पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

पोखरा:   कास्कीको फुस्रेखोलामा डुबेर एक जना युवकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्न पुगेका पर्वतको कुश्मा नगरपालिका १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको हो ।   खोलामा पौडी खेल्ने क्रममा  डुबेर बेपत्ता भएको खबर पाएपछि खोज तलासका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भएको थियो ।   बेपत्ता सुवेदीको शव फुस्रे खोलाको २५ फिट गहिराइमा अड्किएर बसेको अवस्थाबाट झिकेको थियो ।   उक्त शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।           

पोखरा:   फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।   संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो ।    पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।    आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने संस्थाका सचिव शिव जिसीले जानकारी दिए । उनका अनुसार महिला र पुरुषको छुट्टाछुट्टै टिम रहने छ ।    प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनुपर्नेछ । सहभागी हुने टिमले काठबाट बनेको डुंगाको प्रयोग गर्नु पर्नेछ बताउदै सहभागी हुने एउटा टिमलाई ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको उनले बताए । प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।    सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्ने उनले बताए । प्रतियोगितामा पुरुष टिमले २१ सय मिटर र महिला टिमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।   प्रतियोगितामा प्रथम हुनेले ३० हजार हजार र द्वितिय हुनेले २ तथा तृतिय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने सचिव जिसीले जानकारी दिए ।   यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।    प्रतियोगिता सम्पन्न गर्नका लागि करिक २ लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्च गरिने आयोजकले जनाएको छ

पोखरा:      नेपाल सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुन आयातमा ५ प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय गरेपछि व्यवसायीहरुले निर्णय खारेज गर्न माग गरेका छन् ।  नेपाल  सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा वृद्धि गरिएको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।  नेपाल सरकारले २०८१/०८२ को बजेटमा भन्सार विद्येयकमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरि २० प्रतिशत पु¥याएपछि महासंघले खारेज गर्न माग गरेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले जानकारी दिए ।  अध्यक्ष सुनारले सरकारले गत वर्षपनि भन्सार महसुल विद्येयक २०८० मार्फत सुनको आयातमा भन्सार वृद्धि गरेको बताए । ‘सरकारले गतवर्ष पनि भन्सार वृद्धि गरेको थियो, सुन आयातमा वर्षपिच्छे भन्सार वृद्धि गर्दा विश्व बजारमा प्रतिस्पर्धा गर्न कठिनाई भएको छ, व्यवसायीहरुसँग कुनै सल्लाह नगर्दा व्यवसायीमा समस्या भएको छ, अध्यक्ष सुनारले भने, ‘ सरकारले व्यवसायीहरुसँग सल्लाह नगरी एकाएक भन्सार वृद्धि गर्दा यो व्यवसाय गर्ने कि नगर्ने अवस्थामा व्यवसायी पुगेका छन् ।’ उनले देशभर २० हजार बढी सुनचाँदी व्यवसायीसँगै २ लाख बढीले प्रत्यक्षरअप्रत्यक्ष रुपमा रोजगारी पाएको स्मरण गराए ।  सरकारले भारतीय बजारकोसमेत कुनै प्रवाह नगरी त्यहाँको तुलनामासमेत बढी हुने गरी सुन आयातमा भन्सार दर वृद्धि गर्दा व्यवसायीहरुले कारोबार गर्दा यसको असर उपभोक्तामा पर्ने भएको बताइएको छ ।  व्यवसायीहरुले अर्थमन्त्री पुनलाई ध्यानाकर्षण पत्र बुुझाउँदै सुन आयात भन्सार दर वृद्धि हुँदा छिमेकी मुलुक भारत र खुल्ला सिमानाका कारण अवैध कारोवारी समेत बढेर जाँदा र भारतीय सिमाना नजिकका नेपाली व्यवसायीहरुलाई त्यसको असर पर्ने मागपत्रमा उल्लेख छ ।   यस्तै अहिलेको आर्थिक विद्येयकले सार्क राष्ट्रबाट सुनको आयात गर्दा यो विद्येयकले व्यवसाय धरापमा पर्ने बताएका छन् ।  व्यवसायीहरुले नेपालमा कोटा प्रणालीमा आधारित रही सुन आयात भइरहेको नेपालको विद्यमान अवस्थामा राज्यले भन्सार दर वृद्धि गर्दा सुन आयातमा सरकारले प्राप्त गर्दै राजश्व समेत घटेर जाने विज्ञप्तीमा उल्लेख गरेका छन् ।  मागपत्रमा उल्लेख गरिएको छ, ‘नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात सम्बन्धी निर्देशिका अनुसार हाल दैनिक २० केजीका दरले बैंकहरु मार्फत सुन आयात गर्न पाउने ब्यवस्था छ । यो ब्यवस्था अनुसार राज्यले सिधा सिधा भन्सार मुल्यलाई मात्र आधार मानेर बर्षेनी भन्सार दर बृद्धि गर्ने गरेको पाइएको छ । तर राज्यले सोचको भन्दा ठीक विपरित हुनेगरी भन्सार दरमा  निरन्तर उच्च वृद्धि गरिँदा तोकिएको परिमाणमा सुनको आयात हुन सकेको छैन । जसका कारण राज्यले नियमति पाउने भन्सार शुल्क वृद्धि हुनुको अलावा झनै कम असुल हुन थालेको सरकारी तथ्याङकवाट नै प्रष्ट हुन्छ । र यसले बैध कारोबारलाई संरक्षण गर्न समेत सकेको छैन । निरन्तर भन्सार बृद्धिले बैध कारोबारमा असर पर्न गई अवैध कारोबारमा प्रोत्साहन हुन जाने तर्फ पनि माननीय मन्त्री ज्यू को ध्यानाकर्षण गराउन चाहन्छौं ।’ भन्सार महसुल विधेयक २०८१ मार्फत भन्सार दरमा भएको वृद्धिलाई तत्काल सुुधार गरी देशभरका सुनचाँदी ब्यवसायीहरु ब्यवसायवाट नै प्रतिस्थापन हुनबाट रोक्न समेत व्यवसायीहरुले माग गरेका छन् ।  

