पोखरा: नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यही साउन २६ गते हुने लाखे नाच प्रतियोगितामा कास्कीका २० वटा समूहले प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठले यस वर्ष २३ समूहको सहभागिता हुने र २० समूहले प्रतिस्पर्धामा भाग लिने जानकारी दिनुभयो । पोखरा प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र रु ११ हजार एक सय ११ नगदसहित पुरस्कृत गरिने प्रतियोगिताका संयोजक रेशमप्रसाद श्रेष्ठले बताउनुभयो । कार्यक्रममा दश हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः सस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्तान्तरणका लागि नेवाः खलः कास्कीले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । गतवर्ष नेवा खलः कास्की तथा नेवा समुदायसँग सम्बन्धित सङ्घसंस्थाले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेका थिए ।
पोखरा: नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको छ । एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले विज्ञप्ति निकालेर प्रदेश सरकारमा एमालेको सङ्लग्नता नभइ दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा ध्यानाकर्षण भएको जनाउनुभयो । एमालेले दुई दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालन हुने हुँदा सहमति विपरीत दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको हो । केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरुबीच समन्वय भई प्रदेशका सरकार गठन, पुन:गठन भइरहेका बेला एकपक्षीय रूपमा गतिविधि भएको विज्ञप्तिमा जनाइएको छ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा कांग्रेससहित नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री हुनुहुन्छ । केन्द्रमा सत्तासमीकरण परिर्वतन भएर नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बने पनि गण्डकी प्रदेश सरकार एमाले सहभागी भएको छैन ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कायालयले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’ राजधानीको एक होटलमा आज बिहान ११ बजे एमाले सचिवालय बैठक हुँदैछ । बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो ।
पोखरा: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको आन्दोलनमा रिर्पोटिङको क्रममा पत्रकारमाथि भएको सांघातिक हमलापछि फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने पत्रकार टोलीले माग राखेको छ । आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको छलफलको क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, जिल्ला समिति र फोनिज गण्डकीको टोलीले कास्की प्रहरीलाई आक्रमणपछि फरार मुख्य ४ जनालाई यथाशिघ्र पक्राउ गर्नुपर्ने बताएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुसँग कुनै पनि किसिमको सम्झौता नगरी प्रशासनले कारवाही गर्नुपर्ने बताईन् । पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको रंग, वर्ण र जात नहुने बताउदै फरार सबैलाई पक्राउ गर्नुपर्ने बताए । 'कानूनको नजरमा रंग, वर्ण, पेशा वा श्रमजिवी मजदुर भन्ने हुदैन, उनले भने, ‘त्यसैले सांघातिक हमला गरेर फरार रहेका बाँकी ४ जनालाई पक्राउ गरेर कानूनी कारवाहीमा ल्याउनु पर्याे । त्यसपछि बाँकी छलफल अघि बढाउला ।’ यस्तै छलफलको क्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले यतिका दिन बित्दासमेत ५ जनालाई बाहेक अन्य व्यक्तिलाई कास्की प्रहरीले पक्राउ नगर्नु पछाडी रहस्य रहको बताइन् । उनले कुनै व्यक्तिमाथि मात्र अक्रमण नभई पत्रकारितामाथि नै हमला भएको उल्लेख गरिन् । यो पनि पढ्नुहोस पत्रकारलाई कुटेपछि यातायात व्यवसायी महासंघले भन्यो: सांघातिक हमला गर्नेलाई कारवाही गरियोस् फलोअप: पत्रकार सुरज र विनुमाथि सांघातिक आक्रमण गर्ने ४ जना पक्राउ ‘आन्दोलनको नाममा आक्रमण भयो । पीडितको मुटु हलुंगो भएपनि सिंगो पत्रकारिता क्षेत्रको मुटु भारी भएको छ । त्यसैले हिरासतमा रहेका ५ जनालाई छुटाउने होइन फरार रहेको अन्य ४ जनालाई पनि तत्कालै पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भनिन् । यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका सचिव योगेन्द्र केसीले छलफलको क्रममा बोल्दै शान्तिपूर्ण आन्दोलन भनिएपनि त्यसले फरक रुप लिएको बताउदै आफुहरुलाई निकै दुखी बनाएको सुनाए । ‘हामीले शान्तिपूर्ण र सन्देशमूलक आन्दोलन नै गर्ने भनेका हौं । हामी सरकारसँगको नियमित वार्तामा थियौं’, सचिव केसीले भने, ‘आन्दोलनमा कसैलाई कुट्ने धम्काउने भन्ने केही थिएन । गाडी घर र ग्यारेजमा थन्काउने मात्रै कार्यक्रम थियो तर एकाएक पत्रकारमाथि हातपात भएछ । हामी त्यो घटनाप्रति एकदमै लज्जित र दुखी छौं ।’ यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले कानूनको विषयमा सम्झौता नहुने स्पष्ट पारे । उनले २० जनाभन्दा बढि व्यक्ति विरुद्ध निवदेन परेपनि मुख्य ४ व्यक्ति पहिचान भइसकेको बताउदै यथाशिघ्र पक्राउ गर्ने बताए । ‘भीड धेरै भएकाले अहिलेसम्म ५ जना हिरासतमै छन् बाँकी मुख्य र प्रत्यक्ष कुटपिटमा संलग्न ४ जनालाई हामीले पहिचान गरिसकेका छौं, एसपी थापाले भने, ‘उनीहरुलाई पनि छिटै पक्राउ गरेर कानूनी प्रक्रिया अघि बढाउछौं ।’ गत आइतबार रिपोर्टङको क्रममा पत्रकार बिनु थापा मगर र सुरज थापामगरलाई पठाओ भन्दै यातायात व्यवसायीले लखनचोक (पृथ्वीचोक) मा सांघातिक आक्रमण गरेका थिए । उक्त घटनामा संलग्न ५ जनालाई पक्राउ गरिसकेको छ भने बाँकी ४ जना फरार छन् । गण्डकी प्रदेश सरकारले राइडसेयरिङलाई वैधानिकता दिनका लागि कार्यविधि अघि सारेपछि यातायात व्यवसायीहरु सांगठनिक रुपमै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेको थियो ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताउनुभयो । “बन्दी र कैदीका रुपमा कारागारमा रहेकाहरुको मानव अधिकारको पूर्ण रुपमा संरक्षण गरिनेछ”, मन्त्री लेखकले भन्नुभयो, “त्यहाँको स्थिति सुधार गर्ने तथा सुविधा बढाउने प्रयत्न गरिरहेका छौँ ।” शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी सांसदहरुले उठाएको विषयमा बोल्दै उहाँले भौतिक संरचना निर्माणलगायत समग्र विषयमा आर्थिक स्रोत जोडिएको बताउनुभयो । “सीमित स्रोतसाधन र सीमित आर्थिक व्यवस्थामा अली बढी काम गर्नुपरिरहेको छ”, मन्त्री लेखकले भन्नुभयो, “कारागार र बाल सुधारगृहको भौतिक अवस्था अपर्याप्त, जीर्ण र दयनीय छ ।” मन्त्री लेखकले बाल सुधारगृहमा बसेका बालबालिकाको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकार संरक्षण एवं सुरक्षामा प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी देशमा शान्ति सुरक्षा, अमनचयन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानुन संशोधन परिर्माजन र नयाँ निर्माणमा आफू लागि परेको बताउनुभयो । “प्रहरी सङ्गठन सुदृढ गर्न प्रहरी ऐन संशोधन गर्नुपर्ने छ”, उहाँले भननुभयो, “समसामयिक रुपमा सुदृढ र समयसापेक्ष बनाउन संशोधन आवश्यक छ ।” कर्मचारीको सरुवालाई सरुवाकै रुपमा बुझिदिन उहाँले आग्रह गर्नुभयो । मनसुनजन्य विपद्बाट ७७ वटै जिल्ला प्रभावित रहेको जानकारी दिँदै मन्त्री लेखकले