पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखरा:    नेपालले केन्यालाई पराजित गर्दै बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ५९–५५ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।  ४० मिनेटको निर्धारित समय नेपाल र केन्या ५०–५० अङ्कले बराबरी खेलेपछि खेल पेनाल्टी (५ रेडमा ) धकलिएको थियो । नेपालले पेनाल्टी (५ रेडमा) केन्यालाई ५९–५५ अङ्कले पराजित गरेको हो ।  उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए । कप्तान रोकामगर जारी प्रतियोगितामा पाँचौ पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् । नेपालको राष्ट्रिय कबड्डी टिममा गण्डकीका बिशाल थापामगर पनि रहेका छन् ।  यस्तै पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशले थाइल्याण्डलाई ४१–१८ अङ्कले पराजित गर्दै फाइनल पुगीसकेको छ ।  बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले समूह चरणको ५ खेल मध्ये ४ खेलमा विजयी हुँदै समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा मलेसिया, पोल्याण्ड,  दक्षिण कोरिया, इन्डोनेसिया माथि जित निकालेको थियो । भने, बंगलादेशसँग पराजित भएको थियो ।   

पोखरा:     बागलुङको बलेवास्थित धौलागिरी बहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन्दै गईरहेको छ । तीन वर्षे डिप्लोमा अन्तरगत शिक्षालयले यि दुई विषयमा देशभरीका ४० जना विद्यार्थीलाई पढाउँदै आईरहेको छ । यहाँबाट शिक्षा प्राप्त गरेका विद्यार्थीहरुले स्थानीय तहमा कृषि तथा पशु प्राविधिक पदमा जागिर खाईरहेका छन् भने कतिपय विद्यार्थी स्वरोजगार भईरहेका छन् । ‘हाम्रो शिक्षालयका अधिकाँश उत्पादन खाली बस्नु परेको छैन ।’ शिक्षालयका प्रिन्सिपल राजन नेपाली भन्छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आंगिक क्याम्पसको रुपमा सञ्चालित यो शिक्षालयले बाली विज्ञान तथा पशु विज्ञानमा अध्यापन गर्न ४०÷४० जनाको कोटाको अनुमति पाएको छ । तत्कालीन शिक्षामन्त्री तथा यसै क्षेत्रका सांसद दिननाथ शर्माको पहलमा २०७४ सालमा स्थापति धौलागिरी बहुप्राविधिक शिक्षालयमा शुरुआती वर्षहरुमा कोटा अनुसार नै विद्यार्थी भर्ना भईरहेका थिए । तर अहिले भने विद्यार्थी भर्नादर कम भएको प्रिन्सिपल नेपाली बताउँछन् । स्थानीय बासिन्दाले यस क्षेत्रमा वहुप्राविधिक शिक्षालयको आवश्यकता महसुस गरेर तत्कालीन शिक्षामन्त्री शर्मासँग माग राखेका थिए । ‘शुरुमा कोटा अनुसार नै विद्यार्थी भर्ना थिए, तर अहिले भने २२ जना विद्यार्थीलाई पढाउनु परिरहेको छ ।’ नेपालीले भने । शुरुका वर्षहरुमा यस शिक्षालयमा बागलुङ, पर्वत तथा म्याग्दीका विद्यार्थीहरुको बाहुल्यता रहेको थियो । प्रिन्सिपल नेपालीका अनुसार अहिले यहाँ पुर्वदेखि पश्चिमसम्मका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । टाढाका छात्राहरुलाई लक्षित गरेर शिक्षालयले १०० जना क्षमताको छात्राबास पनि सञ्चालन गरेको छ । छात्राबासमा छात्राहरुलाई मात्रै बस्ने सुविधा छ । खानाको पैसा भने विद्यार्थीले तिर्नुपर्ने हुन्छ । छात्रहरुले भने खाने बस्ने व्यवस्था आँफै मिलाउनुपर्ने नेपालीको भनाई छ । शिक्षालमा बिहान १० बजेदेखि ५ बजेसम्म सैद्धान्तिक र प्रयोगशालाको पढाई हुन्छ । प्रिन्सिपल नेपालीका अनुसार बाँकी विहान र बेलुकाको समयमा विद्यार्थीले प्रयोगात्मक अभ्यासहरु गर्ने गर्दछन् । ‘यहाँ प्रयोगात्मक अभ्यासको लागि, कुखुरा फार्म, माछा पोखरी, बाख्रा फार्म, गाई गोठ, प्लाष्टिक टनेल, बारी छन् ।’ उनले भने, ‘नियमित सैद्धान्तिक कक्षापछि विद्यार्थीहरुले यहाँ प्रयोगात्मक अभ्यास गर्ने गरेका छन् ।’ यसका लागि शिक्षालयसँग छात्राबास सहित १ सय १५ रोपनी जमिन रहेको छ । सैद्धान्तिक र प्रयोगात्मक कक्षा समानान्तर हुने भएकाले यहाँका विद्यार्थीहरु आफ्नो क्षेत्रमा अब्बल ठहरिएको नेपालीको दावी छ । यि विद्यार्थीहरुलाई पढाउन १८ जना प्राविधिक शिक्षक सहित २७ जना कर्मचारी छन् । शिक्षालयले प्रति विद्यार्थी ५० हजार शुल्क लिँदै आएको छ । ‘एक वर्ष ५० हजार तिरेपछि तीन वर्षे डिप्लोमा कोर्ष पुरा हुन्छ ।’ उनले जानकारी दिए । तीन वर्ष यहाँ अध्ययन गरेपछि ईच्छुक विद्यार्थीले चाहेमा विश्वविद्यालयको अध्ययन अगाडी बनाउन सक्ने नेपालीले बताए । ‘यहाँको मान्यता भनेको प्लस टु सम्मको हो, पास गरेपछि विद्यार्थीले वि एस्सी एजी पढ्न सक्छ ।’ उनले भने । बहुप्राविधिक शिक्षालय सञ्चालन भएपछि यस क्षेत्रमा पानीको अभाव छ । जसका कारण प्रयोगात्मक कक्षाको लागि पर्याप्त पानी पुग्दैन । माछा सम्बन्धि प्रयोगात्मक अध्ययन गर्नुपर्यो भने, कहिलेकाही त पोखरी रित्तै हुने नेपालीको दुखेसो छ । गण्डकी प्रदेशमा विभिन्न संघसंस्था र विद्यालयहरुले बाली र पशु विज्ञान विषय अध्यापन गराईरहेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद गण्डकी प्रदेशका सूचना अधिकारी शरद कोइरालाका अनुसार यस प्रदेशमा ३० वटा सामुदायिक विद्यालयले प्राविधिक धारतर्फ बाली र पशु विज्ञान विषय पढाईरहेका छन् । यसैगरी ३ वटा साझेदार संस्थाहरुले यि विषय पढाईरहेका छन् भने, परिषद आँफैले आँगिक कलेजको रुपमा ८ वटा शिक्षालय सञ्चालन गरिरहेको छ । तर पनि प्रदेशका सबै वडाहरुमा कृषि तथा पशु प्राविधिकहरुको अभाव कायमै छ । गण्डकी प्रदेशमा रहेका ८५ वटा गाउँपालिकाका ७ सय ५९ वडा मध्ये अधिकाँश वडामा कृषि तथा पशु प्राविधिक छ्रैनन् । प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका सूचना अधिकारी ज्योती क्षेत्रीका अनुसार सबै वडामा प्राविधिक पुर्याउन लोक सेवा आयोग मार्फत परीक्षा लिईएको र छिट्टै प्राविधिकहरु वडा वडा जानेछन् । 

गलकोट:      सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले ।  आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि पर्यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो । बागलुङ जिल्लाको गलकोट नगरपालिका(४ चमुवा फाँटमा हाते ट्र्याक्टरले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो । गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेको स्थानीय रतनबहादुर सुनारले बताउनुभयो । चमुवा फाँटमा अहिले पाँच हल गोरु रोपाइँमा प्रयोग भइरहेका छन्  ।  “हाते ट्र्याक्टरले जोत्दा माथिमाथि मात्रै जोत्दो रहेछ, गहिरो नजोत्दा उत्पादनमा समस्या भयो, गहुँ र मकै ढल्ने समस्या देखियो । हेर्दा छरितो भए पनि दीर्घकालीनरुपमा गोरुले जोत्दा खेतीयोग्य जमिनलाई राम्रो हुने हामीले महसुस गर्यौँ,” सुनारले भन्नुभयो, “चमुवामा हाते ट्र्याक्टर नआउँदा १० हल गोरु थिए, हाते ट्र्याक्टर आएपछि धेरैले गोरु बिक्री गरे । पछि गोरुले जोत्दा बाली राम्रो भयो, हाते ट्र्याक्टरमा हाल्ने पेट्रोलको भाउसमेत दोब्बर भयो, त्यसैले गोरुले जोत्न थालियो ।” चमुवामा छ दिनको मेलो रोपाइँको तयारी गर्नुभएका शेरबहादुर न्यौपानेले गोरुकै सहायताले खेतमा धान रोप्न लागेको बताउनुभयो । पेट्रोलको मूल्य दोब्बर हुनु र उपकरण बिग्रिरहने समस्याले किसानहरु हाते ट्र्याक्टर छोडेर पुनः गोरु पाल्न थालेको बताउँछन् । गोरु लोप हुन थालेपछि पछिल्लो एक वर्षयता बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनसमेत गर्न थालेका छन् ।  