जाजरकोट: जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो । दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षे सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते हुनुभएको छ । त्यस्तै २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते हुनुभएको प्रहरीको भनाइ छ । चार महिना बालक प्रज्ज्वल घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हीरा सार्कीलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।
काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो । त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलङ्कामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलङ्को प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलङ्काले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलङ्काले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अङ्क बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा भइरहेको छ । उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो । विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ । विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ । प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ । प्राधिकरणले उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउनसक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाहरुका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने, भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ ।
बागलुङ: बागलुङको बडिगाड गाउँपालिका पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बडिगाड गाउँपालिका १० र ९ मा गरेको छुट्टछुट्टै पहिरोमा पुरिएर ८ जनाको मृत्यु सहकाय प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बरालका अनुसार बडिगाड १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा परी चार जना गम्भिर घाइते भएको उनको भनाई छ । मृत्यु हुनेमा बडिगाड १० निवासी सात वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु बिकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवि बिकको मृत्यु भएको छ । पहिरोमा परी वर्ष ४६ का संगिता बुढा, वर्ष ५९ का सुमित्रा बिक, वर्ष ३२ का सिता थापा र वर्ष ४२ का मंगलसिंह बुढा गम्भिर घाइते भएका छन् । पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले उद्दार चलिरेको छ । यस्तै बडिगाड–९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेत रहेका छन् । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटेमा हिड्दै गर्दा पहिरोले पुरेको थियो । गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिए ।
बागलुङ: बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । पहिरोमा पुरिएका ४ जनाको जीवितै उद्धार गरिएको छ । आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । यो पनि पढ्नुहोस पहिरोले घर पुरिँदा चारजनाको मृत्यु, दुई घाइते पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
लमजुङ: लमजुङस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् । यहाँ आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरुबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको मिलेमतोमा बजारमूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने, तरकारीजन्य सामान खरिद, औषधि उपचारमा अनियमितता र मनोमानी हुने गुनासो बढेको हो । कारागारमा तरकारी पकाउँदा रु ८० देखि एक सय तिर्नुपर्ने, मासु पकाउँदा रु एक सय दिनुपर्ने र पैसाबाहेक प्याज, टमाटर छुट्टै किन्नुपर्ने, कैदीबन्दीले पाउने सिदा रकम दैनिक रु ८० र सात सय ग्राम