सडक अवरुद्ध हुँदा अछामबाट सुर्खेत, दैलेखलगायत आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् । राति नै पहिरो आएकोले अहिलेसम्म पहिरोका कारण सवारीसाधन रोकिएको स्थानीय सुरेश रावतले जानकारी दिनुभयो । आफूमा जानकारी नआएको तर सडक सुचारू गर्न आवश्यक भएको नगरपािलकका उपप्रमुख हर्कबहादुर रावलले जानकारी लिनुभयो । पानी परिरहेकोले फोन सम्पर्क हुनेबित्तिकै सडकको पहिरो सफा गरेर यातायात सञ्चालन ल्याउनुपर्ने माग स्थानीयले गरेका छन् ।
केरला: छात्राहरूलाई परीक्षा हलमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन लगाएको भन्दै केरलामा अविभावकले प्रहरीमा उजुरी दिएका छन्। स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन आग्रह गरिएको पिडित छात्राहरूले बताएका छन्। कोल्लममा एक विद्यार्थीले प्रहरी उपरीक्षकमा उजुरी दर्ता गरेपछि घटना प्रकाशमा आएको हो। रिपोर्टअनुसार, अविभावकहरूले उक्त छात्राहरूलाई अन्य छात्र तथा परीक्षामा खटाइएका पुरुष ‘इन्भिजिलेटर’को अगाडि भित्री लुगा नलगाई परीक्षामा उपस्थित हुन बाध्य गराइएको भन्दै यसले उनीहरूलाई मानसिक तथा शारीरिक तवरमा विचलित तुल्याएको दावी गरेका छन्। मेरी छोरी ८ कक्षादेखि नै नीट परीक्षाको तयारीमा जुट्दै छिन्। हामी विश्वस्त थियौं कि उनले परीक्षामा राम्रो श्रेणी प्राप्त गर्नेछिन् तर यस मुद्दाको कारण उनको ध्यान मनोवैज्ञानिकरूपमा अन्यत्र गएका कारण परीक्षामा राम्रो गर्न सकिनन्, रूष्ट एक विद्यार्थीका पिताले एएनआईसँग भने। राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए)को मार्गनिर्देशनलाई उद्धृत गर्दै अभिभावकले भने, ‘कुनै पनि प्रकारको भित्री कपडा लगाउन प्रतिबन्ध लगाइएको छैन । हामीले सबै निर्देशनहरू पालन गरिरहेका थियौं। तर कर्मचारीहरूले भित्री लुगा नहटाइकन कक्षा कोठामा प्रवेश गर्न दिएनन्। राज्यको महिला आयोगले पनि घटनाको विषयमा छात्राहरूको अधिकार हनन गरिएको भनी‘सुओ मोटा’ मुद्दा दर्ता गरेको छ।
काठमाण्डौँ: अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुनसकेको जनाइएको छ । समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिनुभयो । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्सामा ४२ प्रतिशत जग्गामा धान रोपाइँ भएको उहाँले बताउनुभयो । गत असारको दोस्रो सातायता वर्षा नहुँदा पनि वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसानहरूले धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार बारामा ६०, सिरहा र सर्लाहीमा ५५ , रौतटहमा ५० , महोत्तरीमा ४५ र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ भएको छ । पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै सप्तरीमा कूल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कूल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५०० हेक्टरमा, बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ३८ हजार १०० हेक्टरमा धानखेती हुने गरेको मन्त्रालयले जनाएको छ । यस्तै धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७०० हेक्टरमा धान रोपाइँ हुन्छ । तर यस वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृत्ति र समयमा वर्षा हुनुको कारण अन्नको भण्डार मानिएको मधेस प्रदेशमा अपेक्षाकृत धान रोपाइँ हुन नसकेको अधिकृत पालले जानकारी दिनुभयो । लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भने अधिकांश किसान अझै आकाशे पानीको प्रतिक्षमा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुदाँ रोपो सुक्न