प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकास, घटनापछि उद्धार र राहतका लागि सरकार लागिपरेको बताउनुभयो । चितवनको सिमलताल बस दुर्घटनाका विषयमा खोजी कार्यमा सक्दो प्रयास जारी रहेको उल्लेख गर्दै मन्त्री लेखकले सो कार्यमा सबै सुरक्षा निकाय खटिएको बताउनुभयो । “सिमलताल घटनामा जति परिणाम प्राप्त गर्नुपर्ने हो त्यो गर्न सकेनाँै”, उहाँले भन्नुभयो, “भारतबाट पनि प्राविधिकसहितको टोली आएर खोजी कार्यमा जुट्दा पनि बस र सबै शव फेला पार्न सकिएन् ।” बैठकमा गृहसचिव एकनारायण अर्यालले मुलुकको समग्र शान्ति सुरक्षा, कारागार र बाल सुधारगृहको अवस्था, मनसुनजन्य विपद्का घटनामा भएको जनधनको क्षति लगायतको विषयमा जानकारी गराउनुभएको थियो ।
काठमाडौं: काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिनुभयो । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ । राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो ।” नेपाली कांग्रेस र नेकपा (एमाले) यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका तथा दुवै दलका नेताहरुले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वका बारेमा प्रश्न नगर्न मन्त्री डा राणाको आग्रह थियो । उहाँले भन्नुभयो “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले धेरै कुरा बिचार गरेर मुलुकलाई निकास दिने उद्देश्यका साथ यो सरकार निर्माणका लागि लाग्नुभएको हो, त्यसैले यो सरकारले देशका लागि केही गरेर देखाउनेछ ।” एक प्रश्नको जवाफमा मन्त्री डा. राणाले नयाँ बनेको सत्तासमीकरण कुनै एक व्यक्तिका कारणले नभएर मुलुकका दुई ठूला दलले आवश्यकताको बोध गरेर निर्माण भएको स्पष्ट गर्नुभयो । हिजो मात्र प्रधानमन्त्री केपी ओलीले यस विषयमा स्पष्ट गरेको स्मरण गर्दै उहाँले सरकार ढल्छ भन्ने या अरु कुनै पनि कारणले काममा ढिलासुस्ती गर्ने तथा नागरिकलाई डेलिभरी दिने काममा ढिला गर्ने छुट सरकार र कर्मचारी कसैलाई नभएको स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले कहीँ कतै प्रमाण या उजुरी नहुँदा नहुँदै पनि आफ्नो नाममा विभिन्न काण्ड खडा गरेर जोड्ने गरिएकामा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “कतै तथ्य छैन, कुनै गल्ती गरेको अवस्था छैन । तर पनि कतिले सोसियल मिडिया त कतिले मिडियाबाट नै मेरो नाम मुछ्ने गरेका छन् ।” उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा जसले आफ्ना विरुद्ध बयान दियो भनेर दुष्प्रचार गरियो उसैले पछि मलाई चिन्दिन भनेको प्रसंग उल्लेख गर्दै अनावश्यक रुपले आफ्नो नाम जोड्न लगाइएको र एक किसीमले भन्दा मिडिया ट्रायल नै गरिएको आफ्नो अनुभव रहेको बताउनुभयो । टीकापुर जग्गा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा मन्त्री डा राणाले भन्नुभयो “म यहाँहरुलाई अनुरोध गर्छु कि यो सूचनाको हक भएको देश हो, यहाँहरु फिल्डमै जानुस् र के हो भन्ने तथ्य आफैँ थाहा पाउनुहोस्, कहीँ कतै मेरो गल्ती देख्नुभएछ भने म यहाँहरुसँग त्यतिबेलै कुरा गरौँला ।” उहाँले भन्नुभयो “कस्तो दुष्प्रचार होला हेर्नु त रु प्रहरीको बयानमा मेरो नाम लियो रे भनेर पहिला प्रचार गरियो, तर पछि सोही व्यक्तिले उहाँलाई मैले चिन्दिन, नाम नै सुनेको छैन भन्यो । यसलाई कहाँसम्मको दुष्प्रचार भन्ने ?” मन्त्री डा राणाले राहदानी र कन्सुलर सेवा प्रवाहको अध्ययन गरी यी दुवै सेवा नेपाली नागरिकका लागि अति आवश्यक र परराष्ट्रले दिनुपर्ने सबैभन्दा महत्वपूर्ण र संवेदनशील सेवा रहेकाले नेपाली नागरिकलाई केन्द्रमा राखेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।

