म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

  काठमाडौँ:    सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले केसीलाई दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।   कलाकार केसी चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय हुनुहुन्छ । केसीले सय भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ भने यसअघि गायन क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।   केसीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा रहेका थिए ।

  काठमाडौँ:   देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।    उहाँका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।  बिहीबारदेखि मनसुन थप सक्रिय हुने बताइएको छ ।    विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु सबैमा अनुरोध गरेको छ ।   रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।   मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

बाँके:    बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।   मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो ।   उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ ।    “घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, प्रनाउ न्यौपानेले भन्नुभयो । उहाँले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । 

  काठमाडौँ:     शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा दिनसक्ने भएकाले शिक्षक अध्ययनशील बन्नुपर्ने शिक्षकहरूकै प्रतिक्रिया छ ।    शिक्षक नियमित विद्यालय जान्छ र शिक्षण गर्छ । नियमित विद्यालय जानु, शिक्षण गर्नु शिक्षकको पेशागत दायित्वभित्र पर्छ । शिक्षकले कक्षामा दैनिक विभिन्न विषयवस्तु शिक्षण गर्नुपर्ने हुन्छ, शिक्षण गर्ने विषय आफूले पनि अध्ययन गरेको भए सहज हुने शिक्षकहरू बताउँछन् । शिक्षक शिक्षकसँगै विद्यार्थी पनि हो । असल शिक्षकले जहिले पनि कक्षाकोठामा प्रवेश गर्नुपूर्व तयारीस्वरुप विषयवस्तु राम्रोसँग अध्ययन गर्न जरुरी रहेको कर्णाली मावि टीकापुरका गणित शिक्षक ज्ञानेन्द्र जोशी बताउनुहुन्छ । “मेहेनती र अध्ययनशील शिक्षकले नै विद्यार्थीलाई विषयवस्तुमाथि राम्रोसँग प्रस्ट्याउन सक्छ र छोटो समयमा धेरै ज्ञान दिन सक्छ र यसका लागि हामी पनि विद्यार्थी बन्न अर्थात् विषयवस्तुको ज्ञान हुनुपर्छ”, उहाँ भन्नुहुन्छ, “शिक्षकले कुन विषयवस्तु शिक्षण गरिँदैछ, शिक्षणको उद्देश्य के हो ? कतातिर जाँदैछ अर्थात् विषयवस्तु शिक्षण गर्दा कुन कुरालाई बढी केन्द्रित गर्नेजस्ता कुराको तयारी गर्न आवश्यक छ । म कक्षामा जानुपूर्व पाठ्यक्रमका आधारमा तयारी गरेर जान्छु ।”   ज्ञान र सिकाइ जति अध्ययन गर्यो त्यति बढ्दै जान्छ । शिक्षकले शिक्षण गर्दा विद्यार्थीको मनोविज्ञानसमेत अध्ययन गर्नुपर्छ । कुन विद्यार्थीले कसरी कुन माध्यमबाट विषयवस्तुलाई शिक्षण गर्दा विद्यार्थीले छिटो बुझ्दछ भन्ने कुराको ज्ञान हुन जरुरी रहेको सरस्वती माध्यामिक विद्यालय बनगाउँकी अङ्ग्रेजी शिक्षक सम्झना अर्याल बताउनुहुन्छ । “सबै शिक्षकले नियमित कक्षामा गई कक्षा शिक्षण गर्नुहुन्छ । तर कक्षामा जानुपूर्व विषयवस्तु राम्रोसँग अध्ययन गरेको र नगरेको शिक्षकले विद्यार्थीलाई दिने ज्ञान र विषयवस्तुमाथिको दखलतामा फरक देखिन्छ”, उहाँ भन्नुहुन्छ, “राम्रो शिक्षणका लागि शिक्षक पनि विद्यार्थी हुन जरुरी छ । विषयवस्तुमाथि पूर्वतयारी जरुरी छ ।”   यसैगरी शिक्षकले कक्षामा शिक्षण गर्दा शिक्षणपश्चात विद्यार्थीको उपलब्धि के रहन्छ भन्ने कुराको ज्ञान लिनुपर्ने हुन्छ । विद्यार्थीलाई कति मात्रामा ज्ञान दिने, कुन विधिमार्फत शिक्षण गर्ने भन्ने कुरा शिक्षकले मानसिकता बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायतको भनाइ छ । “शिक्षकको तयारी र ज्ञानका भरमा शिक्षण सिकाइमा प्रभाव पर्छ”, उहाँ भन्नुहुन्छ, “सिकाइ प्रभावकारी बनाउन शिक्षक पहिला विद्यार्थी बन्नुपर्छ । शिक्षकले कक्षाकोठा र विद्यार्थीबाट पनि ज्ञान लिइरहेको हुन्छ ।”   मानिस आफैँमा पूर्ण हुँदैन सिकाइमा पूर्णताका लागि मेहेनत निरन्तर आवश्यक हुन्छ । समय र परिस्थितिअनुसार विषयवस्तु परिवर्तन भइरहने भएकाले शिक्षकले पहिले आफूले विषयवस्तु राम्रोसँग अध्ययन गरेर कक्षाकोठामा प्रवेश गरेमा सिकाइ प्रभावकारी र गुणस्तरीय हुने लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपाने बताउनुहुन्छ । “विषयवस्तु राम्रोसँग अध्ययन गरेको र पूर्वतयारी गरेको शिक्षकले नै राम्रोसँग शिक्षण गर्न सक्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले सिकाइका लागि शिक्षकको लगाव र रुचि पनि महत्वपूर्ण हुन्छ ।” शिक्षा तथा समन्वय एकाइ कैलालीका अनुसार जिल्लामा जम्मा ५६५ सामुदायिक विद्यालय छन् ।

