तनहुँ: पछिल्लो छ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो । घर नजिकै बसेका बेला राति चितुवाको आक्रमणबाट १३ वर्षीय सुन्दर अछामीको मृत्यु भएको थियो । चितुवाको आक्रमणबाट घाइते उनलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले डेढ वर्षपछि बन्दीपुरमा पुनः चितुवा आक्रमण भएकाले स्थानीयवासी त्रसित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय चितुवा आतङ्क थिएन, डेढ वर्षपछि पुनःआक्रमण भएर बच्चाको मृत्यु भयो । स्थानीयवासी त्रसित छन् ।” साँझ र रातिका बेला बालबालिकालाई एक्लै नछाड्न र घरबाहिर ननिस्किन सचेत गराइएको थापाको भनाइ छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो । त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । यसैगरी विसं २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुपिम्र बगाले मगर, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा ११ वर्षीय विना चेपाङ र कात्तिक १५ व्यास नगरपालिका–१२ छिर्कनेमा पाँच वर्षीय अरविन कुँवरको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको सहायक वन अधिकृत पण्डितको भनाइ छ । चितुवाको आक्रमणबाट मृत्यु भएका प्रत्येकका परिवारलाई रु १० लाख राहत उपलब्ध गराउने प्रावधान रहेको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न उहाँले आग्रह गर्नुभएको छ ।
काठमाडौं: प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् । नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरका टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पु¥याइ जलाएर पर्व मनाइएको हो । किंवदन्तीअनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामङ्गल नाम गरेको एउटा दानव थियो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गथ्र्यो । त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो । त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गथ्र्यो । उसको गतिविधिबाट मानिस आतङ्कित थिए । एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाएसँगै यो पर्व मनाउने प्रचलन सुरू भएको जानकारहरू बताउँछन् । भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथकशैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षर रूपी गठामङ्गल बनाइ बाहिर कपडाले मोडेर विभिन्न रङ्ग लगाइ टोलटोलमा घुमाएर जगातीमा बिसर्जन गरिन्छ । यो पृथक शैली भक्तपुरका भेलुखेल र दत्तात्रयमा मात्रै रहेको स्थानीय बाबुरत्न द्यौलाले जानकारी दिनुभयो । इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौं शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउनुहुन्छ । महादेवलाई मन पराउने राक्षसको रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको उहाँको भनाइ छ । “आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने गरिन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ”, संस्कृतविद् डा श्रेष्ठले भन्नुभयो । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवको प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउनुहुन्छ । भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रूपी गठामङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाइ दुई वटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उहाँ बताउनुहुन्छ । यहाँका बासिन्दाले राँको बालेर भूत भगाउँने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याउछन् । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्द प्रयोग गर्ने छुट रहेको संस्कृतकर्मी वैद्यको भनाइ छ । घण्टाकर्णको दाहसंस्कार गरी फर्किदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने र घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू हुन्छ । शक्तिपीठमा घुइँचो यसैगरी भक्तपुरका विभिन्न शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशीका दिन मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो । नेवार समुदायले आज बिहानै स्नान गरी शुद्ध भएर घरघरमा लिपपोत गर्ने, विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाइँ सकिएको पर्वको रूपमा पनि गठमङ्गललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि मनाउने प्रचलन छ । आज फलामको औँठी लगाउने प्रचलन पनि छ ।
काठमाडौं: काठमाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुरा त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी अन्दाजी १९÷२० वर्षीया करिश्मा सार्की मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उनीहरु यही साउन १५ गतेदेखि उक्त गेष्ट हाउसमा बस्दै आएको र आज दिउँसो १२ बजेसम्म खाना खानका लागि बोलाउँन जाँदा ढोका नखोलेपछि दिउँसो १ बजे प्रहरीलाई खबर गरिएको जानकारी प्राप्त भएको छ ।” प्रहरीले गेष्टहाउसको ढोका खोली हेर्दा महिला घाटी काटिएको र पुरुष पङ्खामा डोरीले पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेको थियो । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
