पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौं:    नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्ला)ई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।      सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउन लागेको हो ।  को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो ।      बहुपति प्रथामा आधारित यो बृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो ।  करिब चार वर्षको छायाङ्कनमा सो वृत्तचित्र निर्माण गरिएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गर्नुभएको हो ।       निर्देशक पाण्डेले मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामग्रीको रुपमा ‘को–हजबेण्ड’ लाई समावेश गरिनु देशका लागि पनि गर्वको कुरा हो भन्नुभयो । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो ।

धनगढी:    सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।  उनले कांग्रेस र नेकपा (एमाले) का प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । शाहको पक्षमा कांग्रेसको १८ र एमालेको ११ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्री दाबी गर्न २७ जनाको समर्थन आवश्यक पर्नेमा उनलाई २९ जनाको समर्थन छ ।  आज साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह प्रदेश सभाको यही कार्यकालमा दुई पटक मुख्यमन्त्री बन्ने छन् । यसअघि उनले १४ महिना सरकार चलाएका थिए । उनी सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री बन्दै छन् ।  नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री हुनेछ । प्रदेश प्रमुख मियाँले आज आइतबार साँझ ५ बजेसम्मको समयसम्म मुख्यमन्त्रीमा दावेदारी गर्न समयसीमा दिएका छन् ।   

पोखरा:     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ ।      जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरुसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुुपर्ने बताउनुभयो ।  जनगुनासो एवम् समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवम् सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उहाँले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।      सरकारी काम कारवाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राख्नुुभयो । सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रुपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उहाँको भनाइ थियो ।      शिक्षा क्षेत्र समाजको हरेक क्षेत्रसँग जोडिने र यसलाई समयानुकूल र व्यवस्थित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री भट्टराईले बताउनुुभयो । विद्यमान ऐन नियमलाई समय सापेक्ष बनाउँदै अघि बढ्नु आवश्यक रहेको उहाँको भनाइ थियो । विद्यार्थीको ज्ञानलाई हाम्रो प्रणालीसँग जोड्नु आवश्यक भएको उल्लेख गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रको समग्र विकासका लागि योजनावद्धरुपमा अघि बढ्ने बताउनुभयो ।      कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि  पाण्डेले जिल्लाको समग्र अवस्थाबारे मन्त्री भट्टराईलाई जानकारी गराउनुुभएको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुखहरुले भइरहेको सेवाप्रवाह एवम् आइपरेका समस्यालगायत विषयमा मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुभएको थियो ।

सर्लाही:     बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् । मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् ।  उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।  घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षकी छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी  ११ वर्षकी छोरी अंशुकुमारी रहेका छन् ।  तीब्र गतिमा रहेको टयाक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगतै टयाक्टर चालक चक्रघट्ट गाउँपालिका–८, औरहीका ३० वर्षीय राम बालक राय फरार रहेका छन् । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । 

सुर्खेत:    कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा (एमाले) नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ लिएका हुन् ।  सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।  जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् ।  नवनियुक्त मन्त्रीले आइतबार पदभार ग्रहण गरेका छन् ।  