  पोखरा:  अखिल नेपाल भूमिहिन सुकुम्बासी संघले आज विरोध जनाउँदै पोखरा महानगर घेराउ गरेको छ ।   सुकुम्बासीमाथि पोखरा महानगरले ज्यादती गरेको भन्दै अखिल नेपाल भुमिहिन सुकुम्बासी संघले आज (सोमबार) पोखरा महानगरपालिकाको कार्यालय घेराउ गरेको हो ।   नेकपा (बिप्लव समुह) कास्कीका सचिव काजी गुरुङले आन्दोलनमा बोल्दैे मेयरको कार्यशैली न्यायचित  नभएको तर्क राखे । उनले मेयरले पोखरेली नागरिकहरुलाई समान व्यवहार नगरको बताउदै भने, ‘आदरणीय मेयरसाब तपाई मेयरसाब हैन मेयरसाँप हुनु भो । हामी  सुकुम्बासीमाथी दानवीय दृष्टिकोण राख्नुभो । ठुला पदमा बसेर  हामीलाई विभेद गर्नुभो, उनले थपे ‘हामीलाई गरिखान दिइएन ।  हाम्रो जग्गा जमिन खोसियो र हामिले उब्जाएको तरकारीमा बुट प्रहार गरियो । यो हामीलाई सहनीय छैन ।’   गुरुङले भूमिहिन सुकुम्बासीहरुमा मेयरको निरन्तर पक्षघाति दृष्टिकोण रहेको जनाउँदै उनले भने, ‘तपाइले माक्र्सवाद, लेनीनवाद पढ्नु भएकोछ र यदि तपाई समाजवादी मेयर हो भने आदरणीय मेयरसाब तपाई धनी धनराज भएर हैन, सेवक धनराज भएर जनताको समस्यामा गम्भिर हुनुहोस् ।’   आन्दोलनमा नालायक करोडपति मेयर मुर्दावाद, बास, गाँस, कपासको ग्यारेन्टि गर, सुकुम्बासीको अधिकारको रक्षा गर, लगायतका नारासहित  महानगर अगाडी प्रदर्शन गरिएको थियो ।   पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित​ सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरु बल प्रयोग गरि हटाएको थियो ।