एक हल गोरु पाल्ने किसानलाई १० हजारका दरले अनुदान दिन लागिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । बागलुङ नगरपालिकाले गोरु किसानलाई प्रोत्साहन गर्न  चार लाख बजेट विनियोजन गरेको नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।   कृषिमा आधुनिकीकरणका कारण गोरु लोप हुन थालेपछि गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा गोरुको महत्व बढेको छ । थ्रेसर मेसिन र ट्र्याक्टरले उत्पादन लागत घटाउने भए पनि पेट्रोलको मूल्य बढेपछि हाते ट्र्याक्टरको प्रयोग बिस्तारै घट्न थालेको छ ।

चितवन:     चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना ४ च ८८५५ नम्बरको जीप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै भारतको महाराष्ट्र प्रान्तको मुम्बईको बेण्डाली थानाका रहेका प्रहरीले जनाएको छ । घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशङ्कर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर तथा ६२ वर्षीय पङ्कज गुप्तेश्वर रहेका छन् । घाइते पर्यटकको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको छ । चितवनको रत्ननगर नगरपालिका–४ घर भएका चालक ४५ वर्षीय सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं:    नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत मे महीनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल आएका हुन्।  सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ। सन् २०२३ को मे महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएका थिए। कोभिड-१९ महामारीपूर्व ७८ हजार ३०० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ। तुलनात्मक रुपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रुपमा पर्यटक बढेका छैनन्,” लामिछानेले भने। गत महीनामा झै यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अवधिमा चीनबाट आठ हजार ३८१ जना पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट आठ हजार ५२७ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ।  

पोखरा:    “हाम्रो सदिक्षाः युवालाई रोजगारी, बालबालिकालाई शिक्षा” भन्ने मुल नाराका साथ सञ्चालीत हाम्रो नयाँ अवसर सामुदायीक संस्था–(ओनो) नेपालले शनिबार कास्की र म्याग्दीमा छात्रवृत्ति वितरण गरेको छ । कन्या मावि पोखरा नदिपुरमा आयोजित कार्यक्रमा सामुदायिक विद्मालयमा अध्यनरत गरिब तथा जेहेनदार विद्मार्थीलाइ नगद तथा जिन्सीसहित छात्रवृत्ति प्रदान गरको हो । कार्यक्रममा कन्या मावि ,अम्बिका मावि ,भुमेश्वर मावि , फुम्रो खौ मावि, सरस्वती टीका, जनता आधारभुत साथै ज्ञानज्योतिका गरि सात विद्मालयका ४६ जना विद्मार्थीलाई अभिभावकको उपस्थितिमा छात्रवृत्ति प्रदान गरेको छ ।  कन्या मावि व्यवस्थापन समिति अध्यक्ष चिरञ्जिबी द्धवले छोटो समयमा कास्की, म्याग्दी ,लमजुङ्ग,चितवनमा क्षेत्र विस्तार गरि उल्लेखनीय कार्य गरेकामा विषेश धन्यवाद दिदै यस्ता परोपकारी संस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।  कार्यक्रममा सल्लाहकार डिल्लिराम आर्चाय, कन्या मा.वि प्रचार्य  यम ब। बुढाथोकी, जानज्योतिका प्र.अ यम कार्की, फुम्रो खौ माविका शिक्षक खगराज भण्डारी साथै भुमेश्वर आ.वि माछापुच्छे« शि.अ.स.अध्यक्ष बसन्त अधिकारीले धारण राखेका थिए ।  