थोलेको छ । ‘‘पान्नी तान्ने मोटर लगाएरै करिब एक बिघा जग्गामा धान रोपाइँ गरेँ”, धनुषाधाम नगरपालिका–४ का किसान सुगम्बर यादवले भन्नुभयो, “वर्षा ठयाप्पै रोकिएपछि अहिले रोपिएको धानमा डढेलो लाग्न थालेको छ ।” अब पनि केही दिन पानी नपरे रोपाइँ गरिएको धान नष्ट हुन्छ”, उहाँको चिन्ता छ । ठूलो मूल्य र परिश्रम गरेर रोपाइँ गरिएको धानबालीमा पानीकै अभावमा डढेलो लाग्दा आफूहरु चिन्तामा डुबेको किसानको भनाइ छ । सिँचाइका लागि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइको व्यवस्था पुगेको छ । तर लामो समयदेखि वर्षा रोकिएर कमला नदीमा पानीको सतह कम भएका कारण किसानलाई सिँचाइ गर्न समस्या भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । “साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिँचाइ गर्न सहज हुन्छ, तर अहिले नदीमा पानी नै छैन”, उहाँले भन्नुभयो, “पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो ।” सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाइ अभाव अर्कातिर आवश्यकतानुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद्य र मजदुर आभावमा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा भोकमरीको चिन्ता बढेको कृषिविज्ञको भनाइ छ । मधेसका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।
कैलाली: कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नंको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो । घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा आज बिहान मृत्यु भएको थियो । बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
पोखरा: आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोह बीच बास्तोलाई उक्त पुरस्कार प्रदान गरेका थिए । गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा संचालित २०७८÷०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापनका अवसरमा आयोजित समारोहमा बास्तोलालाई पुरस्कृत गरिएको हो । अद्वैत संस्था नेपालका केन्द्रीय सभापति अनन्तलाल सरस्वतीबाट आफ्ना पिता ज्योतिलाल र आमा गंगादेवी चुकेको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । सोही समारोहमा भरतचन्द्र चक्रवर्तीको पुण्य स्मृतिमा स्थापित पुरस्कारबाट लालबन्दी सर्लाहीका उपसन्न शिष्य राम भण्डारीलाई पनि पुरस्कृत गरिएको थियो । अद्वैत महाविद्यालयको २०७९ सालको वार्षिक परीक्षामा सर्वाधिक अंक प्राप्त गरेवापत उनलाई सो पुरस्कार प्रदान गरिएको हो । उक्त कार्यक्रममा प्रमुख आमन्त्रित कुलपति प्रताप चक्रवर्तीले नेपाली वेदको जनक विशेषांक, आनन्द तत्व मिमांस र भक्तिवृत्ति प्रवाह तथा व्रह्मज्ञानको विमोचन गरेका थिए । अद्व्रैत संस्था नेपालका केन्द्रिय सभापति वसन्तलाल महासरस्वतीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रिय सहसभापति विष्णुदास उपाध्याय ढकालले उपस्थिति सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा गुरुआमा अपर्णा चक्रवर्तीको पनि संवोधन रहेको थियो । कार्यक्रमको संचालन संस्थाका केन्द्रिय कार्यवहाक सचिव लक्ष्यजीवी घिमिरेले गरेका थिए ।
काठमाण्डौँ: शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो । मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताउनुभयो । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने पनि प्रहरीले जनाएको छ ।