  विराटनगर:   प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६  नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।    खोप लगाउनेमध्ये १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो  मात्रा, ७९ प्रतिशतले दोस्रो र पाँच प्रतिशतले बुस्टर डोज खोप लगाएको प्रमुख साहले बताउनुभयो । प्रदेशमा कोभिड– १९ विरुद्धको  छ प्रकारका  खोप नागरिकलाई लगाएका छन् । यसरी लगाइएका खोपमा  कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका, फाइजर र मोर्डना रहेका छन् ।       प्रदेशमा  अहिलेसम्म ७१ लाख ५७ हजार ४३९ मात्रा खोप आएको छ । कतिपय नागरिकले पहिलो खोप लगाएपश्चात विदेश गएको, अन्य प्रदेशमा लगाएको र व्यवस्थित अभिलेख राख्न नसकेका कारण दोस्रो तथा बुस्टर मात्रा कम देखिएको छ ।   प्रदेशका तराईका जिल्लाको तुलनामा पहाडी तथा हिमाली जिल्लामा खोप लगाउनेको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको प्रमुख साहले बताउनुभयो । तराई क्षेत्रमा विभिन्न अफवाह एवं भ्रमका कारण खोप लगाउनेको सङ्ख्या कम हुन गएको केन्द्रले जनाएको छ ।     यस्तै प्रदेशका १० जिल्लामा भेरोसेल, जोनसन र फाइजर खोपको मौज्दात रहेको केन्द्रले जनाएको छ । ताप्लेजुङ, ओखलढुङ्गा, धनकुटा, मोरङमा कोभिड १९ विरुद्धको खोप मौज्दात नरहेको केन्द्रका निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।       प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र कार्यालयमा फाइजरको एक लाख ७४ हजार ८०० सय मात्रा मौज्दात  रहनुका साथै प्रदेशका सबै जिल्लामा गरी चार लाख १८ हजार डोज खोप बाँकी रहेको कार्यालयका श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशमा अहिले सरदर दुई हजार ८५० जनाले दैनिक खोप लगाइरहेको कार्यालयका प्रमुख साहले बताउनु भयो ।      यस्तै प्रदेशमा ११ हजार कोभिसिल्ड खोप खेर गएको छ । केन्द्रका अनुसार म्याद सकिन १५ दिन बाँकी रहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडाँैबाट उक्त खोप पठाएका कारण खेर गएको हो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख साहले यसअघि पनि प्रयोग हुन नसक्द अष्ट्राजेनेकाको ५० हजार खोपको  मात्रा खेर गएको थियो । 

काठमाडौँ:     भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।    आइतबार भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका तीनै जनालाई महोत्तरीको औरही नगरपालिका–४कठुधारस्थित  प्रहरी चौकीका प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए ।    उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नाइट्राभेट–१० लेखिएको ९९ पिस लागुऔषध बरामद बरामाद भएको  र तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकोे थियो । 

तनहुँ:   साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो ।       साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाटमा मेला भरेका थिए । देवघाट क्षेत्र विकास समितिका अनुसार तनहुँ, चितवन, नवलपुरका अतिरिक्त आसपासका जिल्लाबाट पनि उल्लेख्य मात्रामा भक्तजन देवघाट आइपुगेका छन् ।       साउनमा पाँच सोमबार परेकाले भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेका अनुसार साउनका पाँच सोमबार गरेर एक लाख ५० हजारभन्दा बढी भक्तजन देवघाट आउने अनुमान गरिएको छ । देवघाट आउने भक्तजनका लागि ट्राफिक प्रहरी कार्यालयले रुट निर्धारण गरेको छ । कोरोना कहरका कारण अघिल्लो वर्ष औपचारिक रुपमा मेला आयोजना गरिएको थिएन ।       देवघाट क्षेत्र विकास समितिले दुई वर्षपछि बोलबम मेला आयोजना गरेको हो । घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।       देवघाटमा हरेक वर्ष साउनको सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । साउनमा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवका रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास रहँदै आएको छ ।

नवलपरासी:     नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा गैँडकोटको बेरुजु बढेको हो ।    गैँडाकोटमा हालसम्म रु नौ करोड १९ लाख ८५ हजार बेरुजु देखिएको छ । आव २०७६/७७ मा भन्दा आव २०७७/७८ नगरपालिकाको बेरुजु बढेको हो । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार आव २०७६/७७ सम्म गैँडाकोटमा रु चार करोड १५ लाख १८ हजार बेरुजु रहेको थियो भने आव २०७७/७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुजु थपिएको छ ।       आव २०७६/७७ को बेरुजुसमेत समायोजन र समपरीक्षणबाट फछ्र्यौट एवं आव २०७७/७८ को रु पाँच करोड ४२ लाख ४४ हजारसहित रु नौ करोड १९ लाख ८५ हजार बेरुजु पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयको प्रतिवेदनअनुसार नगरपालिकामा आव २०७७/७८ मा रु पाँच करोड ४२ लाख ४४ हजार बेरुजु रहेको छ । त्यस्तै आव २०७६/७७ मा रु दुई करोड ६० लाख दुई हजार, आव २०७५/७६ मा रु पाँच करोड ९९ हजार र आव २०७४/७५ मा रु एक करोड ४२ लाख ६० हजार बेरुजु थियो ।      बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेस्की रकम गरी हालसम्मको अद्यावधिक बेरुजु रु नौ करोड १९ लाख ८५ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।