गण्डकी:    पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरुले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् ।  कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सुरु गरिएको जानकारी दिनुभयो ।  “छिट्टै कम्पनीको एप र वेभसाइट सञ्चालनमा ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न सघाउने उद्देश्ययले यो व्यवसाय सुरु गरेका हौँ ।” उहाँका अनुसार फेसबुकमा रहेको ‘लमी–म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी–नेपाल’ पेजमार्फत उक्त व्यवसाय प्रवद्र्धनको काम भइरहेको छ ।  “इच्छुक युवा वा युवतीले हाम्रो पेजमा सन्देश पठाउँदासाथ उहाँकोमा फारामसहितको गुगल लिङ्क पुग्छ”, सापकोटाले भन्नुभयो, “फाराममा व्यक्तिगत विवरण भरेर पठाएपछि दुई पक्षबीचमा समन्वयको काम हामीले गर्छौँ ।” उहाँले पूर्ण रुपमा व्यक्तिगत गोपनियता कायम गरिने बताउनुभयो ।  सम्बन्धित व्यक्तिले इच्छाएको खण्डमा मात्र व्यक्तिगत विवरण अनलाइन माध्यममा सार्वजनिक गर्ने गरिएको उहाँले बताउनुभयो । तत्काल केही समयलाई निःशुल्क सेवा दिइरहेको कम्पनीले पछि उक्त सेवाबापत न्यूनतम शुल्क कायम गरिने जनाएको छ ।  हालसम्म ५० जना भन्दाबढी सम्पर्कमा आई व्यक्तिगत विवरण पठाएको सापकोटाले जानकारी दिनुभयो । व्यक्तिगत विवरण सार्वजनिक गर्न नचाहने व्यक्तिलाई गोप्य माध्यमबाट सम्पर्क र समन्वय गराइदिने काम कम्पनीका प्रतिनिधिले गर्ने गरेका छन् । व्यक्तिगत इमेल ठेगाना र टेलिफोन अनिवार्य चाहिने भएकाले अनावश्यक व्यक्तिले विवरण पठाउने सम्भावना नरहने सापकोटाले बताउनुभयो ।  योसँगै काठमाडौँमा विवाहका लागि फोटो, भिडियो र इभेन्ट म्यानेजमेन्ट सेवा सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । कम्पनीमा बागलुङका सापकोटासहित छ जना युवा आबद्ध  छन् । जीवनसाथी खोज्न सघाउने ‘बिहे नेपाल’लगायतका एप सञ्चालनमा छन् ।

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असोजमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय भएको हो । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला आज सम्पन्न भएको छ ।       कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्यमान्यतालगायत छ विधामा छलफल भएको उहाँको भनाइ छ । यस्तै, पार्टीको महाधिवेशन आगामी वैशाखको तेस्रो सातामा आयोजना गर्ने निर्णय भएको छ ।  विधन संशोधन सुझाव कार्यदलको प्रतिवेदन आगामी भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गरिने भएको छ । पार्टीको जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरी जिल्ला तदर्थ समिति गठन गर्ने, पार्टीको वाचापत्रलगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने निर्णय पनि कार्यशालाले गरेको छ ।      शासकीय स्वरुपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधन समेतको विषयलाई दृष्टिगत गरी पार्टीको अवधारणा तयार गर्ने, जनआवाज अभियान सञ्चालन गरी देशभरिको जनगुनासा तथा मुद्दाहरू सङ्कलन गर्ने, सदनमा उठाउने र कार्यान्वयन भए÷नभएको अनुमगन गर्ने विषय समेत उल्लेख भएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिनुभयो ।      देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुआत गर्ने, चरणबद्ध रुपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्ने, आगामी साता सातै प्रदेशमा बन्द कार्यशाला आयोजना र केन्द्रीय बन्द कार्यशालामा सहभागी भएका नेताहरू सहजीकरणका लागि सहभागी हुने रास्वपाले जनाएको छ ।      पार्टीको अर्थ व्यवस्थापन समितिको विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’को अवधारणा लागू गर्ने, विधेयक मन्थन विभागलाई संसद्मा दर्ता भएका विधेयकबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव सङ्कलन गर्नेलगायत विषय कार्यशालाले केन्द्रीय समितिलाई सुझावका रुपमा प्राप्त भएको सो पार्टीले जनाएको छ । 

