धादिङ: भारतको दार्जलिङ घर भई हाल धादिङको गल्छी गाउँपालिका–६ मा बस्दै आएका ४९ वर्षीय प्रकाश मगरले गर्भवती श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गल्छी गाउँपालिका–६ महेशदोभानमा बस्दै आएकी निशालाई उहाँकै श्रीमान्ले पेटमा निर्घात कुटपिट गर्दा बच्चा नै बाहिर निस्केको र उहाँको मृत्यु भएको हो । निशा र प्रकाश गल्छी गाउँपालिका–६ खैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्दै आएका थिए । साउन १८ गते राति हत्या गरिएको अवस्थामा निशाको शव फेला परेपछि अनुसन्धानको क्रममा उहाँकै श्रीमान् प्रकाश मगरलाई प्रहरीले साउन २० गते पक्राउ गरी अनुसन्धान गरेको थियो । निशाको हत्या प्रकाशले नै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साउन २२ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मिश्रले जानकारी दिनुभयो । पटकपटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेको आरोपितले केही समय ढुङ्गानाटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राति महेश दोभानमा आएर श्रीमतीको हत्या गरेको छिमेकीहरूले आशङ्का गरेका छन् । निशाको शव परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाएको छ ।
काठमाडौं: भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेको उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो । खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्यो । नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो । फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।
काठमाडौं: एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार सुरु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोली घटनास्थलतर्फ पठाइएको छ । साथै ककनीस्थित यूएन तालिम केन्द्रबाट समेत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ११ जनाको टोली पनि खटाइएको उहाँले जानकारी दिनुभयो । खोज तथा उद्धारका लागि काठमाडौँबाट प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको क्यानले जनाएको छ ।
गुल्मी: गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका‐१ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परि मृत्यु भएका दुई घरपरिवारका चार जनाको आज स्थानीय बढीगाढ खोलामा सामूहिक दाहसंस्कर गरिएको हो । मङ्गलबार बिहान ९ बजे बिसौनाका विष्णु विकको घर पहिरोले पुरिँदा उनकी ६६ वर्षीया आमा मसुरी विक, दुई वर्षीया छोरी रियन्सी विक, ६७ वर्षीय हुकुम विक र ४६ वर्षीय गोरे विकको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट चिकित्सक पठाएर घटनास्लथलमै शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको थियो । उक्त शवलाई आज बिहान हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको हो । उक्त घटनामा परि विष्णु विक र उहाँकी श्रीमती मुना विक गम्भीर घाइते हुनुभएको थियो । उहाँहरुको अहिले मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि गत आसार १४ गते गुल्मीको मालिका गाउँपालिका‐६ अर्जेमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको थियो ।
काठमाडौं: नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । यो पनि पढ्नुहोस नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना “घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन््”, उहाँले भन्नुभयो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।
काठमाडौं: नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी गाँउपालिका–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन् । घटनास्थलमा प्रहरीहरु पुगि सकेकाले अहिले आगो निभाउने र उद्धार कार्य जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनु भयो । उक्त हेलिकप्टरमा चार जना यात्रु र चालक दलका सदस्य सवार रहेको प्रारम्भिक विवरण आफुहरुलाई प्राप्त भएको प्रजिअ अधिकारीले बताउनु भयो । घटनाको थप विवरण आउन बाँकी छ ।
म्याग्दी: म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/०८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत ६ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएका जनाएको छ । उक्त कार्यालयका प्रमुख झलकमोहन ओझाका अनुसार २८ हजार आठ सय ३० परिवार रहेको म्याग्दीका २७ हजार तीन सय ८८ घरमा निजी धारामार्फत खानेपानी वितरण भएको छभने १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार पाँच सय ९५ मा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । कार्यालयमार्फत आव २०८०÷८१ मा निर्माण सम्पन्न भएका १७ वटा खानेपानी आयोजनामार्फत सात सय २७ घरमा मिटरसहित जडान गरेर खानेपानी वितरण भएको उहाँले बताउनुभयो । यसैगरी गत आवमा निर्माण सम्पन्न भएका २१ वटा सिँचाइ आयोजनामार्फत ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त कार्यालयले गत आवमा रु १७ करोड ६५ लाख १० हजार पँुजीगत खर्च गरेकोे जनाएको छ । गत आवमा म्याग्दी, रघुगङ्गा र कालीगण्डकी नदीको कटान तथा बाढी नियन्त्रण गर्न १० स्थानमा पक्की पर्खाल निर्माण गरिएको थियो । नदी नियन्त्रण आयोजनाबाट निर्माण भएका ३८ मिटर पक्की तटबन्ध र आठ सय ७० मिटर लामो पर्खालबाट एक हजार तीन सय ९५ परिवार लाभान्वित भएका छन् । सात हेक्टर जग्गा पनि संरक्षण भएको छ । दरबाङ, सुर्केमेला, उपल्लो तातोपानी बजार, राक्से, सिमलचौर, ताराखेत, बावियाचौर, पिपलबोट, सिमबगर, कालीपुलमा उपभोक्ता समितिमार्फत नदी नियन्त्रण योजना सञ्चालन भएको थियो ।
गलकोट: बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा छजनाको मृत्यु भएको थियोभने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु¥याउन सकिएको थिएन । नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए । तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले राससलाई जानकारी दिनुभयो । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको छ ।
पोखरा: पाँच वर्षको उमेरदेखि बुुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन् । पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुग्नुभयो । उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहनुभएको छ । गन्दर्भ समुदायमा सारङ्गी बजाउने पेसा विस्तारै लोप हुन थालेको बेला उहाँले निरन्तरता दिइरहनुभएको हो । पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । “गन्दर्भ जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराईसकेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो पुस्तामा यस पेसाप्रतिको आकर्षण छैन ।” परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यबाट मानिसको मन छुनेगरी -याइँ-याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्दर्भ जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो । पूख्र्यौली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो । पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन । गन्दर्भहरु सारङ्गी रेट्दै गीत गाएर गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे । यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रुपमा थियो । बाउबाजे कास्कीकै बडहरेबाट छुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुबाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गर्नुभयो । गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादिक्षा दिने काम गर्नुभयो । आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने उहाँ बताउनुहुन्छ । सारङ्गीलाई गन्दर्भ समुदायको सौभाग्यका रुपमा लिने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गन्दर्भ समूदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्दर्भ पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारङ्गी राख्न भने नछोड्नु है भन्दै आएका छन् ।” जीवनको सर्वस्व नै सारङ्गी भएको बताउँदै उहाँले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रुपमा लिने गरेको बताउनुभयो । “यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो”, उहाँले भन्नुभयो, “त्यस समयमा गन्दर्भहरूले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ ।” बाँकी जीवन यही पेसामा समर्पित गर्ने उहाँको रहर छ । नयाँ पुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुने हो कि भन्ने चिन्ताले उहाँलाई पिरोलिरहन्छ ।