पोखरा: बगर भाईखलक पोखराले ग्रासरुट फुटबल प्रशिक्षण सुुरु गरेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पोखराको विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनसँगै फुटबलको विकासमा सहयोग पु¥याउने उद्धेश्यसहित आइतबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुुरु गरेको हो । सो प्रशिक्षणमा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखि १६ वर्ष उमेर समुहका १ सय बढि विद्यार्थीहरुलाई प्रशिक्षण दिईने संस्थाका सदस्य तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङले जानकारी दिए । उनका अनुसार मुख्य प्रशिक्षकका रुपमा फुटबल खेलाडी अन्जन देवकोटा रहेका छन् भने सहायक प्रशिक्षकमा अश्बिन गुरुङ र जनक गुुरुङले प्रशिक्षण दिनेछन् । निरन्तर चल्ने सो प्रशिक्षण हरेक हप्ता ४ दिन सञ्चालन हुने बताउदै प्रति महिना प्रशिक्षार्थीलाई जनही १ हजार दस्तुर निर्धारण गरिएको गुरुङले बताए । ‘हामीले विद्यार्थीलाई अध्ययनसँगै खेलकुदमा पनि अभिप्ररित गराउने उद्देश्यले हप्तामा ४ दिन मात्रै सिकाउने गरेका छौं, उनले भने, ‘त्यसले गर्दा विद्यार्थीको पढाईमा पनि रुचि जाग्ने हुन्छ । र प्रशिक्षार्थीले ट्रेनिङ नछाडोस भन्नका लागि महिनाको १ हजार रुपैयाँ निर्धारण गरेका छौं ।’ उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले गरे । सोही अवसरमा बोल्दै मन्त्री गुरुङले सो प्रशिक्षणपश्चात खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरेका थिए । यसैगरि संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले स्तरीय खेलाडीको उत्पादन गर्ने उद्देश्यले फुटबल प्रशिक्षण अगाडी सारेको बताए । ‘फुटबल नेपालको लोकप्रिय खेल हो, उनले भने, अहिले युवाहरु खेल क्षेत्रमा छन् तर विदेशीन बाध्य भएका छन् । त्यसैले त्यसलाई कम गर्न अध्ययनसँगै खेकलुदमा लाग्न आवश्यक छ ।’ ग्रासरुट फुटबललाई संघ संस्थाको सहयोग पोखरा महानगरपालिका १ बगरस्थित पृथ्वीनारायण क्याम्पसको खेलमैदानमा सुुरु भएको ग्रासरुट फुटबल प्रशिक्षणका लागि पोखरा महानगरपालिका वडा नम्बर १ को कार्यालयले २० हजार बराबरको फुटबल र पोस्टको लागि जाली सहयोग गरेको छ । यसैगरि युके निवासी राजेन्द्र गुरुङले नगद १० हजार सहयोग गरे । कास्की जिल्ला क्रिक्रेट संघका वरिष्ठ उपाध्यक्ष जिमी गुरुङले बगर भाइखलकलाई ३० थान जर्सी सहयोग गरे भने पोषिलो फुस्ट प्रालिले २० जना खेलाडीलाई लक्कीड्रमार्फत आधा केजीको पोषण वितरण गरेका थिए । ग्रासरुट फुटबल प्रशिक्षणलाई युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद गण्डकी, महानगरपालिका खेलकुद विकास समिति, पृथ्वीनारायण क्याम्पस पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की, दीप अस्पतालले सहयोग संस्थाका महासचिव मनकाजी गुरुङले जानकारी दिए ।
काठमाडौँ: सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति, राष्ट्रिय समाचार समिति ९रासस० ले आफ्नो समाचार सेवामा वृद्धि गरेको छ । राससले यही साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । राससको समाचार सेवामा विविधीकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको हो । विसं २०१८ मा स्थापना भएको राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउनेछ । नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोधबमोजिम सञ्चालन गरिएको सो सेवाका सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गरिएको छ । राससले श्रव्यदृश्य सञ्चालनका निम्ति ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ । निर्देशिका अनुसार राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायाङ्कन गरी खासगरी टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य (भिजुअल) सामग्री उपलब्ध गराउने छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधीकरण गर्ने सन्दर्भमा श्रव्यदृश्य सेवा सुरु गरिएको जानकारी दिनुभयो । “हाम्रा सेवा देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन् । समय र प्रविधिको विकाससँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ । आफ्ना सेवालाई विस्तार गर्दै लैजाने क्रममा स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गरेका छौँ”, अध्यक्ष झाले भन्नुभयो । उहाँले सो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क हुने जानकारी दिनुभयो । राससले नेपालमा मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले समयको मागसँगै रासस सेवालाई छिटोछरितो र मल्टिमिडियायुक्त बनाउनुपर्ने सुझाव दिनुभयो । नेपालका सञ्चारमाध्यम समाचारका लागि राससमै भर पर्नुपर्ने गरी आफूलाई विकसित गर्दै लैजान पनि सचिव अर्यालको सुझाव छ । सो सेवामा प्राविधिक कार्यका लागि रासस र फिल्म क्रिउ नेपाल प्रालीबीच हालै सम्झौता भएको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्पादकीय क्षमता वृद्धि गर्ने गरी राससले भिडियो सेवा दिनुपर्नेमा जोड दिनुभयो । राससले सरकारका विषय र जनताका चाहना दुवैलाई प्रभावकारीरूपमा सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले भिडियो सामग्री सङ्कलन, सम्पादन, वितरण, बजार प्रवद्र्धन र एजेण्डा सेटिङसम्मको लक्ष्य निर्धारण गरेर राससले उक्त सेवा सञ्चालनलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । आमसञ्चारका विज्ञ तपानाथ शुक्लले राससले भिडियो सेवालाई सहरमुखी नभई गाउँ केन्द्रित खोजमूलक विषवस्तुमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले राससको भिडियो सेवामा सार्वभौम मुलुकको दृष्टिकोणसहितका कथाहरू सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । राससप्रति मुलुकका सञ्चारमाध्यम भरपर्नुपर्ने वा राससको समाचारलाई विश्वसनीय स्रोत मानेर जान सक्नेगरी आफूलाई प्रविधिसँगै परिस्कृत गर्दै लैजानुपर्ने सञ्चार मन्त्रालयको सुझाव छ । राससका पूर्वप्रमुख समाचारदाता तथा वरिष्ठ पत्रकार भैरव रिसालले राससले सरकारका साथै जनताको आवाज बोल्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राससको भिडियो सेवा मुलुककै लागि सुखद् विषय भएको बताउनुभयो । नियमित प्रसारणमा करिब एकसय श्रव्य दृश्य संस्था छन् । आजदेखि सुरु भएको उक्त सेवाले ती संस्थालाई थप मद्दत पुग्ने राससको विश्वास छ । समितिले आफ्नो समाचार सेवा बिहान ६ बजेदेखि राति ११ बजेसम्म निरन्तर उपलब्ध गराउँदै आएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटीआई), एशोशिएट प्रेस ९एपी०, एशोशिएट फ्रान्स प्रेस(एएफपी) र सिह्वा समाचार समितिका समाचार तथा फोटो सेवा उपलब्ध गराउने रासस एकमात्र आधिकारिक समाचार समिति हो । समितिले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, विभिन्न प्रकारका अनलाइन सेवा प्रदायक संस्था, बिबिसी नेपाली सेवा, सरकारी तथा गैरसरकारी संस्थालाई समेत समाचार सेवा उपलब्ध गराउँदै आएको छ । राससले ६१ वर्षदेखि लगातार समाचार उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले भिडियो सेवा सञ्चालन गरेर राससले आफ्नो विश्वासनीयता अझै बलियो बनाएको बताउनुभयो भने अर्का पूर्वमहाप्रबन्धक जयशङ्कर महतोले राससको भिडियो सेवामा दूरदराजका आवाजविहीनको आवाज झल्किनुपर्ने सुझाव दिनुभयो । पूर्वमहाप्रबन्धक ओपेन्द्र शर्माले विज्ञान र प्रविधिको विकासँगै