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा विकको उपचारका लागि आर्थिक सहयोग  गरिएको छ ।   स्थानीय प्रेम बहादुर विककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले आर्थिक सहयोग  गरिएको हो । उहाँको उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ ।     दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज यु.केको नेतृत्वमा रकम संकलन गरिएको थियो । संकलित रकम ३ लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरिएको हो।   मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गर्नुभएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङ्, अन्नपूर्ण ८ का वडा अध्यक्ष विजय गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विष्णु बहादुर क्षत्री, सहसचिव नवीन सिग्देल, नेपाली काँग्रेस क्षेत्र नं ३ का सदस्य तिलक बहादुर कुँवरको रोहवरमा संकलित रकम हस्तान्तरण गरिएको थियो।   दाङसिङ्ग तमु समाज यु।केका अध्यक्ष राज बहादुर गुरुङको नेतृत्वमा एक लाख ७० हजार पाँच सय ३७, दाङ्सिङ्ग गुरुङ सम्पर्क मञ्चको नेतृत्वमा एक लाख ६ हजार आठ सय १५, अन्नपूर्ण गाउँपालिका वडा नं ८ बाट ३७ हजार र नेपाली काँग्रेस कास्कीका सदस्यहरुबाट ६ हजार पाँच सय संकलन भएको रकम संकलन समितिका संयोजक पुरण गुरुङले जानकारी दिनुभयो । 

पोखरा:   पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता आजेदेखि सुरु भएको हो ।   पोखरा रंगशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखा विरुद्धको खेलमा ३–० गोल अन्तरले सहज जित निकाल्याे । तनहुँलाई  शान्ता बहादुर गुरुङले खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।   खेलको पहिलो हाफमा गोरखा विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको तनहुँले खेलको २३ औं मिनेटमा दोस्रो गोल थप्यो । तनहुँका लागि राम थापाले गोल गरे । तेस्रो गोल पहिलो हाफकै ३१ औं मिनेटमा जिवेश आले मगरले गरे ।   यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।   यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।   नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार ४ खेल सञ्चालन हुनेछन् ।   यो पनि पढ्नुहोस   कास्कीको फुटबल टोली घोषणा, नवलपुरसँग शनिबार भिड्ने   जस अन्तर्गत पहिलो खेल विहान ८ बजे म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङका बीच हुनेछ भने चौथो खेल लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले बताए ।   प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।   

लमजुङ:    लमजुङ मर्स्याङ्दी गाउँपालिका–६, न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।     शुक्रबार बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए ।   गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।   सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ । 

तस्बिर: सुनिल उलक   पोखराको मुख्यबजार क्षेत्र महेन्द्रपुलमा काठमाडौं उपत्यकामा प्राय देखिने पुरातन शैलीको फल्चा निर्माण भइरहेको छ । यसको करिब ८० प्रतिशत काम सकिएको छ ।  