चामलमा समेत अनियमिता हुने गरेको गुनासो कैदीबन्दीको छ । हाल कारागारमा एक सय १३ कैदीबन्दी छन् । उक्त सङ्ख्या अनुसार दैनिक रु नौ हजार ४० सिदा रकम र करिब ८० केजी चामल उपलव्ध हुने गरेको छ । मासिक रु दुईलाख ७१ हजार दुईसय सिदा रकम र २४ क्विन्टल चामल उपलब्ध हुने गरेको छ । सो कारोबारबाट दैनिक रु चार हजार र २० केजी चामल बचत हुने भए पनि त्यसको पारदर्शिता नदेखिएको कैदीबन्दी बताउँछन् । प्यारोल र लगत पठाउँदा चौकीदारले रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म माग्ने गरेको उनीहरु बताउँछन् । अस्पतालमा उपचार गर्दा ५० प्रतिशत खर्च आफैँले तिनुपर्ने र नाइके तथा चौकीदारबाट हातपात हुने गरेको उनीहरुको भनाइ छ । पहिलो पटक आउने कैदीबन्दीबाट रु पाँच सय आन्तरिक कोषका लागि भन्दै असुल्ने गरेको र सो रकम दिन नसके वा नदिएमा दुई हप्तासम्म भाँडा माझ्न, शौचालय सरसफाइ गर्न लगाउने गरेको कैदीबन्दीले बताए । सो विषयमा कैदी विष्णु गिरी थापा र अशोक दवाडीलगायत सँग बुझ्न खोज्दा भन्न चाहेनन् तर केही सयमअघि कारागारबाट कैद भुक्तान गरेर निस्किएका कैदीबन्दीले उक्त गुनासो सत्य भएको बताएका छन् । कारागारमा केही वर्षअघि चौकीदार र हाल नाइके रहनुभएका शम्भुलाल श्रेष्ठले तरकारी र खानाको जिम्मा लिँदै आउनुभएको छ । उहाँले अनियमितता नगरेको बताउनुभयो । तरकारी किलोकै रु दुई सयसम्म पर्ने र कहिले अण्डा, कहिले मासु खुवाउने गरेको श्रेष्ठले बताउनुभयो । दैनिक १५–१६ किलो तरकारी चितवन र विभिन्न स्थानबाट ल्याएर गुणस्तरीय खाना खुवाएको उहाँको भनाइ छ । उहाँले केही रकम बच्ने गरेको स्वीकार गर्दै सो रकम आन्तरिक कोषमा जम्मा गर्ने गरेको बताउनुभयो । उहाँले पहिलो चोटि आएका कैदीबन्दीबाट आन्तरिक कोषका लागि रु पाँच सय रकम उठाउने गरेको र सो रकम दिन नसक्ने वा नदिनेलाई दुई हप्तासम्म जुठो भाँडा माझ्न, शौचालय सफा गर्न लगाएको स्वीकार्नुभयो । “भनेर नमान्ने कैदीबन्दीलाई तर्साउन हातपात गर्छौं, के गर्नु भनेर नमान्नेलाई यसरी गर्नुपर्छ”, उहाँले भन्नुभयो । केही वर्षपहिले त लात्तीले मुर्छा पर्ने गरेर हिर्काउने गरिएकामा अहिले त्यसो नगरिने उहाँले सुनाउनुभयो । उहाँले आफैँ कारागार आउँदा आन्तरिक कोषका लागि भनी रु १० हजार मागेको र पछि रु पाँच हजार फिर्ता पाए पनि पाँच हजार बुझाउनु परेको बताउनुभयो । नाइके श्रेष्ठले भन्नुभयो, “यहाँ यसरी रकम माग्ने र सजाय दिने तथा हातपात गर्ने चलन पहिलाबाटै हो ।” आन्तरिक कोषमा जम्मा गरिएको रकमबाट बिरामी कैदीबन्दीका लागि आकस्मिक काममा खर्च गर्ने गरिएको उहाँको भनाइ छ । चौकीदार खुसीराम मगरातीले आफू साउनबाट मात्र चौकीदार रहेकाले केही अनियमितता नगरेको बताउनुभयो । आफू चौकीदार भएपछि मूल्यवृद्धि नगरी सरकारले तोकेको मूल्यमा सामान उपलब्ध गराउन, कुनै कैदीबन्दीलाई हातपात नगर्न नाइके लगायतलाई भन्ने गरेको बताउनुभयो । अस्पतालमा कैदीबन्दी बिरामी भएर उपचार गर्दा ५० प्रतिशत रकम आफैँले तिर्नुपरेको गुनासो उहाँको छ । “म चौकीदार हुनुअघि चैतमा ज्वरो आएर लमजुङ अस्पताल उपचार गर्न पुगेको थिएँ । त्यहाँ उपचार गर्दा रु दुई हजार छ सय खर्च भयो, मैले सबै बिल बराबरकै रकम बुझाएँ तर एक हजार आठ सय मात्र पाएँ”, चौकीदार मगरातीले भन्नुभयो । कारागार प्रशासनले यस विषयमा गम्भीर अनुसन्धान गरी कैदीबन्दीहरु माथि हुने शोषण, दमन नियन्त्रण गर्नुपर्ने कारागारबाट कैद भुक्तान गरी निस्किएका कैदीबन्दीहरुको भनाइ छ । कारागारभित्र कैदीबन्दीले खुलेर समस्या राख्न नसक्ने भएकाले सो समस्याबारे कसैलाई भन्न नसक्दा सो कारागारमा अनियमितता हुँदै आएको केही महिनाअघि कारागारबाट छुट्नुभएका रोशन तामाङले जानकारी दिनुभयो । कारागारका निमित्त जेलर सुमिता मरासिनीले भन्नुभयो, “कारागारका