मनाङ:     जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ । विश्वकै १०औँ स्थानको जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा पर्यटकले ज्यान गुमाउने गर्दछन् ।            आर्थिक वर्ष २०८०÷८१ मा पाँच पर्यटकले ज्यान गुमाएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश पर्यटकले लेक लागेर (हाइअल्टिट्युट) का कारण ज्यान गुमाउने गर्दछन् ।       विसं २०८० असोज १७ मा डुम्रे–बेसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसले ज्यान गुमाएका छन् । विसं २०८० असोज २४ मा मनाङ–खाङ्सार–तिलिचो पैदल मार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर ३५ वर्षीय चेत्तीय क्यान्डी भन्ने मोहमद रिजीम भारतीय नागरिकले ज्यान गुमाएका छन् ।            त्यस्तै नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृत भेटिएको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।  मनाङ ङिस्याङ–६ चुलुबेस क्याम्प नजिकै बाटोमा लेक लागेर पोर्टर धादिङ गङ्गा जमुना गाउँपालिका–५ फूलखर्कका ३५ वर्षीय हरि अधिकारी र मनाङ ङिस्याङ–९ टोगुफा स्थित पहिरो जोखिम क्षेत्र तिलिचो बेसक्याम्प जाने क्रममा दाङ घोराही उपमहानगरपालिका–९ स्थायी घर भई काठमाडौँ काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ४९ वर्षीय दधिराम डाँगीले ज्यान गुमाएका छन् ।            भारतीय नागरिक र नेपाली पर्यटक डाँगीको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो । मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका उहाँले बताउनुभयो ।  प्रमुख भुजेलले भन्नुभयो, “एउटा पथप्रदर्शकबिना नै जोखिमयुक्त यस पदमार्गको यात्रामा पर्यटक आउँछन्, मौसमको अनुकूलताको ध्यान नदिएकाले पर्यटकले ज्यान गुमाउने गर्दछन्, लेक लाग्ने क्षेत्र भएकाले एकैचोटी हाइअल्टिट्युटका कारण ज्यान गुमाउने गरेका छन् ।”       मनाङअन्तर्गतका पर्यटकीय क्षेत्र तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्न आउने पर्यटकले यहाँको मौसमको अनभिज्ञताले ज्यान गुमाउनु परेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “आन्ततरिक पर्यटकले अझ बढी मौसमको अनुकूलतालाई ध्यान नदिँदा यस्ता समस्या आउने गरेका छन्, न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने समस्यालाई ध्यान दिएमा स्वदेशी पर्यटकले ज्यान गुमाउने अवस्था होइन ।”           मनाङको मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा भने यस्ता समस्याबाट बच्न सकिन्छ । थोरै समय लिएर यहाँ घुम्न आउने स्वदेशी पर्यटक उच्च जोखिममा पर्ने गरेका स्थानीयको भनाइ छ । 

चितवन:    मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो ।        जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ । उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट (बेहोस) गर्ने योजना छ ।        नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ ।       चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले कसराबाट ड्रोन र तीन वटा हात्ती आउँदै गरेको बताउनुभयो । उहाँका अनुसार सुरुमा ड्रोनबाट पहिचान गरेर बाघ देखिएमा डार्ट गर्ने तयारी गरिएको छ ।    सो क्षेत्रमा मानव आवतजावत गर्न रोकिएको छ । पाइलालाई हेर्दा माउबाट भर्खरै छुटेर सिकार गर्न सुरु गरेको बाघ हुनसक्ने चिकित्सक श्रेष्ठले जानकारी दिनुभयो । “बाघ कहाँबाट आयो यकीन हुन सकेको छैन । यद्यपि नगर वन क्षेत्रबाट आएको हुनसक्ने आशङ्का गरिएको छ”, उहाँले भन्नुभयो ।      आज बिहान हिँड्ने क्रममा भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ५ः२० बजे बिहान भरतपुर–१ नारायणी किनारमा बाघले श्रेष्ठलाई आक्रमण गरेको हो ।        बाघको आक्रमणबाट घाइते हुनुभएका श्रेष्ठको तीन ठाउँमा हड्डी भाँचिएको छ भने पाँच वटा दाँत फुत्केर घाँटीमा पुगेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।      उहाँका अनुसार श्रेष्ठको पाँच वटा कृत्रिम दाँत फुत्केर घाँटीमा गएर अड्किएको थियो । बाघको आक्रमणबाट दाहिने हातको हत्केला र नाडीको हड्डी भाँचिएका छन् । यस्तै दाहिने कुहिनाको नजिकको (केल्भिकल) हड्डीसमेत भाँचिएको छ ।        श्रेष्ठको स्वास्थ्यावस्था खतरामुक्त रहेको डा लम्सालले जानकारी दिनुभयो । श्रेष्ठको अहिले शल्यक्रिया गर्ने तयारी गरिएको बताउँदै घाँटीमा पुगेका दाँत खोक्दा बाहिर निस्किएका उहाँले जानकारी दिनुभयो ।