पोखरा:   राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशले भूमिहिन सुकुम्बासीका समस्या छिटो समाधान गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई शुक्रबार ५ बुंदे मागपत्र बुझाएको छ । मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जी, केन्द्रिय सदस्यहरु निर्मल नेपाली र कन्या गुरुङ, पूर्व केन्द्रिय सदस्य आस बहादुर गुरुङ लगायत गण्डकी प्रदेश तथा गोरखा, कास्की, पर्वत जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा मन्त्रीको कार्यकक्षमै पुगेर मागपत्र बुझाएका हुन् ।   गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर लामिछानेद्धारा हस्ताक्षरित उक्त माग पत्रमा सुकुम्बासी भूमिहिन, अव्यवस्थित, गुठी पिडित, मोही, बाढी पिडित, मध्यवर्ति, निकुञ्ज पिडित, गाउँ ब्लक, बाली प्रथा, हलि प्रथा, साना किसान, कृषि श्रमिक लगायतका सवाल, पिडितहरु तिन पुस्तादेखि भूमिको अधिकार, जिविकोपार्जन, खाद्य अधिकार, आवासको अधिकारबाट बञ्चित भएकाले उनिहरुलाई छिटो भन्दा छिटो न्याय दिन भनिएको छ ।    यस्ता छन् माग, १) अब बन्ने भूमि आयोगको समय सिमासम्म क्रियाशिल रही कार्य विवरण पेश गर्नुपर्ने, निष्पक्ष, भूमि विज्ञ, आयोगका सदस्यहरु छनोट गरिनु पर्ने । यस्ता आयोग दलका कार्यकर्ता पालन आयोग बनाईनु नहुने ।   २) आयोगको कार्यदेश बमोजिम सरकारी संयन्त्र १ जना राखी अन्य सदस्यहरु सम्बन्धित सवाल पिडितबाट नै ल्याइनु पर्ने । विगतका लगत संकलनलाई आधार बनाइ अब बन्ने आयोगले ३ वर्ष भित्र जग्गा उपलब्ध गराईनु पर्ने ।   ३) विभिन्न जिल्लाहरुमा बाटो चाक्लो, वन क्षेत्रमा, ऐलानी वसोवासीहरुलाई उठिवास लगाउने, डोजर चलाउने, चोरी दर्ता चलखेल बढ्दो भई प्लटिङ गर्ने बहानामा उठिबास, बेदखली कार्य तुरुन्त बन्द गर्नुपर्ने । अव्यवस्थित बस्तीहरुलाई  व्यवस्थित गर्न निति तथा कार्यक्रममा नै ल्याउनु पर्ने ।   ४) वाँझो जमिन, भूमिहिन, सुकुम्बासीलाई बिना शुल्क ५ वर्षका लागि लिजमा दिइनु पर्ने । यसका साथै एक वर्षको लागि, वीउ पूजीं र बाली ल्याउने खर्च उपलब्ध गराई गण्डकी प्रदेशलाई खाद्य आत्मनिर्भर बनाउनु पर्ने ।   ५) गण्डकी प्रदेशमा रहेका गुठी पिडित, किसानहरु गोरखा, तनहुँ, नवलपुर, म्याग्दी, पर्वत, कास्की, वागलुङ सबै जिल्ला समेट्ने गरी एकिकृत गुठी विधेयक प्रदेश सरकारले वनाई समस्याहरु समाधान गरिनु पर्ने ।  

पोखरा:  राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेश मञ्चको बैठक एवम् अभिमूखिकरण कार्यक्रम विभिन्न महत्वपूर्ण विषयमा समिक्षा गरी  कास्कीमा सम्पन्न भएकाे छ ।   बैठकमा मञ्चका राष्ट्रिय अध्यक्ष ल्याम बहादुर दर्जी र केन्द्रिय सदस्य निर्मल नेपालीले अभिमुखिकरणको सहजीकरण गरेका थिए भने नवलपुर, गोर्खा, तनुहँ, कास्की, पर्वत र बाग्लुङ जिल्लाका ३६ जना अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।   सो अवसरमा जिल्लागत समिक्षा, प्रदेश मञ्चको साङ्गठनिक प्रतिवेदन, राष्ट्रिय मञ्चको साङ्गठनिक प्रगति प्रतिवेदनमाथि छलफल गर्नुका साथै वार्षिक योजना सम्बन्धि निर्णय गरेको थियो ।   साथै गत जेठ २० गते दाङ जिल्लामा भएको गुठी आन्दोलनमा घाइते मञ्चका सदस्यहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथैै घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नु पर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।   बैठकमा देशभर भइरहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बारी तथा अव्यवस्थित वस्तीहरु उठिबास, वेदखली, भूमि आयोग विगटन, गुठी आन्दोलनहरुबारे समिक्षा गर्नुका साथै समसामयिक विषयमा गहन छलफल गरेको गण्डकी प्रदेश मञ्चका अध्यक्ष रामबहादुर लामिछानेले बताए ।   सो अवसरमा गण्डकी प्रदेशका कोषाध्यक्ष धनकुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बैठकले सर्वसम्मत पास गरेको थियो ।   कार्यक्रममा राष्ट्रिय भूमि आयोग कास्कीका निवर्तमान प्रवक्ता आसबहादुर गुरुङ, मञ्चका केन्द्रिय सदस्य मनरुपा कुमाललगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   मञ्चको गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश उपसचिव मोहन प्रसाद गुरुङले स्वागत र संचालन कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले गरेका थिए ।