यो विषयमा बल्ल जानकारी पायौँ, हामीलाई थाहा थिएन, हामी यस विषयमा छानबिन गर्छौं ।” हातपात हुने गरेको, आन्तरिक कोषका लागि रकम उठाउने र नदिनेलाई सजाय दिने गरेको समेत भर्खरै थाहा पाएको उहाँले बताउनुभयो । “हामीले कैदीबन्दीको खर्च सबै मेडिकल नाइकेलाई नियमअनुसार पठाएका छौँ तर सबै रकम कैदीबन्दीले नपाएको बल्ल थाहा भयो । यी विषयमा हामी कदम उठाउँछौँ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यस विषयमा हालसम्म केही जानकारी नभएको बताउनुभयो । “त्यहाँ शङ्का गर्न सकिन्छ, प्रमाण त छैन । साँच्चिकै नियम हुनुपर्छ, सिस्टमभन्दा बाहिर जान मिल्दैन तर जेलभित्र उनीहरुको पनि छुट्टै शासन हुन्छ”, प्रजिअ गुरुङ्ले भन्नुभयो, “ठूला कारागारमा पनि यस्तो शासन हुन्छ तर त्यहाँ केही अनियमिततालगायत समस्या भएको छभने हेर्छु, यसमा मेरो ध्यान गएको छ ।”
म्याग्दी: गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन् । अनुकूल मौसम, व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताउनुभयो । “क्षेत्रफल विस्तारका साथै अघिल्लो वर्षका तुलनामा यो वर्ष धेरै दाना लागेकाले उत्पादन बढ्ने अनुमान गरेका हौँ,” उहाँले भन्नुभयो “क्रप कटिङको प्रतिवेदन तयार भएपछि उत्पादनको यकिन विवरण आउँछ ।” जेठमा दानामा दाग लाग्ने रोगलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका कृषि शाखाका प्राविधिक टोलीले उपचार गरेपछि उत्पादनमा असर नभएको कृषि प्रसार अधिकृत मगरले बताउनुभयो । फलेका स्याउका दानाले बगैँचा आकर्षक देखिन्छन् । घरपझोङ गाउँपालिका–३ स्याङका कृषक कर्म गुरुङले गत वर्षको तुलनामा यसपटक स्याउका बोटमा २० देखि २५ प्रतिशत बढी फल लागेको बताउनुभयो । “मौसमले पनि साथ दियो, रोग पनि लागेन,” उहाँले भन्नुभयो “गत वर्ष रु। चार करोडको स्याउ बेचेको हुँ, यो वर्ष रु। छ करोड आम्दानी हुने अनुमान छ ।” स्याउ खरिद गर्न देशका विभिन्न स्थानबाट व्यापारी मुस्ताङ पुगेर बगैँचा अवलोकन र किसानसँग भाउ मिलाउन थालेका छन् । मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती हुने गरेको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र रु। ४९ करोड २५ लाख बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, स्याउ राख्ने प्याक सहयोग, सिचाई, चिस्यानगृह निर्माण लगायतका काममा कृषकलाई सहयोग गरेका छन् । म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौं लगायत सहरका व्यापारी बगैचामा नपाग्दै अग्रिम रकम दिएर ठेक्कामा स्याउ खरिद गर्दै आएका छन् । मुस्ताङ आउने पर्यटकले पनि कोशेलीको रुपमा स्याउ किन्ने गरेका छन् । किसानले बिक्री नभएका स्याउ मदिरा र सुुकुटीमा उपयोग गर्दै आएका छन् ।
पोखरा: लायन्स क्लब अफ पोखरा मर्दीले पोखरा ६ केदारेश्वर मन्दिर वरपर सरसफाइ बोट विरुवा गोडमेल गरेको छ । केदारेश्वर मन्दिरको गेट देखी मन्दिर सम्म पाँच बोरा फोहोर संकलन गरेको छ । क्लबको बार्षिक योजना अनुसार सरसफाइ र विरुवाको संरक्षण गरेको लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष श्याम भुषालले जानकारी दिए । उनले सोमबार धेरै भक्तजनहरु केदारेश्वर मन्दिर आएको फोहोर भएका कारण मंगलबार बिहान सरसफाइ गरेको बताए । मुख्य गरी प्लास्टिक, फुटि लगाएतका फोहोर संकलन गरको उनले बताए । उनले मन्दिर, पानीका मुलहरु, घर वरपर सरसफाइ गर्नु पर्ने सिजन अहिले भएको बताए । सोही अवसरमा अघिल्लो वर्ष लगाएका विरुवाहरुलाई गोडमेल गरेको र १२ वटा विरुवालाई टिगार्ड लगाएको लायन्स क्लब अफ पोखरा मर्दीका सचिब उमाकान्त रिजालले जानकारी दिए । कार्यक्रममा डिष्टिक जोन चियरपर्सन मनोज कुमार अधिकारीले विरुवाको गोडमेल गर्दै विरुवा लगाएर मात्रै नहुने भन्दै त्यसलाई हुकाउनु ठुलो कुरा हुने बताए ।

