काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेपछि मन्त्रिपरिषद् बैठक सुरु भएको छ । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न थालेका ‘राष्ट्रिय महिला भेला’ को तयारी पूरा भएको जनाएको छ । सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिए। भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागी हुनेछ । एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को संकल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ । भेला जेठ १६ र १७ गते सञ्चालन हुनेछ । भेलामा सहभागीहरूले १२ समूह विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने एमालेका केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले सोमबार दलबीच संसदीय समिति गठन गर्ने विषयमा भएको निष्कर्षउन्मुख सहमतिलाई अनुमोदन गरेको छ । सदनमा भएका प्रमुख दलबीच समिति गठन गर्ने, समितिमा रहने सदस्यको सङ्ख्या, कार्यादेश के हुने र छानबिन गर्ने अवधिबारे समेत सहमति भएको कांग्रेस प्रमुख रमेश लेखकले जानकारी दिए । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकोसमेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरी संसद् बैठक अवरुद्ध गर्दै आएको थियो । समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलले आजै कार्यादेश अन्तिम रुप दिनेछ। त्यस्तै आजै अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समिति गठन गर्ने उनले बताए । त्यसअघि नै सङ्घीय संसद् सचिवालयलाई समितिमा रहने आफ्नो पार्टीकोतर्फबाट नाम दिने कांग्रेसले जनाएको छ । प्रमुख सचेतक लेखकले कार्यादेशमा व्यक्तिको नाम र पद लेख्नेभन्दा पनि सहकारीको नाम र अपचलन भएको सन्दर्भमा संलग्न जोसुकै व्यक्तिबारे अनुसन्धान हुने स्पष्ट पारे।
रूकुम पश्चिम: यार्सागुम्बा टिप्न डोल्पा गएकी रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ गोतामकोटकी जमूना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ। डोल्पाको काइके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए। उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन्। ‘बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फर्किदै गर्दा मृत्यु भएको हो,’ वडाध्यक्ष विष्टले भने, ‘सशस्त्र प्रहरी बलको सहयोगमा र्गए राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो।’ अहिले अस्पतालमा पोष्टमर्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टमर्टम पश्चात् शव गोतामकोटमा ल्याइने बताए।
पोखरा: पोखरा महानगरपालिका–८ जाल्पा रोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । कास्की प्रहरीका अनुसार सोमबार मन्ध्यान्ह करिब पौने १ बजे नारायण पौडेलको घरको ढोकामा नवजात शिशु भेटिएको हो । घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएपछि नवजात शिशु (बालक)को उद्धारपश्चात उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ) राखिएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले छाड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सिन्धुली: डलर साट्ने प्रलोभन देखाई अठार लाख रुपैया ठगेर भाग्दै गर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित लौकुन भन्ने स्थानमा अपरिचित व्यक्तिहरुले डलरको पोको भनि रुमालमा पोको पारेको २० का नेपाली नोट र कागजका टुक्राहरु दिई इलाम जिल्लाको इलाम नगरपालिका १ का ४४ बर्षिय राजु गौतमसँगको अठार लाख लिएर भागेको भन्ने सुचनाको आधारमा मध्यपहाडी लोकमार्गस्थित हैबारबेसीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ३ को २४ बर्षिय श्याम तामाङ, सोही ठाँउका २६ बर्षिय तेन्जेन पाइन र २७ बर्षिय नारायणबहादुर पाइन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लले जानकारी दिनुभयो । उनिहरुलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले गोलञ्जोर गाँउपालिका वडा नम्बर ६ हैवारबेशीमा लुकीछिपी बसीरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । उनिहरुको साथबाट गाढा निलो रंगको झोला भित्र रहेको नेपाली अठार लाख, यूएस डलर १ को २ सय ३७ थान, बा।प्र।०२–०४४प४३०९ नम्बरको ३५० सीसीको रातो कालो बुलेट मोटरसाइकल, बा।प्र।