विद्मार्थीको तर्फबाट कन्याका आरती तिलिजा,अम्विका बाट निश्चल रानामगर,भुमेश्वर आ.वि बाट यूनिका तामाङ्ग लगायतले ओनो परिवारलाई शिक्षाको यौ सुनौलो  अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिएका थिए ।    संस्थाका अध्यक्ष देवीलाल शर्मा दाहालले आज पोखरामा ४६ र म्याग्दीको रितुङ्गा मा.वि, अमर मा.वि चिमखोला,जनसुन्दर आ.वि रघुगंगा, रघुगंगा आ.वि साथै जनसेवा  आ।विमा गरि थप २५ विद्मार्थीलाई छात्रवृत्ति प्रदान गरेको स्पष्ट पार्दै लमजुङ र चितवनका विद्मार्थीलाइ छिटै प्रदान गर्ने तयारी रहेको उल्लेख गरे  ।

कास्की:  पशुपंछी प्रेमी समूह पोखराले शनिबार राष्ट्रिय पशुपंछी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।   पोखराको चिप्लेढुंगा नजिकै रहेको मानव अधिकार चोकको चौतारामा जम्मा भएर प्लेकार्ड प्रदर्शनी, पशुपंछीप्रति श्रद्धाञ्जली, दीप प्रज्वलन तथा मौनधारण गरी शान्तिपूर्ण कार्यक्रम तबरले कार्यक्रम सम्पन्न गरेका हुन् ।   पोखरामा पशुपंछीका लागि काम गर्ने व्यक्तिहरू मिलेर बनेको समूह उक्त समूहका सदस्यहरु भेला भएर पशुपंछी कल्याण, पशुपंछी अधिकारका विषयहरु समेटिएका प्ले कार्डहरू प्रदर्शनी गरे ।   कार्यक्रममा बिशेष गरी पशुपंछीप्रति हुने विभिन्न किसिमका हिंसा, अत्याचारको अन्त्य हुनुपर्ने, अमानवीय रूपमा पशुपंछी ढुवानी गर्न नहुने, अण्डा उत्पादन गर्ने कुखुरालाई खुला रूपमा बाँच्न दिनुपर्ने, मानव जस्तै पशुपंछीलाई पनि स्वतन्त्र रूपमा जीवन बिताउन पाउने अधिकार भएको जस्ता सन्देशहरू प्लेकार्डमा समावेश गरिएका थिए ।   विशेष गरेर पशुपंछी कल्याण र अधिकार सुनिश्चितताका लागि पाँच किसिमका स्वतन्त्रता सुनिश्चित हुनु जरूरी रहेको पशुप्रेमीहरुको भनाई रहेको थियो । यी पाँच बुँदाहरु निम्न छन्:- १) भोक, प्यास र कुपोषण हुन नदिने । २) डर, त्रास तथा तनावबाट मुक्त हुनुपर्ने । ३) भौतिक तथा शित तापजन्य असुविधाबाट सुरक्षित गर्ने। ४) दुःख, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित गर्ने । ५) सामान्य व्यवहार अभिव्यक्त गर्न पाउने।

बागलुङ:     प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बागलुङमा रहेको न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरद्वारा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई सुविधा दिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दाङ:     दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा अश्रूग्याँस लागेर चार जना घाइते भएका छन् । स्वर्गद्वारी आश्रमको जग्गामा मोहि कायम भएका दाङका किसानहरुले मोही कायम भएको जग्गाको माग गर्दै घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेपछि प्रहरि अश्रुग्याँस प्रहार गरेर ताला फोडेको छ । ताला फोडेपछि कार्यालयको काम सुरु भएको छ । प्रर्दशनकारीले सरकारी कार्यालयमा तालाबन्दी र तोडफोड गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरि उनीहरुलाई हटाएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनु भयो । आन्दोलनरत किसानलाई हटाउन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो । सरकारले पटकपटक आफूहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवाव स्वरुप तालाबन्दी गर्नु परेको गुठि पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ । तालाबन्दी गरिएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरुले घेरेपछि प्रहरी उनीहरुलाइ हटाउन अश्रुग्याँस प्रहार गरेको हो ।