म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

सङ्खुवासभा:    सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिसा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिनुभयो ।       शनिबार दिउँसो  साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा २० च ९५०२ नंको  स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते बालिकाको  उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।  चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 

सर्लाही:  सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् ।    जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको थियो ।    जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीले पुस्तक पाउन नसकेका जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिलकुमार कुशवाहले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सामुदायिक विद्यालयहरुमा अहिले त्रैमासिक परीक्षा सञ्चालन भइहे पनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।    विद्यार्थीहरु पाठ्यपुस्तक विना नै अध्ययन गरिरहेका सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरुले बताए । कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका नवजन जागरण नमूना मावि बागमती नगरपालिका–८ का प्रधानाध्यापक ध्रुव पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय सामुदायिक विद्यालयले निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीलाई पढाइरहेका छन् ।      त्यस्तै निजी विद्यालयमा समेत पूरै पाठ्यपुस्तक आइनपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले जनाएको छ । जिल्लाका सामुदायिक विद्यालयमा अझै पनि करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको विद्यालयहरुले बताएका छन् ।    जिल्लामा ५५६ सामुदायिक विद्यालयमा ८६ हजार विद्यार्थी अध्ययनरत छन् । तीमध्ये करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको उक्त इकाइले  जनाएको छ । प्राथमिक तहका करिब सबै पाठ्यपुस्तक आए पनि आधारभूत तह र माध्यमिक तहको विभिन्न विषयका पाठ्यपुस्तकहरु नआएको उक्त इकाइका  निमित्त प्रमुख कुशवाहले बताउनुभयो ।

सङ्खुवासभा:   सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ ।   मलामी पुगेर फर्कंदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिनुभयो ।    गत असार २४ गते मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका –९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्र्याक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए ।       यस्तै बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताउनुभयो । गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेर्होने निर्णय भएको नगरप्रमुख तामाङले बताउनुभयो । ४४ जना मलामी बोकेर फर्किंदै गरेको को २ त ३९६१ ट्र्याक्टर  खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।

  काठमाडौँ:    लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ ।       गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ ।       त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ । जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले सत्न पाएका छैनन् ।    “बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौँ”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयो । मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक खुलाउन मेसिन पठाइसकिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

चितवन:    चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु गरिएको छ ।       सङ्घीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं ७ भालुमाराबाट शुक्रबारदेखि जग्गा नाप नक्साङ्कन कार्य शुुभारम्भ गरिएको हो ।      भूमिसम्बन्धी सेवा केन्द्र इच्छाकामनाका संयोजक हरि देवकोटाका अनुसार सो गाउँपालिकामा तीन हजार ५३९ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । त्यसमध्ये ८३ जना भूमिहीन दलित, ७७१ भूमिहीन सुकुम्बासी र दुई हजार ६८५ अव्यवस्थित बसोबासी रहेको उहाँले बताउनुभयो  ।       इच्छाकामनामा  वडा नं ७ मा सबैभन्दा  बढी एक हजार ६२७ ले  निवेदन  दिएका  छन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा आगामी तीन महिनाभित्र नाप नक्साङ्कन कार्य सम्पन्न गरिने बताउनुभयो । छ महिनादेखि वर्ष दिनभित्र सबै प्रक्रिया पूरा गरी लालपुर्जासमेत वितरण गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

ताप्लेजुङ:     ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो ।      घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो ।      खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  पोखरा:   पोखरा महानगरपालिकाले कोभिड–१९ विरुद्व ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।    पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य महाशाख विभागले एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।   प्रकाशित सूचनामा भनिएको छ,‘कोभिड–१९ विरुद्वको खोप ‘एस्ट्रेजेनिका’ दोस्रो मात्रा लगाएको ३ महिना पुरा भएका र ‘जेनसेन’ खोपको १ मात्रा लगाएको ३ महिना पुरा भएका व्यक्तिहरुले सम्बन्धित खोप केन्द्रबाट ‘भेरोसेल’ खोपको अतिरिक्त मात्रा‘बुस्टर डोज’ खोप अनिवार्यरुपमा लगाउनु पर्ने छ ।’   सूचनामा उल्लेख गरिएको छ , ‘खोपको अतिरिक्त मात्रा लिन आउँदा अनिवार्यरुपमा पहिलो खोप कार्ड लिएर आउनु पर्ने छ  । भने सो अभियान श्रावन ६ गते पोखराका १४ विभिन्न स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ ।’    