धनगढी: कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) गरी नियन्त्रणमा लिइएको हो । नेपाल आर्मीका मेजर नवीन बोहराका अनुसार नियन्त्रणमा लिइएको उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ । बिहीबार मात्रै सो बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।
काठमाडौं: सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ । सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०÷८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त गर्नुभयो । राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्नुभयो । टोलीले कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी पनि गराएको थियो । ‘मानव अधिकार सबैको लागि हो । तर, विशेष रुपले आवाजविहिन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ ।’ उहाँले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट बिनियोजनमा ध्यान दिनुपर्ने पनि बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग जस्ता आयोगको सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहनुपर्नेमा पनि भट्टले जोड दिनुभयो । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने उहाँको भनाई छ । टोलीमा मानव अधिकार अधिकृत टंकप्रसाद खनाल र सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नायव सुब्बा मुकेश घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम तीन राज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिनुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ नियुक्त हुनुभएको छ । उहाँहरुको आजै शपथ हुनेछ । यो विस्तारसँगै वर्तमान मन्त्रिपरिषद्को सदस्य सङ्ख्या २५ पुगेको छ
पोखरा: नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर खुलेको छ । बिगत ७ वर्षदेखि काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरलाई पोखरा र आसपासका जिल्लालाई केन्द्रमा राखेर पोखरामा बिस्तार भएको हो । पोखरा न्युरोडमा खुलेको पोशाक घर बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ख्यातिप्राप्त गायक प्रकाशलगायतले उद्घाटन गरेका छन् । दौरासुरुवाल, टोपीलगायत सटिङसुटिङमा स्थानीय उत्पादनबाट बनेका नेपाली पोशाकलाई जोड दिँदै पोखरामा पोशाक घर स्थापना गरिएको हो । ढाका टोपी, दौरासुरुवाल, राष्ट्रिय पोशाक दिवस मनाउने अभियानकै क्रममा काठमाडौंको बानेश्वरमा खोलेको पोशाक घरलाई इजी ग्रुपले पोखरामा भित्राएको छ । पोखरालाई आधार क्षेत्र बनाएर नेपाली उत्पादन र स्थानीय कच्चा पदार्थको प्रयोगमा जोड दिँदै पोखरामा शाखा खोलिएको राष्ट्रिय पोशाक घरका श्याम बजगाईंले जानकारी दिए । पोखराका विभिन्न सरकारी कार्यालयदेखि अस्पताल होटल, मललगायत विभिन्न कम्पनीमा १ हजाभन्दा बढी कामदार उपलब्ध गराएको कम्पनी हो, इजी ग्रुप । इजी ग्रुपले होटल, सरकारी संघ, संस्था एनजिओ, आइएनजिओलाई आवश्यक कर्मचारीको मागलाई परिपूर्ती गर्ने ग्रुपका संस्थापक रामप्रसाद कडेंलले जानकारी दिए । इजी ग्रुपले विभिन्न क्षेत्रमा लगानी र अवसरको सिर्जना गर्दै आइरहेको छ । यो ग्रुप अन्तर्गत अहिले लेकसाइडमा चौतारी बुटिक होटल सञ्चालनमा छ । गोर्खा ल्याण्ड सेक्युरिटीमार्फत विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड उपलब्ध गराउने गरेको छ । इजी हस्पिटालिटी सपमार्फत नेपाली हर्बल प्रोडक्टहरुको बिक्री गर्ने गरेको छ भने चौतारी इन्टरनेसनल प्रालिमार्फत डाइपर, प्याडजस्ता विभिन्न सामाग्री विक्री गर्ने गरेको छ । इजी ट्रेडिङका नाममा सरसफाइका सामानहरुको विक्री भइरहेको कडेंलले बताए । इजी ग्रुपले पोखरामा ५० करोड रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रका व्यवसायमा लगाइरहेको छ । त्यही इजी ग्रुपले पोखरामा राष्ट्रिय पोशाक घर सञ्चालनमा ल्याएको हो । पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका इजी ग्रुपका कडेंल र पोशाक घरका बजगाईंको सहकार्यमा पोखराबाट राष्ट्रिय पोशाक र नेपाली उत्पादनलाई जोड दिँदै व्यवसाय थालेका छन् । पोशाक घरका पोशाकको गुणस्तरमा एकै रुपमा दिन काठमाडौंबाट दक्ष जनशक्ति उपलब्ध गराएर पोखरामा सेवा सुरु गरिएको कडेंलले बताए । तानबाट बुनिएका घरमा अल्लो, ओक्ता, ढाका, कोगटी, गाँजालगायतका पोशाकलाई जोड दिँदै पोखरामा शाखा खोलिएको उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका अध्या पवन प्रजापतिले उद्योग, व्यवसायी र सेवाका क्षेत्रमा इजी ग्रुपले नवीन काम गरिरहेको बताउँदै पोशाक घर पनि सफल हुने बताए । नाफामात्रै कमाउनेतिरभन्दा गुणस्तरीय सेवामा उनले जोड दिए । गायक प्रकाश सपुतले राम र श्याम मिलेर पोखरामा दिन थालेको सेवाले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्ने बताए । देशमा केही छैन भन्ने ठूलो समूहले राम र श्यामको सहकार्य व्यावसायिक क्षेत्रमा नयाँ ढंगले सोच्न सन्देश दिएको सपुतको भनाइ थियो । १ करोड लगानीमा खुलेको पोशाक घर हजारौंको मन बस्ने सपुतको जोड थियो ।
गुल्मी: गुल्मीमा अरिङ्गालले चिलेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले चिलेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई चिलेको हो । अरिङ्गालले चिलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियोे । उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