०२–०४५प६३०२ नम्बरको २२० सीसीको कालो रातो पल्सर मोटसाइकल बरामद भएको प्रहरी उपरिक्षक काफ्लले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीको ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको १३ गतेको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी पदोन्नति भएका हुन् । उनीहरुलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरे । सो अवसरमा बोल्दै महानिरीक्षक कुँवरले राष्ट्र जनता र संगठनप्रति गरेको योगदान कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण संभाव्य आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताएका थिए । सोही समारोहकाबीच नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को गत ६ गतेको निर्णयानुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक श्री भगवान प्रसाद कुशवाहलाईसमेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आफ्नै संघर्षबाट जनताले आफैले विजय हाँसिल गरेको यो विशेष दिन भन्दै उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको १९ दिने जनआन्दोलन २०६२/६३ एवम् विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँले यस क्रममा घाइते तथा अपाङ्गता हुनुभएकाहरु, बेपत्ता योद्धाहरूको उच्च कदर गर्नुभएको छ । सम्पूर्ण आन्दोलनहरूलाई नेतृत्व प्रदान गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी नागरिक समाजका अगुवाहरू, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी एवं आम जनसमुदायको योगदानको पनि उच्च सम्मान र प्रशंसा गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै चयन गरेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु हाम्रो गणतन्त्रको मूलभूत विशेषता रहेको छ ।’ सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने भन्दै उहाँले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभयो । गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा पनि उहाँले गर्नुभयो । आजको यस ऐतिहासिक दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा पनि प्रकट गर्नुभएको छ ।
पोखरा: बङ्गुरपालनको पकेट क्षेत्र पोखरा–२७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बङ्गुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाले पहलकदमी थालेको छ । महाशाखाले बङ्गुरपालन कृषकहरुलाई लक्षित गरी जलजले बङ्गुर ब्रिडर कृषक समुहलाई ८० वटा बंगुरका पाठा वितरण गरेको छ । गत वर्ष अफ्रिकन स्वाइन फ्लुबाट ४ हजार बढी बङ्गुर मरेर क्षती पुगेको जलजले बंगुर ब्रिडर कृषक समुहलाई बङ्गुरको पाठा वितरण गरेको हो । बङ्गुर पाठा वितरण कार्यक्रममा बोल्दै पोखरा २७ का कार्यबाहक अध्यक्ष जितेन्द्र क्षेत्रीले अघिल्लो वर्ष महामारीको रुपमा फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण ब्यवसायीहरुको खोर रित्तिएको अवस्थामा पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाबाट बंगुरको पाठा वितरण गरी कृषकलाई राहत प्रदान गरेको बताउदै वडाले पनि जलजलेका कृषकलाई राहत प्रदान गर्ने गरी काम गर्न प्रतिवद्ध रहेको समेत बताए पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका प्रमुख मनहर कडरियाले बङ्गुरको पकेट क्षेत्रको रुपमा रहेको जलजले बंगुर ब्रिडर कृषक समुहमा आवद्ध ब्यवशायीहरुलाई राहत पुगोस भन्ने उद्देश्यले बंगुरको पाठा वितरण गरिएको बताए । कडरियाका अनुसार गत वर्ष फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण जलजले बङ्गुर ब्रिडर कृषक समुहमा आवद्ध १९ वटा फर्मका बंगुरहरु मरेर नष्ट भएको र अघिल्लो वर्षनै महानगरले बंगुरको पाठाहरु बितरण गरेको र अहिलेपनि त्यसको फ्लो अप स्वरुप पचास प्रतिशत सझेदारीमा पुनः बङ्गुरको पाठा बितरण गरिएको हो । बायो सेक्रेटरीलाई ध्यान दिन नसक्दा विभिन्न रोगहरु लाग्ने बताउदै त्यसतर्फ महानगरले सहयोग गर्ने र कृषकहरुपनि त्यस तर्फ सचेत हुनुपर्ने उनको भनाइ रहेको थियो । जलजले बंगुर ब्रिडर कृषक समुहका अध्यक्ष पदम बहादुर थापाले कोरोनाको मार खेपेको कृषकले अफ्रिकन स्वाइन फ्लुका कारण खोर नै रित्तिदा कतिपयले ब्यवसायनै छाडेको बताउदै आफुहरुलाई महानगरले गरेको सहयोगका कारण ब्यवसायलाई निरन्तरता दिन सहज भएको बताए । स्वाइन फ्लुका कारण समुहमा ४ हजार बङ्गुर नष्ट भएको बेला महानगरले पाठा वितरण गरेर ब्यवशायलाई निरन्तरता दिन सहयोग गरेर अगाडी वढिरहदा फेरिपनि पाठा वितरण गरेर जलजलेका कृषकलाई गुन लगाएकोमा महानगरप्रति थापाले आभार प्रकट गरे । उक्त कार्यक्रममा पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका नवराज अधिकारी, राजेन्द्र लामिछाने लगायतको सहभागीता रहेको थियो । ३५ को हाराहारीमा फर्म रहेको जलजलेमा हाल १९ वटा फर्म हरु संस्थामा आवद्ध रहेका छन ।