  पोखरा:    नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण कार्यक्रम बिहिवार पोखरामा सम्पन्न गरेको छ । कोषले आफ्ना लगानीकर्ताको सहजताका लागि अनलाइन रकम दाखिला गर्ने प्रणालीको सुरुवात गरेको हो ।   सोही अवसरमा कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग पनि हस्तान्तरण गरेको छ । कोषले १० थान जार, १० थान डिस्पेन्सर, जार र डिस्पेन्सर राख्ने स्टीलको स्ट्याण्ड २ थान र मेटलको स्ट्याण्ड ८ थान विभिन्न संघसंस्थालाई हस्तान्तरण गरेको हो । सहयोग पाउने संघसंस्थाहरुमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय शिसुवा, वडा प्रहरी कार्यालय रामबजार, ट्राफिक प्रहरी कार्यालय पृथ्वीचोक, मालपोत कार्यालय कास्की, नापी कार्यालय कास्की र जिल्ला अदालत कास्की रहेका छन् । उक्त सामाग्री नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो ।   कार्यक्रममा बोल्दै प्रमुुख जिल्ला अधिकारी आचार्यले कोषले निकै नै राम्रो योजनाहरु ल्याएकोले त्यसमा सहभागी भएर लगानी गर्न नागरिकहरुलाई आग्रह गर्नुभयो । आफ्नो लगानीको भरपर्दो माध्यम नागरिक लगानी कोष रहेको उहाँको भनाई छ । उहाँले कोषले प्रदान गरेको समाग्रीहरुको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुुभयो ।   नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कोषले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न काठमाण्डौँ धाउनुपर्ने बाध्यता नरहेको जनाउँदै, पोखरा कार्यालयवाट केन्द्रको सबै सेवा पाउन सकिने बताउनुुभयो । उहाँले सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पूँजी बजारमा गतिशिलता ल्याउन कोषको स्थापना तथा सञ्चालन गरेको जानकारी दिनुुभयो ।   सोही अवसरमा कृषि विकास बैँक लि. प्रादेशिक कार्यालयका प्रमुख घनेन्द्र अधिकारी, गण्डकी मेडिकल कलेजका सहप्राध्यापक प्रमिला पौडेल, नेपाल विद्युुत् प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केदारराज सिलवाल, महावीर गण एयरपोर्ट व्यारेकका गणपती सन्तोष चन्द, युवा उद्यमी तथा समाजसेवी प्रवेश चन्द उप्रेती लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षणमा विभिन्न क्षेत्रमा आवद्ध संघसंस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।   कोषले हाल कर्मचारी बचत बृद्धि अवकाश कोष, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, सावधिक जीवन बीमा कोष, नागरिक पेन्सन योजना, पूजीँ बजार सम्बन्धि सेवा, घरकर्जा तथा सरलकर्जा जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त योजना तथा कार्यक्रममा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताहरुले अनलाइन प्रणालीबाट रकम दाखिला गर्न सक्ने कोषले जनाएको छ ।    सोही अवसरमा संस्थाका अफिसर हरिशचन्द्र श्रेष्ठले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण तथा डेमो प्रस्तुत गर्नुभएको थियो । नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उमा आलेमगरले गर्नुभएको थियो ।    

नेपाली कांग्रेस कास्कीले विशेश्वरप्रसाद कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा विपिचोक सिंगारेको छ ।    पोखरामा मुख्य बजार क्षेत्रको चोकमास्थित विपिको शालिक र उक्त क्षेत्रमा सरसफाई एवं पुष्परोपण गर्दै कांग्रेसले स्वर्गीय नेतालाई सम्झेको छ ।    उक्त अवसरमा कास्की सभापति किशोरदत्त बरालले विपीको सिद्धान्त र आदर्शमा नेपाली कांग्रेस अघि बढेको बताउँदै सम्पूर्ण कार्यकर्तालाई विपिबारे अध्ययन गर्न र बुझ्न अनुरोध गरे ।    कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ९ को समेत सहभागिता रहेको थियो ।