राससले भिडियो सेवा गर्नु सेवाग्राहीका निम्ति खुसीको खबर भएको बताउँदै सो भिडियो सेवालाई प्रभावकारी बनाउने गरी विषयवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । बाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकाटाले राससले भिडियो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउँदै सातै प्रदेशको छुट्टाछुट्टै युनिटका रुपमा मुलुकका महत्वपूर्ण घटना र समाचारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । नेपाल प्रेस इन्स्टिच्युटका महासचिव लक्ष्मण उप्रेतीले राससको भिडियो सेवालाई प्रविधिसँग जोडेर खोजमूलक पत्रकारितामा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । राससका नायबमहाप्रबन्धक तथा श्रव्यदृश्य शाखा प्रमुख राजु शाक्यले देशभित्र र बाहिरका सञ्चार माध्यमलाई मुलुकका महत्वपूर्ण घटना र विषयवस्तुसँग सम्बन्धित श्रव्यदृश्य समाचार सेवा उपलब्ध गराउने लक्ष्यअनुरुप भिडियो सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा विशिष्ट व्यक्तिको सम्बोधन, महत्वपूर्ण गतिनिधि र घटनाका बारेमा प्रत्येक्ष प्रसारण गर्ने योजना रहेकोसमेत जानकारी दिनुभयो । समितिको श्रव्यदृश्य सेवाले सङ्घीय, प्रदेश र स्थानीय सरकारका सरोकार हुने शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि, साहित्य र संस्कृतिका क्षेत्रलाई प्राथमिकतामा राखी समाचार उत्पादनमा जोड दिनुपर्ने सञ्चार विज्ञहरुको सुझाव छ । विसं २०५२ मा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै भिडियो सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो । भिडियो सेवालाई प्रविधि सम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो । नेपालको पहिलो समाचार समिति निजी क्षेत्रबाट २०१६ पुस १ गते स्थापित ‘नेपाल संवाद समिति’ (नेसस) हो ।नेससका संस्थापकहरु पत्रकार गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरको पहलमा नेपालमा पहिलोपटक समाचार समितिको स्थापना गरिएको थियो । दोस्रो समाचार समिति पनि निजी क्षेत्रबाटै २०१७ वैशाख ३० गते स्थापित ‘सगरमाथा संवाद समिति’(ससस) हो । निजी क्षेत्रका यी दुई समाचार समितिलाई गाभेर सरकारी सञ्चार माध्यमका रुपमा २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) स्थापना भएको हो । राष्ट्रिय संवाद समितिलाई २०२८ सालदेखि राष्ट्रिय समाचार समिति (रासस भन्न थालिएको हो । राससले २०१८ फागुन ७ गतेदेखि निरन्तर नेपाली भाषामा समाचार दिँदै आएको छ । विसं २०५२ वैशाख १ गतेदेखि राससले आलेख (फिचर) सेवा सुरु गरेको हो । राससका प्रशासन प्रमुख शीतलप्रसाद महतोका अनुसार राससले अहिले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म १०० भन्दाबढी नेपाली भाषाका समाचार सम्प्रेषण हुने गरेको छ । पहिले बिहान, मध्याह्न, अपराह्न, साँझ र रात्रि गरी दिनमा पाँच पटक र पछि एक–एक घण्टाको अन्तरमा बुलेटिन सेवा दिँदै आएको राससले अहिले समाचार प्राप्त हुनासाथै दिने गरी अनलाइन सेवा सञ्चालन गर्दै आएको छ । राससले २०१९ माघ ३ गतेदेखि अन्तर्राष्ट्रिय समाचार सेवा सुरु गरेको थियो । खासगरी राससले एएफपी, एपी, सिन्हवा, क्यादो, पिटिआइ र यानहापसँग समाचार आदानप्रदानको सम्झौता गरको छ । त्यसैगरी राससले २०२० सालदेखि अङ्ग्रेजी समाचार सेवा, २०५५ सालदेखि आलेख सेवा र २०६६ सालदेखि अडियो सेवा उपलब्ध गराउँदै आएको छ । विसं २०५६ देखि लामो समयसम्म विदेशी समाचार समितिका तस्विर मात्रै दिँदै आएको राससले २०६४ बाट नियमितरुपमा स्वदेशी तस्विर पनि सम्प्रेषण गर्दै आएको छ ।

