कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी रहेकोे छ ।  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा भइरहेको बैठकले वर्तमान राजनीतिक अवस्थाको सङ्क्षिप्त समीक्षाका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी गरेको  छ ।       गत असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो ।

झापा:    काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साँटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताउनुभयो ।  विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो । विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनाधिकृत रुपमा रकम निकाल्ने गरेको खुलेको छ । घटनानारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको सहायक प्रधानाध्यापक मदन अधिकारीले जानकारी दिनुभयो ।  प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । हाल अभियोग लागेका मल्लिकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गते यता एक वर्षमा २० पटक कीर्ते हस्ताक्षर गरेर रकम निकाले खुलेको छ । मल्लिकले प्रधानाध्यापक र लेखापाल दुबैको कीर्ते हस्ताक्षर गरेको पाइएको छ । मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नामा अनाधिकृत रुपमा चेक काट्ने गरेका थिए । 

कञ्चनपुर:    कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो ।       जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत फेला परेकी हुन् । “खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ”, उहाँले भन्नुभयो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले भन्नुभयो ।       मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी  अस्पतालमा राखिएको छ । यसैगरी मङ्गलबार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन् ।   

काठमाडौं:     सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो । बैठकपछि बोल्दै गृहमन्त्री रमेश लेखकले भन्नुभयो, “आज उपलब्धि भएको छ । हाम्रा बिचमा मिल्न बाँकी सबै कुरा मिलेको छ ।” विधेयकका चार वटा विषयमा लामो छलफलपछि सहमति भएको उहाँको भनाइ छ । द्वन्द्वकालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढङ्गले परिभाषित गरिएको गृहमन्त्री लेखकले बताउनुभयो । उहाँका अनुसार मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ । “यदि पीडितको सहमति भएन भने मानव अधिकार उल्लङ्घनमा पनि सरकारवादी फौजदारी मुद्दा चल्न सक्ने छ । दुनियावादी फौजदारी मुद्दा भएमा पीडितलाई चाहेको गर्ने अधिकार दिने कुरा भएको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनमा त मुद्दा चल्ने नै भयो,” गृहमन्त्री लेखकले भन्नुभयो । द्वन्द्वमा संलग्न सुरक्षाकर्मी जसको मृत्यु र घाइते परिवारलाई पनि पीडित सरह परिपूरण दिने सहमति भएको उहाँले बताउनुभयो । कार्यदलका सदस्यहरु गृहमन्त्री रमेश लेखक, एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच निरन्तर छलफल हुँदै आएको थियो । तत्कालीन माओवादीका तर्फबाट लडेका बहिर्गमित लडाकुहरुलाई द्वन्द्वप्रभावितका रुपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमति भएको गृहमन्त्री लेखकले बताउनुभयो ।  “यसलाई कानुन मन्त्रालयको सचिवले ड्राफ्ट गर्नुहुन्छ । त्यसपछि हामी नेताहरु (प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)लाई बुझाउछौँ,” उहाँले भन्नुभयो, “सङ्क्रमणकालीन न्याय देशको साझा विषय भएकाले कार्यदलमा भएको सहमति संसदीय समिति हुँदै संसद्बाट पारित हुन्छ ।” सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन रहेको छ । उक्त विधेयकमा नमिलेका कुरा मिलाउन लेखक, बर्तौला र शर्मा सम्मिलित तीन सदस्यीय कार्यदल गठन भएको थियो । पछिल्ला बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्यायाधिक्ता केशव बडाल, पूर्व कानुनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवनप्रसाद दाहाललगायतको पनि सहभागिता रहेको थियो ।

काठमाडौं:    राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौंमा सुरु भएको छ ।       राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गर्नुभयो । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलि साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ । जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ ।  पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएकोले सबै तहको अधिवेशन सम्पन्न गर्ने, साथै विसं २०८४ मा हुने तीन तहकै निर्वाचन तयारीका लागि रणनीति तय गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।      उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्नु हुनेछभने पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षहरुसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।  

चितवन:     बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ ।  दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो ।      अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताउनुभयो ।       अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उहाँको उपचार भइरहेको थियो ।  उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताउनुभयो । उहाँका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।      “खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए÷नभएको पत्ता गराउन गरिने परिक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो”, उहाँले भन्नुभयो ।      बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।      अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिनुभयो ।       अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताउनुभयो ।  यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।       पौडेलले भन्नुभयो “काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौँ ।”

पोखरा:   पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा आगलागी भएको छ ।  तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कपास उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २२ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।   आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।     

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ रुम्जामा शशीधर काफ्लेको घरबाट १ लाख ७३ हजार नगदसहित अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  शशीधर काफ्लेको घरमा साउन ३ गते धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहनासहित नगद १ लाख ७३ हजार चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक बस्ने ४२ वर्षीय सुर्यबहादुर घर्ती क्षेत्री, ५१ वर्षीय खड्कबहादुर पुनमगर, पोखरा महानगरपालिका–२१ बस्ने ५८ वर्षीय लोकबहादुर रानामगर र नदीपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् ।  उनीहरुलाई काफ्लेको घरमा गएर धारिलो हतियार देखाएर सुनको गरगहना सिक्री र तिलहरी१/१ थान , औठी ३ थान, रिङ ३ जोर, मोबाईल १ थान, नगद १ लाख ७३ हजार गरी अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरी गरेका थिए ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:    स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।       आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय  निर्धारण भएको छ