काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौंमा सुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गर्नुभयो । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलि साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ । जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ । पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएकोले सबै तहको अधिवेशन सम्पन्न गर्ने, साथै विसं २०८४ मा हुने तीन तहकै निर्वाचन तयारीका लागि रणनीति तय गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्नु हुनेछभने पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षहरुसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
चितवन: बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताउनुभयो । अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उहाँको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताउनुभयो । उहाँका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो । “खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए÷नभएको पत्ता गराउन गरिने परिक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो”, उहाँले भन्नुभयो । बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताउनुभयो । यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौँ ।”
पोखरा: पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा आगलागी भएको छ । तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कपास उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २२ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ रुम्जामा शशीधर काफ्लेको घरबाट १ लाख ७३ हजार नगदसहित अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । शशीधर काफ्लेको घरमा साउन ३ गते धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहनासहित नगद १ लाख ७३ हजार चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक बस्ने ४२ वर्षीय सुर्यबहादुर घर्ती क्षेत्री, ५१ वर्षीय खड्कबहादुर पुनमगर, पोखरा महानगरपालिका–२१ बस्ने ५८ वर्षीय लोकबहादुर रानामगर र नदीपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् । उनीहरुलाई काफ्लेको घरमा गएर धारिलो हतियार देखाएर सुनको गरगहना सिक्री र तिलहरी१/१ थान , औठी ३ थान, रिङ ३ जोर, मोबाईल १ थान, नगद १ लाख ७३ हजार गरी अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरी गरेका थिए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ । आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय निर्धारण भएको छ
पोखरा: नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यही साउन २६ गते हुने लाखे नाच प्रतियोगितामा कास्कीका २० वटा समूहले प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठले यस वर्ष २३ समूहको सहभागिता हुने र २० समूहले प्रतिस्पर्धामा भाग लिने जानकारी दिनुभयो । पोखरा प्रदर्शनी केन्द्रमा हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र रु ११ हजार एक सय ११ नगदसहित पुरस्कृत गरिने प्रतियोगिताका संयोजक रेशमप्रसाद श्रेष्ठले बताउनुभयो । कार्यक्रममा दश हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः सस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्तान्तरणका लागि नेवाः खलः कास्कीले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । गतवर्ष नेवा खलः कास्की तथा नेवा समुदायसँग सम्बन्धित सङ्घसंस्थाले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेका थिए ।
पोखरा: नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको छ । एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले विज्ञप्ति निकालेर प्रदेश सरकारमा एमालेको सङ्लग्नता नभइ दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा ध्यानाकर्षण भएको जनाउनुभयो । एमालेले दुई दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालन हुने हुँदा सहमति विपरीत दीर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरेको हो । केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरुबीच समन्वय भई प्रदेशका सरकार गठन, पुन:गठन भइरहेका बेला एकपक्षीय रूपमा गतिविधि भएको विज्ञप्तिमा जनाइएको छ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा कांग्रेससहित नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री हुनुहुन्छ । केन्द्रमा सत्तासमीकरण परिर्वतन भएर नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बने पनि गण्डकी प्रदेश सरकार एमाले सहभागी भएको छैन ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कायालयले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’ राजधानीको एक होटलमा आज बिहान ११ बजे एमाले सचिवालय बैठक हुँदैछ । बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो ।

